लगालग छलफल गर्छ माओवादी, तर अहिलेसम्म छान्न सकेन पार्टी पदाधिकारी, ७ महिनादेखि खाली



२०७९ भदौ ३ गते ११:५५
लगालग छलफल गर्छ माओवादी, तर अहिलेसम्म छान्न सकेन पार्टी पदाधिकारी, ७ महिनादेखि खाली


काठमाडौं। नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको शुक्रबारको बैठक पदाधिकारी चयन नगरी सकिएको छ। छलफल सकारात्मक भए पनि पदाधिकारीबारे निर्णय नभएको प्रवक्ता कृष्णबहादुर महराले बताएका छन्।

Tata
GBIME

पार्टीका पदाधिकारी चयनका लागि माओवादी केन्द्रको स्थायी कमिटीमा केही दिनयता लगातार छलफल भइरहेको छ। बुधबार बसेको स्थायी कमिटीको बैठकपछि प्रवक्ता महराले बिहीबार पदाधिकारी टुंगो लाग्ने दाबी गरेका थिए। तर, बिहीबार बैठक नै बस्न सकेन।

माओवादी केन्द्रको महाधिवेशन ७ महिनाअघि सम्पन्न भएको थियो। अपूर्ण केन्द्रीय कमिटी बनाएर सकिएको महाधिवेशनपछि पहिलो केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको थियो।

असार २३ गते बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिनुका साथै पोलिटब्युरो गठन गरेको थियो। तर, पदाधिकारीबारे भने त्यतिबेला प्रचण्डले केही समय मागेका थिए। पोलिटब्युरोमा पनि केन्द्रीय कमिटीको बैठकमा विवाद भएको थियो।

माओवादी केन्द्रमा हाल अध्यक्ष प्रचण्ड बाहेकका पदाधिकारी छैनन्। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ रहने प्रचण्डले असारमा सम्पन्न केन्द्रीय कमिटीको बैठकमा बताएका थिए।

महासचिवका बारेमा माओवादी केन्द्रमा विवाद रहदै आएको छ। पार्टीका नेता वर्षमान पुन र अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा महासचिवको दौडमा रहेका भए पनि पछिल्लो समय देव गुरुङ र हरिबोल गजुरेललाई प्रचण्डले महासचिवमा अघि बढाउन खोजेको माओवादी केन्द्रका नेताहरु बताउँछन्।

माओवादी केन्द्रको विधानमा पनि कति जना पदाधिकारी हुने भन्नेबारेमा प्रष्ट छैन। शुक्रवारको बैठक चुनाव केन्द्रित भएको महराले बताएका छन्।

बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले माओवादी अहिले क्रान्तिकारी हुन नसकेको टिप्पणी गरेका थिए। प्रचण्डले पार्टीभित्र आकांक्षी धेरै हुन थालेपछि पार्टीबारे तिखो टिप्पणी गर्ने गरेका छन्।