ग्वार्को फ्लाइओभरको ठेक्का प्रक्रिया रोकियो, प्राविधिक मूल्यांकनपछि खोलिएन वित्तीय प्रस्ताव

बिजमाण्डू
२०७८ पुष १५ गते १२:२९ | Dec 30, 2021
ग्वार्को फ्लाइओभरको ठेक्का प्रक्रिया रोकियो, प्राविधिक मूल्यांकनपछि खोलिएन वित्तीय प्रस्ताव


काठमाडौं। ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि आह्वान गरिएको ठेक्कामा प्रक्रिया पुन: रोकिएको छ। प्राविधिक मूल्यांकनमा सातवटा कम्पनी छनोट भएका थिए।

Tata
GBIME
Nepal Life

तर आर्थिक प्रस्ताव खोल्ने बेला आफू सहभागी हुन पाउनुपर्ने भन्दै एलिट कन्स्ट्रक्सनले निवेदन हालेपछि ठेक्का प्रक्रिया नै रोकिन पुगेको हो।

असार २८ गते निकालिएको ठेक्कामा एमआर भीम/सगरमाथा जेभी, शर्मा एण्ड कम्पनी, लामा/गोल्डेन गुड जेभी, सूर्य/भ्याली/विकास/ब्रदर्स जेभी, एलिट कन्स्ट्रक्सन, अनक/श्रेष्ठ जेभी, तुन्दी/रसुवा/रोशन जेभी, कालिका कन्स्ट्रक्सन, आशिष/समानान्तर जेभी गरी नौवटा कम्पनीले आवेदन दिएका थिए। यीमध्ये लामा/ गोल्डेन गुड जेभी र एलिट कन्स्ट्रक्सन बाहेकका कम्पनी पास भएका थिए।

'मूल्यांकन सुरु हुँदा एलिट कन्स्ट्रक्सनलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको सूचना निकाल्यो। कालोसूचीमा राखेको कम्पनीलाई छनोट गर्न मिल्दैन,' गुणस्तर अनुसन्धान विकास केन्द्रका एक इन्जिनियरले भने,'मूल्यांकन सकेर सातवटा कम्पनीको नाम सार्वजनिक गर्‍यौं। तर पछि फेरि एलिटलाई निलम्बनमा मात्रै राखेको सूचना आयो।'

उनका अनुसार, एलिट कन्स्ट्रक्सनले आफू निलम्बनमा मात्रै परेकाले ठेक्कामा सहभागी हुन पाउँ भन्दै मूल्यांकन समितिसमक्ष आवेदन दिएकाले प्रक्रिया रोक्नु परेको हो। 'मूल्यांकन समितिमा उक्त निवेदन परेको छ। समितिले निर्णय गरेपछि मात्रै प्रक्रिया अघि बढ्छ,' ती इन्जिनियरले भने।

सार्वजनिक खरिद अनुगमन कार्यालयको मंसिर २२ गते बसेको बैठकले एलिट कन्स्ट्रक्सनलाई दुई वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको थियो। उक्त निर्णयबारे मंसिर २३ गते प्रेस विज्ञप्ति नै निकालेर जानकारी दिएको छ भने कालोसूचीमा 'सस्पेन्ड' मात्रै गरिएको उल्लेख छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव विष्णुप्रसाद कोइरालाले सुरुमा कालोसूचीमा राखिएको भए पनि अदालतले अन्तरिम आदेश गरेका कारण निलम्बन मात्रै गरिएको बताए। 'हामीले कालोसूचीमा राखेका थियौं। कम्पनी अदालत गयो, अदालतले अन्तरिम दियो,' उनले भने, 'हामीले अदालतको आदेश मान्ने हो। कम्पनीले निलम्बनमा परेको अवधिमा पनि काम गर्न पाउँछ।'

यसअघि मुद्दा परेको कालिका कन्स्ट्रक्सनले आवेदन दिएका कारण प्राविधिक प्रस्तावको मूल्यांकन रोकिएको थियो। कुनै निर्माण कम्पनीलाई मुद्दा लागेको छ र उसले ठेक्कामा आवेदन दिए मन्त्रिपरिषदबाट निर्णय गरेर मात्रै प्रक्रिया अघि बढाउन सकिन्छ। मन्त्रिपरिषदले उक्त अधिकार मन्त्रीलाई दिएको छ।

तत्कालीन अवस्थामा मन्त्री नहुँदा मूल्यांकनको काम रोकिएको थियो। गत असोज २२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रेणुकुमारी यादव आएकी छन्। उनी आएको करिब दुई महिनापछि फाइल अघि बढाउन स्वीकृति दिएकी थिइन।

राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै कालिका कन्स्ट्रक्सनविरुद्ध मुद्दा परेको छ। उक्त मुद्दाको फैसला भएको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परामर्शदाता समेतको मिलेमतोमा सम्झौता अनुसारको गुणस्तर कायम नगरेको भन्दै दुई अर्ब १३ करोड रुपैयाँ भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

असारमा ठेक्का निकालिएको आयोजना विभिन्न प्राविधिक समस्याका कारण ढिला हुँदै आएको छ। पाँच महिनासम्म पनि निर्माण कम्पनी नै छनोट गर्न सकेको छैन।

गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले चक्रपथमा चारवटा फ्लाइओभर निर्माण गर्ने योजना बनाएको छ। पहिलो चरणमा ग्वार्को चोकमा निर्माण गर्न लागिएको हो। 

यो फ्लाइओभर इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्ने गरी ठेक्का निकालिएको छ। काम सुरु गरेको दुई वर्षमा आयोजना सक्ने योजना छ। चार महिना डिजाइन र २० महिना निर्माण अवधि तोकिएको छ।

फ्लाइओभर चक्रपथको बीचमा रहेको चार लेनमा समानान्तर भएर निर्माण हुनेछ। जसको कुल लम्बाइ ४ सय ५५ मिटर हुने बेसलाइन सर्भेमा उल्लेख छ। करिब २४ करोड रुपैयाँ खर्चेर फ्लाइओभर निर्माण गर्न लागिएको हो।