म्यादी प्रहरीमा युवाको आकर्षण, मास्टर्स डिग्री गरेकादेखि पूर्व प्रहरीसम्मले दिए आवेदन

बिजमाण्डू
२०७८ चैत्र १४ गते १३:०४ | Mar 28, 2022
म्यादी प्रहरीमा युवाको आकर्षण, मास्टर्स डिग्री गरेकादेखि पूर्व प्रहरीसम्मले दिए आवेदन


काठमाडौं। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षाको लागि नेपाल प्रहरीले १ लाख म्यादी प्रहरीका लागि भर्ना खुलायो। चैत ६ देखि ११ गतेसम्म देशभरका जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको लागि आवेदन भर्न मानिसहरु पुगे।

Vigo
GBIME
Tata

६ महिनाको नानी बोकेका आमादेखि पूर्व म्यादी प्रहरी नै आवेदन फारम भर्ने लाइनमा देखिए।

४० दिनको लागि ४४ हजार रुपैयाँ पाउने जागिर खान युवाको आकर्षण देखियो। देशमा बेरोजगारीको अवस्थालाई समेत म्यादी प्रहरीको मोहले छर्लङ्ङ पारेको थियो। १ लाख संख्यामा भर्ना मागे पनि झन्डै तेब्बरले आवेदन दिएका छन्।

नेपाल प्रहरीका अनुसार २ लाख ९३ हजार ३ सय १२ जनाले आवेदन दिएका छन्। आवेदकमध्ये महिला ६९ हजार ६ सय ८० जना छन्। २ जना तेस्रो लिंगी छन्। कुल आवेदनमा महिलाको आवेदन २३ प्रतिशत हो।

आवेदन दिनेमा पूर्व प्रहरी, सेना र वन रक्षक समेत रहेका छन्। प्रहरी प्रधान कार्यालयको विवरण अनुसार आवेदन दिनेमा २ हजार ५ सय ३७ जना पूर्व नेपाली सेना छन्। जसमा ११ जना महिला छन्। त्यस्तै १ हजार ४ सय ३१ जना पूर्व नेपाल प्रहरी छन्। जसमा १६ जना महिला छन्। सशस्त्र प्रहरीका पूर्व प्रहरीले पनि आवेदन भरेका छन्।

४ सय ८९ जना सशस्त्र प्रहरीबाट आवेदन परेको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए। एक जना महिलासहित ३४ जना वनरक्षकले ४० दिने म्यादी प्रहरीको लागि आवेदन दिएका छन्।

३० वर्षमुनिका युवाको आवेदन धेरै

म्यादी प्रहरीको लागि १८ वर्ष पूरा भएकादेखि ४५ वर्ष उमेर समूहका मानिसले आवेदन दिएका छन्। जसमा सबैभन्दा धेरै आवेदन ३० वर्ष मुनिकाहरुको परेको देखिएको छ। २० वर्ष उमेर समूहसम्मका आवेदन दिनेको सङ्ख्या ८३ हजार ६ सय २९ छ।

२० देखि ३० वर्ष उमेर समूहका मानिसले आवेदन दिनेको सङ्ख्या १ लाख ३३ हजार ४ सय ७६ रहेको छ। ३० देखि ४० वर्षसम्म आवेदन दिनेको सङ्ख्या ५४ हजार ८ सय ४७ रहेको नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कमा छ। ४० देखि ४२ वर्षसम्म २१ हजार ३ सय ६२ छ।

साधारण लेखपढदेखि मास्टर्ससम्मको आवेदन

म्यादी प्रहरीको लागि शैक्षिक योग्यता साधारण लेखपढ भए पुग्छ। तर स्नातकोत्तर गरेका सम्मले आवेदन दिएको देखिएका छन्।

करिब ३ लाखको आवेदन पर्दा ३ सय ४१ जना स्नातक तहभन्दा माथिको शैक्षिक योग्यता भएकाहरु छन्। सबैभन्दा धेरै आवेदन साधारण लेखपढ गरेकाहरूको छ। १ लाख ७७ हजार ७ सय ५० जना साधारण लेखपढ गरेकाहरु छन्।

८३ हजार २ सय ११ जनाले एसएलसी दिएका छन्। प्लस टु गर्नेहरूको सङ्ख्या पनि ३२ हजार १२ रहेको छ। आवेदन दिएकाहरू मध्येबाट शारीरिक र लिखित परीक्षाबाट छनोट गरिने छ।