काठमाडौं। हकप्रदको सूचना सार्वजनिक भए लगत्तै जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयर मूल्यले प्रतिक्रिया दिन थालेको छ। सूचना सार्वजनिक भएकै दिन जनरलको सेयर मूल्य १७ रुपैयाँ घटेको हो।
त्यसो त निरन्तर घट्दो क्रममा रहेको मूल्यले सूचना अघिका दुई कारोबारमा ४४ रुपैयाँको वृद्धि लिएको थियो। तर वृद्धिको फराकिलो आकारलाई मूल्यले सूचना सार्वजनिक भएपछि निरन्तरता दिन सकेन।
इन्स्योरेन्स तत्काल पुँजी वृद्धिको दबाबमा छ। एकातर्फ कम्पनीको चुक्ता पुँजी निकै न्यून हो, अर्कोतर्फ कायम गर्नुपर्ने चुक्ता पुँजीको आकार नियामकले अढाइ गुणा बढाएको छ। एक अर्बको जनरल इन्स्योरेन्सलाई अढाइ अर्ब चुक्ता पुँजी पुर्याउनै ठूलो चुनौती देखिन्छ। कम्पनीको जगेडा तथा कोष आफैंमा त्यति रकमको जोहो भएको छैन।
विकल्पमा कम्पनीले कायम चुक्ता पुँजीको हकप्रद निष्कासन गर्ने हल निकालेको हो। कायम चुक्ता पुँजीमै इन्स्योरेन्सले हकप्रद बिक्री गर्दा समेत कम्पनीलाई आवश्यक पुँजीको जोहो भने हुँदैन। जसको अन्तिम समाधन नै मर्जरमा जानु हो। त्यसैले कम्पनी बार्गेनिङ पावर बढाउन आफैंमा बलियो बन्ने प्रयत्न गर्दैछ।
हकप्रदमार्फत चुक्ता पुँजी वृद्धिमा नियामक बीमा समितिले इन्स्योरेन्सहरुलाई रोक लगाएको छ। तर जनरलले प्रस्ताव गरेको हकप्रद निष्कासनलाई भने जवाफ दिइसकेको छैन। नियामकले कस्तो प्रतिक्रिया दिनेछ त्यो भने हेर्न बाँकी नै छ। आफ्नो निर्देशनमा लचिलो नहुने देखिएको बीमा समितिले पुँजी पुर्याउन नसक्ने कम्पनीलाई मर्जरको समाधान रोज्न समेत सुझाएको छ। २०७९ चैत मसान्तसम्म चुक्ता पुँजी पुर्याउन नसक्ने संस्थाले मर्जर तथा एक्विजिसनमा पुँजी बढाउनुपर्ने नीति छ।
जसको परिणाम पछिल्लो केही समयमै पाँच बीमा कम्पनीबीच मर्जरको प्रस्तावलाई समितिले सैद्धान्तिक सहमति समेत प्रदान गरिसकेको छ। जसमध्ये हिमालयन जनरल र एभरेष्ट निर्जीवन वर्गका कम्पनी एकआपसमा गाभिने भएका छन्। त्यस्तै, जीवनबीमातर्फ प्राइम, युनियन र गुराँस लाइफ पनि एक अर्कासँग मर्ज हुने भएका छन्।
बजारको चर्चालाई पनि विश्लेषण गर्ने हो भने जनरल इन्स्योरेन्सलाई मर्ज गर्ने प्रारम्भिक चरणको छलफल अधिकांश निर्जीवन बीमा समुदायमा चल्दै छ। जसको तयारीमा जनरल आफैंले पुँजी वृद्धि गर्ने योजना अघि बढाएको हो। कम चुक्ता पुँजी भएकालाई बजारका लिडर न्यून मूल्यमा आफूमा समावेश गर्न प्रयासरत छन्।
एकातिर नाफा बढ्ने अर्कोतिर सेयरले मूल्य गुमाउने
खरिदकर्ताको बढ्दो मागले गर्दा सूचीकृत भएको केही समयमै जनरल इन्स्योरेन्सको सेयर मूल्यले ८६० रुपैयाँसम्मको यात्रा तय गरेको थियो। प्रमुख सूचकको निरन्तर वृद्धिले पनि सो समय मूल्यलाई बढाउन टेवा पुर्याएको हो। उक्त उच्चतम मूल्यमा पुगे लगतै जनरल इन्स्योरेन्सको सेयर बिक्री गर्नेको सक्रियता बढेको पाइन्छ।
उच्चतम मूल्यबाट मूल्य घटेको अर्को दिन कम्पनीले तेस्रो वार्षिक साधारणसभा टुंगो गर्यो। साधारणसभामा थुप्रै प्रकारका प्रस्तावहरु थिए तर लगानीकर्ता आशावादी रहेको लाभांशको प्रस्ताव भने थिएन। निरुत्साहित लगानीकर्ताको वर्गले समय खर्च नगरी जनरलको सेयर बेच्न थाले।
जसको परिणाम मूल्य ६५० रुपैयाँसम्म ओर्लिएको पनि हो। केही दिनको कारोबारपछि जनरलले गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण पनि सार्वजनिक गरेको थियो। सो समय इन्स्योरेन्सको नाफामा शतप्रतिशत वृद्धि पनि देखियो। जसका कारण घटेको मूल्य देख्दा समेत लगानीकर्ता आत्तिएनन्। बरु खरिदको अवसरस्वरूप सो गिरावटलाई लिन थाले। क्रेताको आकर्षण फेरि बटुल्न सफल हुँदा मूल्यले ८२० सम्मको यात्रा तय त गर्यो तर उच्चतम मूल्य नजिक पुग्न सकेन।
उच्चतम मूल्य विन्दुको अवरोध नजिकिए लगतै ६५० रुपैयाँ आसपास खरिद गर्नेहरु नाफा बुकिङमा सक्रिय भएको देखिन्छ। प्रतिकित्ता १७० रुपैयाँको नाफा वास्तवमै लोभ्याउने अफर समेत हो। नाफा बुक गर्न लालायित लगानीकर्ताले पुनः बढ्दो मूल्यको ट्रेन्डमा अवरोध पुर्याए। ८२० रुपैयाँलाई छुनेबित्तिकै सेयर मूल्यले आफ्नो दिशा बदल्यो र घट्न सुरु गर्यो। सो समय मूल्यले ६७० रुपैयाँ नजिक टेवा लिन पुगेको थियो।
त्यसलगतै गत आर्थिक वर्षको चौथो र सफल वित्तीय प्रतिवेदनको अपेक्षामा जनरलले पुनः लगानीकर्ताको आकर्षण पायो। प्रतिवेदन सार्वजनिक भएको दिन इन्स्योरेन्सको मूल्य ७१४ रुपैयाँसम्म पुगिसकेको थियो। नाफामा ७८ प्रतिशतको वृद्धिले खरिदको दरलाई तीव्रता पनि प्रदान गर्यो। जसको परिणाम वित्तीय प्रतिवेदन सार्वजनिक भएको दुई दिनमै मूल्यले ९५ रुपैयाँको वृद्धि लिन सफल भयो।
छोटो समयमा आर्जन गरेको मनग्य नाफालाई अवसरवादीले आफू खुसी सुरक्षित गरे पनि। प्रतिवेदन भएको तेस्रो दिन मूल्यमा निकै ठूलो गिरावट लगानीकर्ताले बेहोरे। मूल्य एकैदिन ५० रुपैयाँ घट्यो। अत्यधिक सेलिङ प्रेसरले सो परिदृश्य निर्माण गरेको थियो। उक्त गिरावटले आगामी दुई महिनासम्म निरन्तरता पनि पायो। एक पछि अर्को टेवा तोड्दै ओर्लिएको मूल्यले अन्तिममा ५०० रुपैयाँ नजिक टेवा लिन पुग्यो।
७१४ रुपैयाँ पुगेको सेयर मूल्य ४९९ रुपैयाँमा आएर अडियो। चालु आर्थिक वर्षका लागि प्रथम त्रैमासको सिजन सोही समय सुरु पनि भयो। सो समय जनरलको सेयरमा पुनः खरिदकर्ता फर्किए। मूल्यले आगामी एघारौं कारोबारमै ६७८ रुपैयाँसम्मको यात्रा तय गर्न पुग्यो। पहिलो त्रैमासको सन्तोषजनक प्रतिवेदन सार्वजनिक हुनेमा लगानीकर्ता निश्चित भएर सेयर खरिद गरेको देखिन्छ। हुन पनि इन्स्योरेन्सले नाफामा ६० प्रतिशत अधिकको वृद्धि लिएको थियो।
तर प्रतिवेदन सार्वजनिक हुनुभन्दा अघि नै मूल्यमा नकारात्मक प्रभाव पर्न गयो। ५०० रुपैयाँ आसपास खरिद गर्नेहरुको जमात १७५ रुपैयाँको नाफा सुरक्षित गर्न अतालिए। चालु आर्थिक वर्षको पहिलो प्रतिवेदन सार्वजनिक हुँदासम्म मूल्यले ५८५ सम्म ओर्लिइसकेको थियो।
बिक्रेताको सक्रियताले मूल्यलाई पुनः ५०० आसपास झर्यो। सो समय ४८५ रुपैयाँसम्म मूल्य ओर्लिएको थियो। तर त्रैमासिक विवरण सार्वजनिक भन्दा अघि मूल्य बढ्ने प्रवृत्ति यतिबेला बजारमा दोहोरियो। केही दिन ५०० को टेवा विन्दुलाई परीक्षण गरे लगत्तै खरिदकर्ता जनरलको सेयरमा फेरि आकर्षित भएको देखिन्छ।
सो समय प्रमुख परिसूचक नेप्सेले पनि आफ्नो ट्रेन्ड परिवर्तन गर्दै २९८० सम्मको यात्रा तय गरेको थियो। उक्त आकर्षण समग्र कम्पनीहरुले पनि पाउन सफल भए। जनरलको सेयर मूल्य पनि बढेर ७१० रुपैयाँसम्म पुग्न सफल भयो।
तर, बजार २९८० भन्दा बढ्न सकेन। दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन पनि सार्वजनिक भयो। एकातिर जनरल इन्स्योरेन्सको नाफा ५६ प्रतिशत बढ्यो भने अर्कोतिर सेयरले मूल्य गुमाउदै गयो। यतिबेला ५३० रुपैयाँमा आएर मूल्य अडियो।
बजारको उतारचढावमा मूल्य घट्ने र बढ्ने जनरलको सेयरमा पनि देखियो। प्रमुख परिसूचक र बजारको उत्तेजनालाई इन्स्योरेन्सको सेयरले पनि पछ्याएको देखिन्छ। यद्यपि तेस्रो त्रैमासअघि भने मूल्यमा त्यति उत्साह देखिएन। जबकि इन्स्योरेन्सको नाफा गत आर्थिक वर्षको सोही अवधिमा ३० प्रतिशत अधिक छ। उल्टो मूल्यमा तीव्र गिरावट देखियो। तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको दिन मूल्य ५१५ रुपैयाँमा पुग्यो। पछिल्ला केही दिनको बढोत्तरीले मूल्य ५१५ सम्म पुगेको थियो।
विवरण सार्वजनिक भएको अर्को दिनको कारोबार देखि नै मूल्यमा ह्रास आएको छ। पछिल्लो तथ्यांक अनुसार ४६० रुपैयाँसम्म जनरलको सेयर मूल्य ओर्लिसकेको छ। तर, कम्पनीले ३० प्रतिशत हकप्रद निष्कासन गर्ने हुँदा मूल्यमा केही वृद्धि भने देखिएको छ। धितोपत्र बजारको अन्तिम कारोबार मूल्य अनुसार जनरल इन्स्योरेन्सको प्रतिकित्ता मूल्य ५०२ रुपैयाँ छ।
मूल्यको पछिल्लो गतिविधिलाई मूल्यांकन गर्ने हो भने ५०० नजिक जनरल इन्स्योरेन्सको सेयरले खरिदकर्ताको तीव्र आकर्षण बटुल्ने गरेको छ। मूल्य ५२ साताको न्युनतम मूल्यविन्दु नजिक पनि छ। यद्यपि अघिल्लो समयमा बजारले दोहोर्याएको प्रवृत्ति यस पटक पनि दोहोर्याउने छ या छैन भने प्रश्न हो। हकप्रद निष्कासनको सूचनाले पनि कम्पनीको सेयरमा कस्तो प्रभाव पार्छ त्यो पनि अवलोकन गर्न बाकी नै रह्यो।
लाभांश नबाँडदा जगेडा तथा कोषहरुको आकार फराकिलो
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा जनरल इन्स्योरेन्सको नाफा साढे २९ प्रतिशतले बढ्यो। इन्स्योरेन्सले चालु आर्थिक वर्षको नौ महिने अवधिमा ८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। पोहोर चैतमा इन्स्योरेन्सको खुद नाफा ६ करोड ३६ लाख रुपैयाँमा सीमित थियो।
बढेको बीमा शुल्क आर्जनले नाफामा टेवा पुर्याएको देखिन्छ। यस अवधिमा इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ३९ प्रतिशत र खुद बीमा शुल्क आर्जन १७ प्रतिशत बढ्यो। गत आर्थिक वर्षको तुलनामा तेस्रो त्रैमासमा घटेको पोलिसी संख्याका बाबजुद इन्स्योरेन्सले बीमा शुल्क संकलनमा सुधार गर्न सफल रह्यो।
इन्स्योरेन्सको जारी बीमालेख संख्या ५ प्रतिशत घटेको छ। पोहोर चैतमा ६१ हजार अधिक रहेका बीमालेख चालु आर्थिक वर्षको सोहि अवधिमा ५८ हजारमा सीमित छ। यद्यपि नवीकरण हुने बीमालेखको संख्यालाई तुलना गर्दा भने एक आर्थिक वर्षको अवधिमा इन्स्योरेन्सले उत्साहजनक प्रगति गरेको पाइन्छ।
समीक्षा अवधिमा १२ हजार अधिक बीमालेख नवीकरण भएका छन्। यो करिब ५१ प्रतिशतको वृद्धि हो। पोहोर चैतमा जम्मा ८१ सय पोलिसी नवीकरण भएका थिए।
नयाँ तथा नवीकरण भएका बीमालेखको सहायतामा जनरल इन्स्योरेन्सले बीमा शुल्कवापत ७२ करोड ६८ लाख रुपैयाँ संकलन गरेको छ। यस्तै, इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १९ करोड १२ लाख रुपैयाँ छ।
यस अवधिमा इन्स्योरेन्सले कुल २० करोड ५२ लाख रुपैयाँ दाबीवापत भुक्तानी गरिसकेको छ। भुक्तानी गरिएको रकममा पनि गत आर्थिक वर्षको तुलनामा सामान्य वृद्धि देखिन्छ। यद्यपि कुल दाबी भुक्तानी संख्या भने घटेको पाइयो। भुक्तानी हुनेको संख्यामा २७ प्रतिशत कमी आएको छ।
पोहोर चैतसम्म झन्डै २१ सय दाबीबापत भुक्तानी गरेको जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको सोही अवधिमा मात्र १५ सयवटा दाबी बापत भुक्तानी दिएको छ।
परिणामस्वरूप दाबी भुक्तानी हुन बाँकी रकम र संख्या दुवैमा उल्लेख्य वृद्धि देखियो। हाल इन्स्योरेन्सले ६७ करोड ६८ लाख रुपैयाँ बराबरको दाबीवापत भुक्तानी गर्न बाँकी नै छ। ३ हजार ८८१ वटा दाबी बापतको उक्त रकम इन्स्योरेन्सले भुक्तानी गर्न बाँकी रहेको हो।
इन्स्योरेन्सको प्रतिसेयर आम्दानी भने बढेको छ। खुद नाफाको बढ्दा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढ्यो। इपीएसमा साढे २ रुपैयाँको सुधार देखिन्छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यमा साढे ८ रुपैयाँ रहेको इन्स्योरेन्सको इपीएस चालु आर्थिक वर्षको सोही अवधिमा १०.९९ रुपैयाँ पुगेको छ ।
कम्पनी गत वर्षका लागि लाभांश प्रस्ताव नगर्दा चुक्ता पुँजीको आकार स्थिर नै छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब रुपैयाँ कायम छ। कम्पनीको जगेडा तथा कोषमा १६ करोड ७४ लाख रुपैयाँ, बीमा कोषमा १९ करोड रुपैयाँ र महाविपत्ति जगेडा कोषमा एक करोड ६२ लाख रुपैयाँ सञ्चित छ।
पछिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसँग यदि तुलना गरिन्छ भने इन्स्योरेन्सको जगेडा तथा कोष १२१ प्रतिशत, बीमाकोष ११५ प्रतिशत र महाविपत्ति जगेडा १६७ प्रतिशत बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ पनि २० रुपैयाँ अधिक बढ्यो।
तेस्रो त्रैमासको अन्त्यसम्म इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १३७.४२ रुपैयाँ छ। धितोपत्र बजारको अन्तिम कारोबार मूल्य ५०२ रुपैयाँका अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ४५.६८ गुणा छ।