चाहिएका बेला पाइँदैन भनेर पैसा हुनेले पनि ऋण तिर्न छाडे, ‘अभाव देखाएर बैंकले चर्को ब्याज उठाए’

बिजमाण्डू
२०७८ कात्तिक ३० गते ०८:५८ | Nov 16, 2021

काठमाडौं। बैंकहरुले ठूलै भनसुनबिना ऋण दिन छाडेपछि पहिले ऋण लिएका ऋणीले पैसा भएपनि बैंकलाई तिर्न छाडेका छन्। बैंकलाई अहिले बुझाए पनि मागेको बेला दिँदैन भनेपछि उनीहरुले पैसा तिर्न छाडेका हुन्।

Tata
GBIME
Nepal Life

'अहिले रिपेमेन्टमा एकदमै ठूलो समस्या देखिएको छ,' एक बैंकरले भने, 'उनीहरुले पैसा हुँदा पनि तिरेका छैनन्।'

तरलता अभाव चर्किएपछि अहिले कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत नाघेका बैंकले पैसा दिन छाडेका छन्। उनीहरुले दिनै पर्ने भए भनसुन र पहुँचवालालाई मात्र ऋण दिइरहेका छन्।

यसरी बैंकले ऋण दिन बन्दजस्तै गरेपछि ओभरड्राफ्टको लिमिट लिएर बसेकाहरुले पैसा नचाहिए पनि झिक्न थालेका छन्। उनीहरुको ब्याज नबढ्दै ऋणको लिमिट लिएका थिए। त्यसबेला आधार दर सस्तो थियो र प्रिमियम पनि कम  थियो। 

नवीकरण गर्दा मात्र प्रिमियम चलाउन पाइन्छ। 'अहिले आँखै अगाडि आफ्नै ग्राहकले सात प्रतिशतमा ऋण लिएको थियो। त्यो पैसा ९/१० प्रतिशतमा निक्षेपमा राखेर मार्जिन खाइरहेको छ,' ती बैंकरले भने।

अहिले खाद्यान्न, तेललगायत उपभोगमा आधारित उद्योगीहरुले उनीहरुको उत्पादन बिक्री भएर पैसा आए पनि बैंकको ऋण फिर्ता नगरेको बैंकरहरु बताउँछन्। 

'अहिले यस्तरी उपभोग बढेको छ। बजारमा उधारो पनि रहँदैन, १५/२० दिनमा पैसा उठिसक्छ। तर पनि उनीहरुले पैसा फिर्ता गर्दैनन्,' अर्का एक बैंकरले भने, 'किस्ता तिर्ने समय ९० दिनसम्म पैसा घुमाइरहेका छन्।'

अहिले तरलता अभाव हुनुको अर्को कारण रिपेमेन्ट भएको बैंकरको भनाइ छ। 

अहिले बैंकले जलविद्युत परियोजना, सिमेन्ट, डण्डी जस्ता उद्योगहरुलाई समेत ऋण दिन सकेका छैनन्। बैंकहरुले परियोजना नै पछि सार्न भनिरहेका छन्। जताततै पैसा पाउन छाडेको सन्देश जान थालेकाले पहिले पैसा पाएकाहरुले फिर्ता गर्न नचाहेका हुन्।

यता गभर्नर महाप्रसाद अधिकारीले भने उत्पादनमूलक उद्योग व्यवसाय र प्राथमिकताप्राप्त क्षेत्रका लागि ऋणको अभाव हुन नदिने बताइरहेका छन्। यही भएर उनले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै ऋण उपलब्धताका लागि केही कदम चाल्ने तयारी गरेका छन्। रिपेमेन्टको समस्या समाधानका लागि पनि केही नीतिगत व्यवस्था गर्ने बारे छलफल भइरहेको छ। बैंकरले नै पैसा भएपनि रिपेमेन्टमै समस्या भएको गुनासो राष्ट्र बैंकमा पुर्‍याइसकेका छन्।

यता बैंकहरुले ऋण दिन नसकिएको मुखले बताइरहँदा तथ्यांकले भने सातामै २० अर्ब रुपैयाँभन्दा बढी गएको देखाउँछ। बैंकहरुले अहिले ऋण अभाव भएको देखाएर ब्याजमा कस्ने रणनीति लिएको पनि जानकारहरु बताउँछन्।

'ऋण दिन पैसा छैन भनेपछि आवश्यक पर्नेले ब्याजको मतलब गर्दैन। जति भए पनि तिर्छु भन्छ,' एक उद्यमीले भने, 'कृत्रिम अभाव देखाएर यहाँ बढी असुल्ने खेल भइरहेको छ। नभए पैसा छैन भन्दाभन्दै पनि कसरी ऋण दिन सकिन्छ?,' उनले ब्याज बढी तिर्छु भन्दा मात्र बैंकले ऋण दिन थालेको आरोप पनि लगाए।

बैंकले ऋण दिन छाडेको गुनासो बढ्दै गएपछि अर्थमन्त्री जनार्दन शर्माले गभर्नर अधिकारीले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गरेका थिए। उनले पनि आफ्नो तर्फबाट भइरहेको समस्या समाधान गर्नेभन्दा पनि बैंक र राष्ट्र बैंकलाई नै उल्टै अर्ती दिएर पठाए। उनले ठूला ऋण रोकेर सानालाई ऋण दिने हाँस्यास्पद सुझाव बैंकरलाई दिएका थिए।