यतीका पाँच जेटस्ट्रिम जहाज गुणलाई हस्तान्तरण, गुणले दसैंसम्ममा सात जहाज संचालनमा ल्याउने

बिजमाण्डू
२०७८ असार २४ गते १७:२५ | Jul 8, 2021
यतीका पाँच जेटस्ट्रिम जहाज गुणलाई हस्तान्तरण, गुणले दसैंसम्ममा सात जहाज संचालनमा ल्याउने

काठमाडौं। यती एयरलाइन्सले आफूसँग भएका पाँचवटा जेटस्ट्रिम जहाज गुण एयरलाइन्सलाई हस्तान्तरण गरेको छ। बिहीबार यती समूहका कार्यकारी अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई पाँचवटै जेटस्ट्रिम सिरिजका जहाज हस्तान्तरण पत्र दिएका हुन्।

Tata
GBIME
Nepal Life

पर्यटन मन्त्रालयबाट उडान संख्या विस्तारको अनुमति पाएसँगै गुणले यतीको पाँचवटा जेटिस्ट्रिम जहाज खरिद गरेको हो। पाँचैवटा जहाजमार्फत नियमित उडान संचालनका लागि गुण यतिखेर नागरिक उड्डयन प्राधिकरणको एओसी प्रक्रियामा रहेको प्राधिकरणको हवाई सुरक्षा विभागले जानकारी दिएको छ। विभागका अनुसार, पाँच चरणको प्रक्रियामध्ये यतिखेर जहाजको परीक्षण भइरहेको छ।   

गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यले एक अर्ब लगानी गरेर गुण एयरलाइन्सलाई ब्युँत्याएका हुन्। प्राधिकरणबाट एओसी पाएसँगै कम्पनीसँग हाल भएका दुई बिचक्राफ्टसहित सातवटा जहाज हुनेछन्। 

यतीबाट लिएका पाँचसहित सातवटै जहाज आउँदो दसैंसम्ममा संचालनमा ल्याइसक्ने गुणका अध्यक्ष शाक्यले बताए। 'हामीले आज प्राप्त गरेका पाँचवटै जहाजको रंगरोगनको काम अब तीव्र गतिमा अघि बढाएर अहिले हामीसँग भएका दुईसहित सबै जहाज दसैंसम्ममा संचालनमा ल्याइसक्छौं,' उनले भने।

कम्पनीले दुई वर्षभित्र नौवटा जहाजमार्फत सेवा दिने व्यवसायिक योजना बनाएको छ। साथै, निकट भविष्यमै दुईवटा ट्विनअटर सिरिजका जहाज थप्ने योजना गुणको छ।

हाल करिब एक सयजना जनशक्ति कार्यरत कम्पनीले पाँच जहाज थपिएसँगै थप डेढ सय जनाभन्दा बढी कर्मचारी भर्ना गर्ने तयारी गरेको छ।

जेटस्ट्रिम जहाज सञ्चालनका लागि कम्पनीले यतीमै कार्यरत पाइलट, प्राविधिक परिचालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

जहाज संख्या विस्तार गरिएसँगै गुणले धनगढीबाहेक सिमरा, भरतपुर, जनकपुर, भद्रपुर, बिराटनगर, नेपालगन्ज, तुम्लिङटार लगायतका विभिन्न गन्तव्यमा उडान सेवा विस्तार गर्नेछ। यसअघि कम्पनीले दुई बिचक्राफ्टमार्फत पोखरा, भरतपुर, भैरहवा र माउन्टेन फ्लाइट लगायतका सेवा दिँदै आएको थियो।