ग्वार्को चोक फ्लाइओभर निर्माण ठेक्का प्रक्रियामा, आठ कम्पनीका प्राविधिक प्रस्ताव पास

बिजमाण्डू
२०७८ पुष २१ गते ११:२४ | Jan 5, 2022
ग्वार्को चोक फ्लाइओभर निर्माण ठेक्का प्रक्रियामा, आठ कम्पनीका प्राविधिक प्रस्ताव पास

काठमाडौं। ललितपुरको ग्वार्कोमा प्रस्तावित फ्लाइओभर (ग्रेड सेपरेटेड इन्टरसेक्सन) निर्माणका लागि निकालिएको ठेक्काको प्राविधिक प्रस्तावमा ८ वटा कम्पनी पास भएका छन्।

Tata
GBIME
Nepal Life

सडक विभाग मातहतको गुणस्तर अनुसन्धान विकास केन्द्रले गत असार २८ मा निकालेको ठेक्कामा ९ वटा कम्पनीले आवेदन दिएका थिए। एमआर भीम-सगरमाथा जेभी, शर्मा एण्ड कम्पनी, लामा-गोल्डेन गुड जेभी, सूर्य-भ्याली/विकास-ब्रदर्स जेभी, एलिट कन्स्ट्रक्सन, अनक-श्रेष्ठ जेभी, तुन्दी-रसुवा-रोशन जेभी, कालिका कन्स्ट्रक्सन, आशिष-समानान्तर जेभी र एलिट कन्स्ट्रक्सन गरी ८ वटा कम्पनी पास भएका हुन्।

लामा-गोल्डेन गुड जेभी मात्रै प्राविधिक प्रस्तावमा फेल भएको छ। केन्द्रले सुरुमा एलिट कन्स्ट्रक्सन बाहेक ७ वटा कम्पनीलाई मात्रै  प्राविधिक प्रस्तावमा पास भएको भन्दै सूचना निकालेको थियो।

एलिट कन्स्ट्रक्सन कालोसूचीमा परेको भन्दै उसलाई प्राविधिक प्रस्तावमा स्वीकार गरिएको थिएन। तर मूल्यांकन सुरु हुँदा कालोसूचीमा परेको नभइ अदालतको स्टेअर्डरका कारण 'निलम्बन' मा मात्रै राखियो। त्यसपछि कम्पनीले आफूलाई पनि ठेक्कामा समावेश गराउनुपर्ने मागसहित मूल्यांकन समितिमा निवेदन दिएको थियो। सोही कारण करिब एक साता मूल्यांकन प्रक्रिया नै प्रभावित भएको थियो।

अब भने प्रक्रिया अघि बढेको गुणस्तर अनुसन्धान विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर सौरभ बज्राचार्यले बताए। उनका अनुसार मंगलबार नै ८ वटा कम्पनी पास भएको जानकारीसहितको पत्र पठाइसकेको छ। आगामी एक साताभित्र ८ वटा कम्पनीको वित्तीय प्रस्ताव खोलिनेछ। सबैभन्दा कम कबोल गर्ने कम्पनीले उक्त ठेक्का पाउनेछ। यो सँगै विभिन्न प्राविधिक कारणले ६ महिनादेखि रोकिदै आएको ठेक्का प्रक्रिया अघि बढ्ने भएको छ।

ग्वार्को चोकमा इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा फ्लाइओभर निर्माण गर्ने गरी ठेक्का निकालिएको छ। काम सुरु गरेको दुई वर्षमा आयोजना सक्नुपर्ने गरी ठेक्का आह्वान गरिएको हो। डिजाइनका लागि ४ महिना र २० महिना निर्माण अवधि तोकिएको छ।

फ्लाइओभर चक्रपथको बीचमा रहेको चार लेनमा समानान्तर भएर निर्माण हुनेछ। जसको कुल लम्बाइ ४ सय ५५ मिटर हुनेछ। यसको लागत करिब २४ करोड रुपैयाँ हुने अनुमान छ।