इन्धन गाडीलाई विद्युतीय बनाउन बाटो खुल्यो, कर इभीकै जति मात्र, कति लाग्छ खर्च?

शुक्र गिरी/बिजमाण्डू
२०७८ चैत्र १५ गते १७:५१ | Mar 29, 2022
इन्धन गाडीलाई विद्युतीय बनाउन बाटो खुल्यो, कर इभीकै जति मात्र, कति लाग्छ खर्च?

काठमाडौं। सरकारले इन्धनबाट चल्ने गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्न दिने भएको छ। सवारी तथा यातायात ऐन, २०४९ को केही बुँदा संशोधन गर्दै विद्युतीय गाडीमा परिवर्तन गर्न दिने भएको हो।

Tata
GBIME
Nepal Life

सवारी तथा यातायात ऐन, २०४९ को दफा ३९ मा सवारी साधनको स्वरुप परिवर्तन गर्न नपाउने व्यवस्था थियो। त्यसैमा तत्कालका लागि सामान्य संशोधन गर्दै इन्धन सवारीलाई विद्युतीय बदल्न दिने तयारी भएको हो। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७६ को अधिकार प्रयोग गरी सोही ऐनको दफा ३९ को उपदफा (२) को प्रतिवन्धात्मक वाक्यांस तीन वर्षसम्म लागु नहुने गरी 'वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारी साधनको हकमा' छुट दिने उल्लेख छ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले इन्धनको सवारी साधनलाई विद्युतीयमा रुपान्तरण गर्न कानुनी बाटो खुलेको जानकारी दिए। 'सवारी तथा यातायात ऐन, २०४९ को दफा ३९ मा सवारी साधनको स्वरुप परिवर्तन गर्न नपाउने व्यवस्था थियो,' उनले भने, 'अब इन्धन गाडीलाई विद्युतीयमा रुपान्तरण गर्नका लागि तीन वर्षसम्मका लागि अनुमति दिने व्यवस्था भएको छ।'

इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीयमा बदल्नका लागि ठोस कानुनी व्यवस्था अहिलेसम्म छैन। यसरी विद्युतीयमा बदलिने सवारी साधनको हकमा कर लगायतका नियम-प्रावधान के लागु हुने भन्ने अहिलेसम्म प्रष्ट छैन। सोही कारण यस सम्बन्धमा कानुन नबनुन्जेलसम्‍मका लागि भनेर सरकारले वैकल्पिक व्यवस्था गर्दै तीन वर्षसम्मका लागि अनुमति दिने भएको हो।

इन्धन सवारीका रुपमा दर्ता भएर अब विद्युतीयमा रुपान्तरण हुने सवारीले यो तीन वर्षसम्म करमा पनि छुट पाउने छन्। अर्थात्, विद्युतीय सवारीलाई लाग्ने जत्तिकै कर मात्र लाग्ने घिमिरेको भनाइ छ। 

अहिले विश्व बजारमा सवारी साधन रेट्रोफिटिङ गर्ने चलन सुरुवात भइसकेको छ। यसले सवारीलाई वातावरणमैत्री वा ऊर्जा खपत बढाउन र शुन्य कार्बन उत्सर्जन बनाउनमा ठूलो भुमिका खेलेको हुन्छ। सवारी साधनको हकमा 'रेट्रोफिटिङ' भनेको पुरानो प्रणालीमा नयाँ प्रविधि वा सुविधाहरू थप्नु हो।

उदाहरणका लागि पावर प्लान्टको रेट्रोफिट, पावर प्लान्टको दक्षतामा सुधार, उत्पादन बढाउने वा उत्सर्जन घटाउने, गृह ऊर्जा रेट्रोफिट, ऊर्जा दक्षता उपकरणहरूसहित इन्धन गाडीहरूको विद्युतीयमा रुपान्तरण गर्नु हो। यो प्रविधिबाट कुनै पनि पेट्रोल र डिजलबाट चल्ने पुरानो सवारी साधनलाई विद्युतीय सवारी साधनमा रुपान्तरण गर्न सकिन्छ।

घिमिरेले नयाँ व्यवस्थासँगै अब पुराना इन्धन गाडीलाई विद्युतीय बनाउनका लागि अनुमति दिने बताए। नयाँ विद्युतीय सवारीसाधन किन्ने पैसाको आंशिक मात्र खर्च गरेर सवारीसाधन इन्धनबाट विद्युतीयमा रुपान्तरण गर्न सकिन्छ। नयाँ सवारीसाधन आयात गर्नुको साटो यहीँ भएका पुराना इन्धन सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गरेमा सवारीसाधन आयात गर्दा विदेशिने ठूलो रकम जोगाउन सकिने विज्ञहरुको भनाइ छ। 

इन्धन गाडीलाई विद्युतीयमा रुपान्तरण गर्दा सवारी साधनमा भएको पुरानो इन्जिन निकालेर गाडीको पावरट्रेनलाई चाहिने सम्पूर्ण विद्युतीय उपकरणहरु नयाँ जडान गरिन्छ। यसले गर्दा  पुरानो सवारी साधनमा पनि नयाँ विद्युतीय सवारी साधनमा जत्तिकै राम्रो हुन्छ।

गाडीको स्ट्रक्चर भने पुरानै अवस्थामा हुने अटो इन्जिनियरहरुको भनाइ छ। उनीहरुका अनुसार अझ रुपान्तरित सवारी साधनमा आफ्नो आवश्यकता अनुसार विभिन्न क्षमताको ब्याट्री जडान गर्न सकिने छ।

कति लाग्छ खर्च ?
नेपालमा पनि पछिल्लो समय अटो व्यवसायीले पुरानो इन्धन गाडीलाई विद्युतीयमा रुपान्तरण गरेका छन्। इञ्जिन खराबीका कारण अलपत्र परेका पुराना सवारी साधनलाई फेरि प्रयोगमा ल्याउन केही कम्पनीहरुले पेट्रोल तथा डिजल गाडीलाई विद्युतीयमा रुपान्तरण गरिरहेका छन्।

विद्युतीय गाडी तथा स्कुटरहरुको बिक्री गर्दै आएको दिगोले हाल एउटा पुरानो इन्धनबाट चल्ने वागनआरलाई विद्युतीय सवारीमा रुपान्तरण गरेको छ। कम्पनीका अनुसार इन्धन सवारीमा भएको इन्जिन र फ्युल ट्याङ्कलाई पूरै निकालेर त्यसको ठाउँमा ब्याट्री र मोटर राखेर रुपान्तरण गरिएको हो।

रुपान्तरण गरिएको सवारीमा इञ्जिनबाहेक अरु मेकानिकल पार्ट्सहरु यथावत राखिन्छ। इन्जिन भएको ठाउँमा मोटर राखिन्छ र कन्ट्रोलर पनि थप्नु पर्छ। बजारमा भएका इभी कारमा ब्याट्रीको रेन्ज निश्चित हुन्छ। तर रुपान्तरण गरिने कारमा भने ग्राहकहरुको आवश्यकता अनुसारको ब्याट्री राख्न सकिने कम्पनीका एक इन्जिनियरले बताए। 

पुराना इन्धन गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्दा लगभग ७ लाखदेखि १२ लाख रुपैयाँसम्म खर्च लाग्ने ती इन्जिनियरले बताए। त्यो पनि ब्याट्री, मोटर र कन्ट्रोलरको सेलेक्सन अनुसार कति खर्चमा तयार हुन्छ भन्ने कुराको निश्चित हुन्छ।

दिगोले रुपान्तरण गरेको वागन आर १२ लाखमा तयार भएको बताएको छ। त्यस गाडीमा कम्पनीले ७२-९६ भोल्टेजको ब्याट्री प्रयोग गरेको छ। यो रुपान्तरण गरेको गाडीले फुल चार्जमा १८० किलोमिटरसम्मको माइलेज दिएको कम्पनीले दाबी गरेको छ। यो कारको ब्याट्री फुल चार्ज गर्न ५-६ घण्टा समय लाग्ने कम्पनीले जनाएको छ।

रुपान्तरण गर्दाका फाइदा?
सरकारले पनि २० वर्ष पुराना गाडी हटाउन जोडबल गरेपनि सकिरहेको छैन। पूराना गाडीका कारण उपत्यकामा वायु प्रदुषणको समस्या बढ्दो छ। सरकारले कानुनी संरचना संशोधन गरेपछि व्यक्तिगत प्रयोगमा रहेका पूराना गाडी परिवर्तन हुने अनुमान सरकारी अधिकारीको छ।

सरकारले पुराना इन्धन गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न दिँदा २० वर्ष पुरानो गाडीको व्यवस्थापन हुने महानिर्देशक घिमिरे जिकिर गर्छन्।

यसरी रुपान्तरण गरेको गाडीबाट शून्य प्रदूषण हुन्छ। प्रदूषण गर्ने इन्धन इन्जिन निकालिन्छ। इन्धन गाडीको खपत घटेपछि इन्धनको आयात कम हुन्छ। यसले देशको बढ्दो व्यापार घाटा कम गर्न पनि सहयोग पुर्‍याउँछ।

अर्कोर्तफ, प्रयोगकर्तालाई कर लाभ पनि मिल्नेछ। विद्युतीयमा रुपमान्तरण गरिएका सवारीमा कर हाल विद्युतीयलाई तोकिएको जति नै मात्र लाग्ने भनाइ घिमिरेको छ।

भारतमा के हुँदैछ ?
भारत सरकारले पनि दिल्लीमा पुराना इन्धन सवारीलाई विद्युतीयमा रुपान्तरण गर्न सहज वातवरण बनाएको छ। यसरी रुपान्तरण गर्न सरकारले अनुमति दिन थालिसकेको छ।

पुराना इन्धन सवारी साधनको विद्युतीयमा रुपान्तरण गर्दा ब्याट्री क्षमता र मोटरको आधारमा ३-५ लाख भारु खर्च हुने अटोमोबाइल इन्जिनियरहरु बताउँछन्। 

दिल्ली सरकारले भर्खरै राजधानीमा १५ वर्ष पुराना पेट्रोल र १० वर्ष पुराना डिजेल गाडीमा रोक लगाएको छ। त्यहाँको तथ्यांकअनुसार दश वर्ष पूरा गरेका करिब डेढ लाख डिजेल गाडी सहरमा छन्। १५ वर्षभन्दा पुराना पेट्रोल गाडीको संख्या २८ लाखभन्दा धेरै छ।