
काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकले नागरिकता विधेयक बहुमतले पारित गरेको छ।
यसअघि संघीय संसद्का दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष विधेयक पेस भएको थियो। पुनर्विचारका लागि भन्दै राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा बिहीबार छलफल भएको थियो।
छलफलपछि विधेयक मत विभाजनका आधारमा बहुमतले पारित भएको हो। प्रमुख प्रतिपक्षी दल एमालेले विधेयक पारित गर्न मत विभाजनको माग गरेको थियो। यसअघि यो विधेयक संसद्का दुवै सदनमा ध्वनि मतका आधारमा पारित भएको थियो।
सदनमा उपस्थित १९५ सांसदमध्ये विधेयकको पक्षमा १३५ मत परेको छ भने विपक्षमा ६० मत परेको छ। विधेयक संशोधनबिना नै पारित भएको हो।
सत्ता गठबन्धनको निर्णय अनुसार विधेयक समितिमा छलफलका लागि नपठाइ सदनबाटै पारितको प्रक्रिया अघि बढाइएको थियो।