एजी शेर्पा जसले ७१ यात्रु बचाए, उनै भए दोषी, नागरिक उड्डयन प्राधिकरणले गर्‍यो कारवाही

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७८ कात्तिक ११ गते १३:०३ | Oct 28, 2021
एजी शेर्पा जसले ७१ यात्रु बचाए, उनै भए दोषी, नागरिक उड्डयन प्राधिकरणले गर्‍यो कारवाही

काठमाडौं। एक महिना अघि पाङ्ग्रा नखुलेर विराटनगरबाट काठमाडौं अवतरण गरिएको बुद्ध एयरको जहाजका पाइलट एजी शेर्पाको 'गल्ती' देखाइएको छ।

Tata
GBIME
Nepal Life

नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको अध्ययन समितिले विहीबार बुझाएको प्रतिवेदनमा पाइलट शेर्पाले चेकलिस्ट प्रयोग नगरेकाले समस्या भएको उल्लेख गरिएको छ। 

प्रतिवदेनमा प्राविधिक रुपमा जहाज अवतरण गर्न सकिने अवस्था रहेपनि पाइलटले चेक लिस्ट नहेरेका कारण आकस्मिक अवतरण गर्नुपरेको उल्लेख छ।

शेर्पा बुद्ध एयरका अनुभवी पाइलट हुन्। अझ उनी आइपी आइपी 'इन्स्ट्रक्टर पाइलट' हुन्। काठमाडौंबाट विराटनगर उडेको जहाजको पाङ्ग्रा नखुलेपछि शेर्पाले दुई घण्टा आकाशमै होल्ड गरेर आकस्मिक अवतरण गराएर ७२ यात्रु बचाएका थिए।

'क्याप्टेनको गल्ती देखिएको छ। ल्याण्डिङ गियर अनसेफ लाग्यो  भने पछि उहाँले इमर्जेन्सी चेकलिस्ट नहेरेको देखिएको छ। उहाँले स्टाण्डर्ड अपरेटिङ प्रोसिड्योर पालना नगरेको देखिएको छ,' अध्ययन समितिका एक सदस्यले भने।  

प्राधिकरणले शेर्पाको इन्स्ट्रक्टर पाइलट तीन महिना लागि सस्पेण्ड गरिएको छ। ती सदस्यका अनुसार  डेजिगनेटेड चेक पाइलट 'डिसीपी' छ महिनाको लागि सस्पेण्ड गरिएको जनाइएको छ।  

कोपाइलटका लागि भने ५० घण्टा अतिरिक्त  फ्लाइङ आवर थपिएको छ। क्याप्टेनले इन्स्ट्रक्टर  पाइलटसँग २५ घण्टा उडान  गरेपंछि लाइन  क्याप्टेन भएर उडानमा सहभागी हुन पाउने प्राधिकरणले जनाएको छ। चेकलिस्टको प्रयोग गर्नुपर्ने अवस्थामा पाइलट आफैले चेकलिस्ट नहेरी आफ्नै उपाय लगाएर जहाजलाई काठमाडौं अवतरण गरेको स्वीकारेको विवरणमा जनाइएको छ।    

ककपिट भ्वाइस रेकर्डर (सिभीआर) मार्फत तयार गरिएको विवरण अनुसार त्यो समय पाइलटले चेकलिस्ट नमागेको देखिएको छ।'जहाजमा यस्तो समस्या आउनु सामान्य हो। थ्री ग्रीनमा कहिलेकाँही एउटा बत्तीमा फ्युज पनि भइदिन्छ। तर ल्यान्डिङ गियर डाउन भएपनि बत्ती नबल्न सक्छ। यस्तै हुन्छ भनेर सेकेण्डरी इन्डिकेटर राखिएको हुन्छ। यदि सेकेण्डरीले पनि काम नगरेको अवस्थामा इमर्जेन्सी ल्यान्डिङ गियर लोडिङ प्रयोग गर्न सकिन्छ,' प्राधिकरणका एक कर्मचारीले भने। 

उनका अनुसार दुईजना पाइलटको पछाडि पट्टि रहेको यो लिभर तान्दा ल्याण्ङ गियर डाउन हुन्छ। 'माथी रहेकोले हाइड्रोलिक मार्फत खुल्ने हो। माथिकोले काम नगर्दा एमर्जेन्सी ल्याण्डीङ गियर लिभर प्रयोग गर्न सकिन्छ,' ती कर्मचारीले भने।

चेकलिस्ट आइप्याड, फ्लाइट क्रु ओपरेशन म्यानुअल लगायत राखिएको हुन्छ। उडान गर्दा शतप्रतिशत सफल होस् भनेरै चेकलिस्ट राख्ने बताउँदै एक पाइलटले भने-'ल्याण्डिङ गियर लिभर अनसर्भिसेबल चेकलिस्ट भनेपछि चेकलिस्ट देखाउँछ। त्यहाँ भएको आठ-१० बुँदा पढेपछि प्रोसिड्योर पुरा हुन्छ। सिभीआरमा यो नगरेको देखिएको छ।अनुसन्धानमा पाइलट आफैले चेकलिस्ट प्रयोग नगरेको बताएका छन्।'

गत असोज ११ गते ७१ जना यात्रु लिएर उडेको बद्धको जहाज विराटनगरमा पाङ्ग्रा नखुलेपछि दुई घण्टा आकाशमा फन्को लगाएर अन्तिममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको थियो।