संसदमा टेबल भएको एमसीसीको विपक्षमा मतदान गरेर सरकारबाट बाहिरिने माओवादीको निर्णय

बिजमाण्डू
२०७८ फागुन १३ गते १३:०६ | Feb 25, 2022
संसदमा टेबल भएको एमसीसीको विपक्षमा मतदान गरेर सरकारबाट बाहिरिने माओवादीको निर्णय

काठमाडौं। नेकपा माओवादी केन्द्रको शीर्ष नेताहरुको बैठकले प्रतिनिधि सभामा टेबल भएको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विपक्षमा उभिने निर्णय गरेको छ।

Tata
GBIME

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको शीर्ष नेताहरुको बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले जानकारी दिए।

उनले यसअघि अनौपचारिक रुपमा माओवादी केन्द्रले एमसीसीको विपक्षमा उभिने बताएको भए पनि आजको निर्णय औपचारिक निर्णय भएको बताए। 'यसअघि पनि विपक्षमा उभिने भन्ने त भएको थियो। त्यो अलि अनौपचारिक थियो। आजको औपचारिक हो,' उनले भने।

पोखरेलले एमसीसीको विपक्षमा मतदान गरे सरकारमा बस्‍न नमिल्ने भएकाले सरकारबाट बाहिरिने निष्कर्षमा पनि शीर्ष नेताहरु पुगेको बताए। तर कहिले सरकार छाडने भन्नेबारेमा भने अहिले नै एकिन नभएको उनको भनाइ छ।

'एमसीसीको विपक्षमा मतदान गरे कसरी सरकारमा बस्‍न मिल्ला र? सरकारबाट त बाहिरनै पर्छ नि विपक्षमा उभिएपछि त,' उनले भने।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीवार एमसीसीका बारेमा छलफल गरेका थिए। एमसीसीकै विषयलाई लिएर हाल सत्ता गठबन्धन बिभाजित भएको छ।

कांग्रेस जसरी पनि एमसीसी पास गर्नुपर्ने पक्षमा छ भने नेकपा एकीकृत समाजवादी र माओवादी विपक्षमा उभिएका छन्। एमसीसीलाई लिएर कांग्रेसले एमालेसँग सहकार्यका लागि गृहकार्य गरिरहेको छ।