निर्माण सामाग्री महँगिदा बढ्यो घर निर्माणको लागत, २५ सय वर्गफीटको साढे २ तले घरलाई पर्छ १ करोड

उन्नत सापकोटा/बिजमाण्डू
२०७८ कात्तिक ११ गते ०४:४८ | Oct 28, 2021
निर्माण सामाग्री महँगिदा बढ्यो घर निर्माणको लागत, २५ सय वर्गफीटको साढे २ तले घरलाई पर्छ १ करोड


काठमाडौं। निर्माण सामाग्रीको भाउ अचाक्ली महँगिएपछि घर बनाउन महँगो हुने भएको छ। काठमाडौं उपत्यकामा निर्माण गर्ने घरलाई चाहिने डन्डी, इँट्टा र सिमेन्ट महँगिएका छन्। 

Tata
GBIME
Nepal Life

भारतसहित विश्वभर कोइला संकट चुलिएर अन्तर्राष्ट्रिय बजारमै भाउ बढ्दा यसको प्रत्यक्ष असर इँट्टा, डन्डी र सिमेन्ट उत्पादनमा परेको छ। जसका कारण मूल्य बढेको छ र यसको प्रत्यक्ष असर घर निर्माणमा पर्ने देखिन्छ।

नेपालमा बिक्री हुने सबै ब्राण्डका डन्डीको मूल्य प्रति किलो एक सय पाँच रुपैयाँ नाघेको छ। काठमाडौं उपत्यकाका साइटमा डन्डी झर्दा न्यूनतम १०७ देखि अधिकतम ११३ रुपैयाँ हाराहारी पर्ने बिक्रेताहरुले बताएका छन्। 

भट्टी नभएका पञ्चकन्या, साख:, हिमाल, हामालगायतका डन्डी कम्पनीहरुको भाउ प्रतिकिलो ११३ रुपैयाँ हाराहारी पुगेको निर्माण सामाग्री व्यापार महासंघका संस्थापक महासचिव शिवप्रसाद मानन्धरले जानकारी दिए। 

केही दिन अघि यी कम्पनीहरुले बिक्री गर्ने डन्डीको भाउ प्रतिकिलो दुई तीन रुपैयाँ अझै महँगो रहेको भएपनि अहिले घटेर ११३ हाराहारी आइपुगेको छ। डन्डीको यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै सर्वाधिक महँगो हो।

सरकारले डन्डी उद्योगमा बढी मूल्य अभिवृद्धि होस् भनेर स्पन्ज आइरनको भन्सार शून्यमा झारेको आयातित बिलेटमा लाग्ने अन्त:शुल्क बढाएको थियो। जसका कारण एक तहमाथिको कच्चा पदार्थ बिलेट आयात गरेर डन्डी बनाउने उद्योगले समेत स्पन्ज आइरनबाट बिलेट बनाउने उद्योग स्थापना गर्नुपर्ने बाध्यता आइलागेको छ। 

सरकारले स्पन्ज आइरनमा लाग्दै आएको पाँच प्रतिशत भन्सार पूर्णरुपमा हटाएको थियो। आयातित बिलेटमा लाग्ने अन्तःशुल्क भने प्रतिटन १६५० रुपैयाँबाट बढाएर २५०० रुपैयाँ पुर्‍याएको थियो।

आयातित कच्चा पदार्थ वा स्वदेशमा हुने उत्पादनमध्ये कुनै एकमा अन्तःशुल्क लाग्ने भएकाले यो कर सुविधा कार्यान्वयनमा आएसँगै नेपालमै उत्पादन हुने बिलेट वा फलामजन्य वस्तुमा सरकारले यसअघि लगाउँदै आएको अन्त:शुल्क पनि हटेको थियो। यसअघि यो किलोमा एक रुपैयाँ ६५ पैसा पर्थ्यो। 

अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य बढेकाले नै डन्डी र सिमेन्टको भाउ बढेको सौरभ समूहका अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिए। 

'कोइलाको दाम भयङ्करै बढ्यो। पहिला प्रति टन १२० अमेरिकी डलर पर्ने कोइला आजको दिनमा २४० डलर पुगेको छ। बिलेट बनाउँदा थोरै कोइला चाहिन्छ। तर, स्पञ्ज आइरन बनाउँदा १५ सय किलो आइरन ओर र सोही बराबर स्पञ्ज आइरन हालेर एक टन स्टीलको आइरन निस्किन्छ। यो बनाउँदा धेरै कोइला लाग्छ,' न्यौपानेले भने,'आगो नबाली कोइलानै प्रयोग गरेर कार्बन मोनोअक्साइड निस्केर डन्डी बन्छ।'

अर्को भनेको प्राकृतिक ग्यास (सीएनजी) प्रयोग गरेर डन्डी बनाउने गरिन्छ। डन्डी र सिमेन्टको मूल्य बढ्नुमा कोइलासँगै पेट्रोलियम पदार्थको मूल्य बढ्नु पनि कारक भएको न्यौपानेले बताए। 

त्यसैगरी, बजेट (जेठ १५ अघि) ५६० डलर हाराहारी रहेको बिलेटको मूल्य विगत डेढ महिनायता ६३५ डलर हाराहारी पुगेको न्यौपानेले जानकारी दिए। बिलेटमा जम्मा १० प्रतिशत मूल्य बढेको दाबी गर्दै न्यौपानेले ११३ रुपैयाँ डन्डीको भाउ पुर्‍याउनु गलत भएको जिकिर गरे। डन्डीको भाउ ६ देखि ८ रुपैयाँ मात्रै बढ्नुपर्नेमा केही कम्पनीहरुले बढीमा बेच्नु गलत हुने उनको भनाइ छ।

'हामीले चार रुपैयाँ घटाएर बिलेट बिक्री गरिरहेका छौं। बिलेट आयात गरेर ११३ मा डन्डी बिक्री गरिरहेको छ भने सो कम्पनीले चार रुपैयाँ घटाएर १०९ रुपैयाँमा बेच्न पायो। बिलेट नेपालमै उत्पादन गर्ने कम्पनीहरुलाई सरकारले दिएको छुट अनुसार मूल्य घटाएर बिलेट बेचिरहेका छौं,' न्यौपानेले भने। आजको दिनमा डन्डीको सही भाउ १०२-१०४ रुपैयाँ (होलसेल रेट) रहेको उनले बताए।

त्यसैगरी, ओपीसी सिमेन्टको भाउ औषतमा ५० रुपैयाँसम्म बढेको न्यौपानेले बताए। 

'एक बोरा ओपीसी सिमेन्ट बनाउँदा आठ किलो कोइला लाग्छ। केही अघि १५ रुपैयाँ प्रति किलोमा पाइने कोइला अहिले प्रति किलो ३० रुपैयाँ पुगेको छ। विदेशबाट कोइला अर्डर गरेर आइपुग्न समय लाग्छ। अहिले नयाँ कोइला बुक गर्दिन भएको कोइला प्रयोग गर्छु भन्यो भने फ्याक्ट्री बन्द गर्नुपर्छ,'न्यौपानेले भने,'हामीले नयाँ कोइलाको एलसी खोलेर कम्फर्म गरिसकेको र स्टकमा रहेको कोइला ब्यालेन्स गरेर लगिरहेका छौं। कोइलाको दाम बढ्दै गयो भने सिमेन्टको भाउ अझै बढ्छ।' 

त्यसैगरी, कोभिड-१९, मनसुन, जहाज र कन्टेनरको सिपिङ भाडा वृद्धिले अन्तर्राष्ट्रिय बजारमा कोइलाको अभावसँगै मूल्य बढ्दै गएको छ। डेढ वर्षदेखि कोइलाको मूल्यवृद्धि निरन्तर भइरहेका बेला अक्टोबर लागेपछि अभाव पनि चर्किएको छ। 

कोइला व्यवसायी विपुल जैनका अनुसार गत वर्ष अक्टोबरको पहिलो हप्तामा इन्डोनेसियाको कोइला सीआइएफ कोलकाताको मूल्य प्रतिटन ८० देखि ९० डलर थियो। सीआइएफ भनेको कस्ट, इन्स्योरेन्स र फ्रेट जोडिएको रकम हो। क्रमशः मूल्यवृद्धि हुँदै एक महिनाअघि एक सय ५० डलर पुग्यो। इन्डोनेसियाकै कोइला अहिले सीआइएफ कोलकाताको मूल्य २ सय डलरभन्दा माथि पुगेको बताइएको छ।

ओपीसी सिमेन्टको मूल्य ब्राण्डअनुसार आठ सयदेखि आठ सय ५० रुपैयाँ पर्ने बताइएको छ। भारतसहित अन्य देशहरुमा कोइलाको अभाव भएर मूल्य बढ्दा सिमेन्टको मूल्यमा असर परेको बताइएको छ। 

त्यसैगरी, काठमाडौंमा गिट्टीको मूल्य प्रति टिपर २४ हजार रुपैयाँ र बालुवा प्रति टिपर २८ हजार रुपैयाँ पर्छ। मेलम्चीमा असारमा आएको बाढी पछि गिट्टी र बालुवाको मूल्य बढेको बताइएको छ। रोडाको मूल्य प्रति टिपर २५ हजार रुपैयाँ पर्ने बिक्रेताहरुले बताएका छन्।

काठमाडौंमा एक नम्बर इँट्टा साइटमा चाङ लगाउँदासम्म १८ देखि २० रुपैयाँ पर्ने बिक्रेताहरुको भनाइ छ। दुई नम्बर इँट्टा भने १५ रुपैयाँमसम्म पर्ने बताइएको छ। कोइलाको मूल्य र उपलब्धता सिमित हुँदा इँट्टाको मूल्य केही बढेको छ। काठमाडौंमै उत्पादन हुने इँट्टाको मूल्य १५ रुपैयाँ पर्नेमा अहिले १६-साढे १७ रुपैयाँसम्म पर्ने गरेको बताइएको छ। तराईंको इँट्टा काठमाडौं झिकाउँदा अधिकतम २० रुपैयाँ पर्ने बताइएको छ।

चाइनिज इँट्टाको मूल्य २५ रुपैयाँ हाराहारी छ।  कात्तिकपछि सिजन सुरु हुने भएकाले इँट्टाको भाउ अझै बढ्ने चिन्तामा उत्पादकहरु छन्।    

यस्तै, बजारमा नेपाली सालको काठको मूल्य अहिले ७५ सयदेखि आठ हजार प्रति क्यूबिक फिट पर्ने बिक्रेताहरुले बताएका छन्। इन्डियन काठ भने ५५ सयदेखि ६ हजार रुपैयाँ प्रति क्यूबिक फिट पर्छ। काठको मूल्य भने धेरै घटबढ नभएको बताइएको छ। 

टायलको मूल्य ब्राण्ड र स्तरअनुसार प्रति वर्गफीट १५० रुपैयाँदेखि सुरु हुने बिक्रेताहरुले बताएका छन्। घर निर्माणलाई आवश्यक पर्ने ग्रेनाइटको ठूलो हिस्सा भारतबाटै आयात हुने गरेको छ। नेपाली घरहरुमा प्रयोग भइरहेको ग्रेनाइटको मूल्य अहिले प्रति वर्गफीट दुई सयदेखि आठ सय रुपैयाँ बताइएको छ। टायल र ग्रेनाइटको मूल्यमा पनि खासै परिवर्तन नआएको बिक्रेताहरुको भनाइ छ।  

घर बनाउन कति लाग्छ निर्माण सामाग्री र खर्च?
आजको दिनमा निर्माण सामाग्रीहरुको मूल्यअनुसार काठमाडौंमा चार आना जग्गामा २५ सय वर्गफीटको २.५ तले घर बनाउन एक करोड रुपैयाँ हाराहारी लाग्ने सिभिल इन्जिनियर बिपिन गैरेले जानकारी दिए।

'घर निर्माण गर्ने व्यक्तिहरुले निर्माण सामाग्रीमा कुनै सम्झौता नगरी यो स्तरको घर बनाउन एक करोड ठिक्क हो,' गैरेले भने।
उल्लेखित स्तरको घर निर्माण गर्न १५ टन (१५ हजार किलो) डन्डी आवश्यक पर्ने गैरेले जानकारी दिए। एक हजारदेखि १२ सय बोरा सिमेन्ट चाहिने उनले बताए। 

६० देखि ७० हजार इँट्टा साढे दुई तला घर निर्माणलाई चाहिने बताइएको छ। घर निर्माणमा १० टिपर गिट्टी र बालुवा आवश्यक पर्ने गैरेले जानकारी दिए।

यस्तै, घर प्लास्टर गर्न झण्डै पाँच लाख रुपैयाँ लाग्ने उनले बताए। कोरा मसिनो गर्न अर्को तीन लाख रुपैयाँ लाग्छ। चौकोस करिब दुई लाख, रङका लागि चार लाख, टायल र मार्बलका लागि १० देखि १५ लाख रुपैयाँ लाग्ने गैरेले जानकारी दिए।

झ्याल अल्मुनियम प्रयोग गर्ने भए चारदेखि पाँच लाख वा युपीभीसी भए करिब आठ लाख रुपैयाँ  पर्ने गैरेले बताए। विद्युतीय कामका लागि पाँच लाख रुपैयाँ, ट्वाइलेट/बाथरुमका लागि थप १० लाख रुपैयाँ पर्ने उनले जानकारी दिए। त्यसैगरी, ग्रिल रेलिङ (आइरन वर्क) तीनदेखि चार लाख रुपैयाँलगायतका खर्च समेटिने बताइएको छ। यो मूल्यमा ज्याला भने अतिरिक्त लाग्ने गैरेले बताए।