
काठमाडौं। गत मंगलबार अन्तिम समयमा नेपाल इन्स्योरेन्सको सेयर एकैचोटी करिब १२ प्रतिशतले घटेर कारोबार भएपछि यसले आम लगानीकर्ताबीच ठूलै खैलाबैला भयो।
अनौपचारिक फोरमहरुबाट शुरु भएको उक्त कारोबारको चर्चाले यस किसिमको किनबेचबारे लगानीकर्ताको प्रष्टता र नियामकीय भूमिकामाथि मुख्यगरी दुई किसिमको प्रश्न छोड्यो।
पहिलो – अन्तिम कारोबार मूल्यभन्दा एकैपटक दुई प्रतिशतभन्दा धेरैले घटबढ हुनु वैध हो या अवैध?
दोस्रो – त्यसरी कारोबार हुनु वैध हो भने नेप्सेको कारोबार प्रणालीमा यसलाई सेयर बजारमा चलखेलको छिद्रका रुपमा किन छोडियो?
यी प्रश्न अहिले लगानीकर्ताका गुनासो र ध्यानाकर्षणका रूपमा सेयर बजार संचालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) देखि नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) सम्म पुगेको छ।
बुधबारयता नेप्सेले धितोपत्र दलाल (सेयर ब्रोकर) लगायतका केही सरोकारवालासँग त्यस किसिमको कारोबारका लागि स्पेस छोड्ने/नछोड्ने वा कतिसम्म उचित हो भन्नेबारे अनौपचारिक परामर्श पनि गरेको बुझिएको छ।
सेबोनमा पनि सो कारोबारको छानबिनका लागि आएको गुनासो सुपरिवेक्षण विभागले हेरिरहेको छ। सेबोनले उक्त कारोबार गराउने दलाल कम्पनी (नासा सेक्युरिटिज्) लाई प्रष्टीकरणका लागि पत्र काट्ने तयारी गरेको स्रोतको भनाइ छ।
सेबोनका उपकार्यकारी निर्देशक तथा सुपरिवेक्षण विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठले भने नेपाल इन्स्योरेन्सको उक्त कारोबारपछि आएका गुनासालाई ध्यानपूर्वक हेरेको मात्र बताए ।
अहिलेको कारोबार प्रणाली 'ट्रेड म्यानेजमेन्ट सिस्टम' (टीएमएस) ले मूल्य १२ प्रतिशतले घटाएर राखिएको बिक्री आदेशलाई स्वचालित रूपमा 'म्याचिङ' गराएकाले धितोपत्र दलाल कम्पनीलाई यसमा कारबाहीको गुन्जायस देखिँदैन, यदि त्यो कारोबार 'अवैध' थियो भन्ने हुँदा पनि । तर त्यसभन्दा अघि, नेपालमा अपनाइएको कारोबार प्रणालीले नै यस किसिमको कारोबारको ढोका खुला राखेकाले त्यो 'अवैध' देखिँदैन।
'बढाउन र घटाउन खोज्ने दुइटा साँढेको जुधाई थियो। सुरुमा बढाउनले बढाएर देखाइदियो, घटाउन खोजेकोले पनि म चाहिँ के कम भनेर अन्तिममा घटाएर देखाइदियो, बजारमा भिडन्त स्वाभाविक हो । यो प्रणालीले नै दिएको म्याचिङ रेन्जको सुविधाभित्र रहेर भएको कारोबार हो, जानेकाले त्यसलाई प्रयोग गरे।'
—
खासगरी आम लगानीकर्ताहरुबाट उब्जिएका माथिका दुई प्रश्नमध्ये पहिलो 'कारोबारमाथिको वैधता'लाई नेप्सेको टीएमएसले नै छुट दिएको छ। धितोपत्र किनबेचका लागि टीएमएसमा भएका दुईवटा विकल्प – 'लिमिट अर्डर र 'मार्केट अर्डर', का कारण १२ प्रतिशत मात्र होइन एकैचोटी त्योभन्दा पनि बढीले घटबढ भएर कारोबार हुन सक्ने स्पेस रहेको देखिन्छ।
यो 'कसरी' हुन्छ भन्ने प्रष्ट हुन थोरै विस्तृतमा हेरौं-
नेप्सेको विद्यमान प्रणालीअनुसार अहिले सेयर किनबेचका लागि टीएमएसमा 'लिमिट अर्डर' र 'मार्केट अर्डर' गरी दुई किसिमबाट कारोबार आदेश राख्न सकिन्छ। यसरी आदेश दिँदा पनि पनि जीटीसी (गुड टिल क्यासिल्ड) वा जीटीडी (गुड टिल डेट) अनुसार धितोपत्र कारोबार आदेश दर्ता गर्न सकिन्छ । जीटीसी (गुड टिल क्यासिल्ड) अर्डरमा १५ दिनभित्रमा रद्द नगरेसम्म आदेश कायमै रहन्छ भने जीटीडी (गुड टिल डेट) तोकिएको मिति वा समयसम्म कारोबार आदेश सक्रिय हुन्छ।
लिमिट अर्डरमा आफूले चाहेको परिमाणसँगै मूल्य (दर) समेत राखेर किनबेच आदेश राखिन्छ, जुन टीएमएसमा आउने 'बाइ डिफल्ट' विकल्प हो। यसअनुसार सेयर खरिद-बिक्री गर्दा अन्तिम कारोबार मूल्यभन्दा २ प्रतिशत बढीको अन्तरमा आदेश राख्न मिल्दैन।
अर्को विकल्प हो – मार्केट अर्डर। यसअनुसार धितोपत्र खरिद वा बिक्री गर्दा 'मार्केट' टिक गर्नेबित्तिकै 'परिमाण' मात्र राख्ने विकल्प आउँछ, 'दर' राख्ने ठाउँ हुँदैन। यसको अर्थ, किनबेच गर्ने सेयरको मूल्यको निर्णय बजारलाई खुला छोडिनु हो। किनबेच गर्न चाहेको परिमाण बजारमा उपलब्ध भएको अवस्थामा कारोबार भइरहेकै (बजार) मूल्यमा प्रणालीले स्वचालित रुपमा 'ट्रेड म्याच' गरेर कारोबार गरिदिन्छ।
यी दुई कारोबार विकल्पबाट राखिएको किनबेच आदेश एक आपसमा मिल्दा कुनै पनि कम्पनीको कारोबार एकैचोटी १८.१८ प्रतिशतसम्मले घटेर र २२.२२ प्रतिशतसम्म बढेर म्याच हुन सम्भव रहेको देखिन्छ। मंगलबार नेपाल इन्स्योरेन्सको अन्तिम कारोबार पनि त्यही अनुसार भएको बुझिन्छ।
धितोपत्र कारोबार संचालन विनियमावली, २०७५ को नियम १२ (मूल्य निर्धारण) र १७ (सर्किट ब्रेकर) मा भएको व्यवस्था बमोजिम कुनै पनि कम्पनीको कारोबार उक्त दिन नियमित सत्रका लागि कायम मूल्यभन्दा १० प्रतिशतसम्म बढी वा घटीसम्मले हुन सक्छ।
उदाहरणका लागिः अघिल्लो दिन अन्तिम कारोबार मूल्यका आधारमा प्रारम्भिक सत्र हुँदै नियमित सत्रका लागि सय रुपैयाँमा कायम भएको सेयरको मूल्य आज १० प्रतिशतले घटबढ हुँदा ९० रुपैयाँसम्म झर्न र ११० रुपैयाँसम्म चढ्न सक्छ, अहिलेको सर्किट लिमिटको व्यवस्था अनुसार।
यस्तोमा १० प्रतिशतले बढेर ११० रुपैयाँ पुगिसेको सेयर त्योभन्दा अझ बढी मूल्य बढ्छ भन्ने अनुमानमा कुनै बिक्रेताले बढेर आएको कुनै पनि मूल्यमा बेच्ने सोचले जीटीसी वा जीटीडी अनुसार 'मार्केट अर्डर' मा आदेश राख्छ भने खरिदकर्ताले सम्बन्धित दिनको सर्किट लिमिट दरभित्र हुनेगरी हालेको कुनैपनि 'लिमिट अर्डर' खरिद आदेशसँग म्याच हुन सक्छ।
मानौं, कम्पनीको सेयर मूल्य सयबाट १० प्रतिशतले घटेर ९० रुपैयाँ हाराहारीमा झरेको बेला कसैले सो मूल्यमा किन्नेगरी ५० कित्ताको खरिद आदेश हाल्यो, तर बिक्रेताले त्यतिमा बेच्नेगरी अर्डर हालेन, त्यसपछि विस्तारै उक्त कम्पनीको मूल्य फेरि बढ्दै ११० रुपैयाँसम्म पुग्यो। अब त्यति मूल्य पुग्दासम्म ९० रुपैयाँभन्दा बढीमा आदेश हाल्नेबाहेक अरु खरिदकर्ताको सँग बिक्री आदेश म्याच हुँदै गयो र लिमिट अर्डरमा बिक्री गर्न खोज्ने नहुँदा मार्केट डेप्थको बिक्री साइड खालि भयो। तर खरिद साइडमा भने मूल्य घटेर ९० रुपैयाँ दरको आदेश दिने खरिदकर्ताको आदेश यथावत नै छ।
अब, त्यस्तो अवस्थामा कसैले बजार मूल्यमा बेच्नेगरी 'मार्केट अर्डर' अप्सनमा ५० कित्ताकै बिक्री आदेश हाल्यो भने उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ११० रुपैयाँ पुगेको (सर्किट ब्रेकर लागेको) हुँदा पनि ९० रुपैयाँमा किन्ने गरी हालेको लिमिट अर्डर र पाएको बजार मूल्यमा बेच्नेगरी हालेको मार्केट अर्डर म्याच हुन्छ। अर्थात्, ११० रुपैयाँमा पुगेर बसेको सेयरको मूल्य दैनिक सर्किट लिमिटभित्र हुनेगरी एकैचोटी २० रुपैयाँ (११० को १८.१८%) सम्मले घटेर पनि किनबेच हुन सक्छ।
यहीअनुसार, १०० रुपैयाँबाट घटेर ९० रुपैयाँमा झरेको सेयर पनि दैनिक सर्किट लिमिटभित्र पर्नेगरी एकैचोटी २० रुपैयाँ (९० रुपैयाँको २२.२२%) सम्मले बढेर ११० रुपैयाँसम्ममा बिक्री हुन सक्छ। मूल्य बढ्दै गएको अवस्थामा ११० रुपैयाँ पाए बेच्नेगरि हालेको लिमिट अर्डर घटेर ९० रुपैयाँमा आइपुगेको बेला हालेको मार्केट अर्डरसँग म्याच हुँदा त्यस्तो अवस्था बन्छ।
मंगलबार नेपाल इन्स्योरेन्स (एनआईसीएल) को सेयरको अन्तिम कारोबार पनि यही अनुसार ११४२ रुपैयाँको दरमा ५० कित्ता खरिदका लागि हालेको लिमिट अर्डरसँग सेयर मूल्य १२९४ रुपैयाँ पुगेको बेला हालेको ५० कित्ताकै मार्केट अर्डरसँग म्याच हुँदा एकैचोटी करिब १२ प्रतिशतले घटेर हुन गएको देखिन्छ।
उक्त दिन एनआइसीएलको सुरु मूल्य ११७७ रुपैयाँ मूल्य कायम भएको थियो। अर्थात् उक्त दरबाट बढीमा (११७७+१०%) १२९४ रुपैयाँ र घटीमा (११७७-१०%) १०६० रुपैयाँसम्ममा यस कम्पनीको सेयर कारोबार हुन सक्थ्यो। त्यसबीच यसको मूल्य ११३९ रुपैयाँसम्म झरेको थियो। सोही क्रममा ११४२ रुपैयाँको दरले किन्ने गरि २५ नम्बर ब्रोकर (स्वेता सेक्युरिटिज्) मार्फत् ५० कित्ता खरिद आदेश (लिमिट अर्डर) पर्यो।
तर पछि मूल्य बढ्दै जाँदा ११४२ रुपैयाँमा कारोबार म्याच नभइ त्यो आदेश त्यसै बाँकी रहिरह्यो भने मूल्य १२९४ रुपैयाँ पुगेपछि बिक्रेता भएन। सोहीबेला मार्केट अर्डरमा ५० कित्ता बिक्री गर्ने गरि ५८ नम्बर ब्रोकर (नासा सेक्युरिटिज्) मार्फत् टीएमएसमा आदेश हालियो। र, त्यो म्याच भयो ११४२ रुपैयाँमा लिमिट अर्डर हालेर ५० कित्ता किन्न पर्खिरहेको आदेशसँग।
उक्त कारोबार 'म्याचिङ'ले नेपाल इन्स्योरेन्सको सेयर मूल्य एकैचोटी प्रतिकित्ता १५२ रुपैयाँ (११.७५%) ले घट्दा कम्पनीमा ४९ प्रतिशत स्वामित्व रहेका साधारण सेयरधनीले ६० लाख ८७ हजार चार सय ५९ कित्ता सेयरबाट कुल ९२ करोड ५३ लाख रुपैयाँ गुमाएका थिए।
तर यदि कुनै खरिदकर्ताले ११४२ रुपैयाँ मात्र नभएर उक्त दिनको अधिकतम ऋणात्मक सर्किट लिमिट १०६० रुपैयाँ (११७७-१०%) मा खरिद आदेश राखेको हुन्थ्यो भने १२९४ बाट एकैचोटी घटेर ११६० कै दरमा पनि त्यो कारोबार म्चाचिङ हुन सक्थ्यो। त्यो अवस्थामा ११.७४% मात्र नभएर नेपाल इन्स्योरेन्सको सेयर मूल्य एउटै कारोबारबाट १८.१८% (२३४ रुपैयाँ) ले खस्न सक्थ्यो।
एनआइसीएलको मंगलबारको उक्त अन्तिम कारोबारलाई केही ब्रोकरले मूल्य बढाउन र घटाउन चाहनेको लडाइँको नतिजा समेत भनेका छन्। 'बढाउन र घटाउन खोज्ने दुइटा साँढेको जुधाई थियो। सुरुमा बढाउनले बढाएर देखाइदियो, घटाउन खोजेकोले पनि म चाहिँ के कम भनेर अन्तिममा घटाएर देखाइदियो, बजारमा भिडन्त स्वाभाविक हो,' एक ब्रोकर भन्छन्, 'यो प्रणालीले नै दिएको म्याचिङ रेन्जको सुविधाभित्र रहेर भएको कारोबार हो, जानेकाले त्यसलाई प्रयोग गरे।'
'मार्केट अर्डर' को विकल्प नै नराखे हुन्न?
गत मंगलबार नेपाल इन्स्योरेन्सको अन्तिम कारोबारबाट ठूलो अन्तरले मूल्य घट्दा करोडौं रकम गुमेपछि लगानीकर्ताहरुले अहिलेको सर्किट ब्रेकरको रेन्जभित्र पर्ने 'मार्केट अर्डर' ले सेयर बजारलाई अस्थिर बनाउनेगरि चलखेलको छिद्र छोडेको टिप्पणी समेत गरेका छन्। कतिपय लगानीकर्ताहरुलाई अहिले झसङ्ग पारेको मार्केट अर्डरको विकल्प नेप्सेले खुला राखेको भने नौलो होइन।
मार्केट अर्डरले पुँजीबजारका कुनैपनि लगानीकर्तालाई आफूले चाहेको बखत तत्काल बजारबाट बाहिरिने सुविधा प्रदान गर्छ । यसकारण 'मार्केट अर्डर' को सुविधा पुँजीबजारका लागि अनिवार्य मानिन्छ। यसैले नेपालमा मात्र नभएर संसारका प्रायः सबै धितोपत्र बजारले लगानीकर्तालाई 'मार्केट अर्डर' को विकल्प दिएको छ।
—
नेपाल स्टक एक्सचेन्जमा २०६४ सालदेखि खरिद-बिक्री आदेश कम्युटरबाट स्वचालित रुपमा म्चाचिङ गराएर सेयर कारोबार हुन थालेको हो। त्यसयता नै बजार मूल्यमा किनबेच गर्ने गरी 'मार्केट अर्डर' को विकल्प नेपाली पुँजी बजारमा कायम छ।
यसकारण 'लिमिट अर्डर' सँग 'मार्केट अर्डर' म्याचिङबाट कारोबार हुने प्रणाली नेप्सेले कार्यान्वयनमा ल्याएको झन्डै १४ वर्ष भइसकेको छ। २०६४ मा 'सेमि-अटोमेटेड' प्रणाली ल्याउनुअघि भने नेपालमा 'ओपन आउट क्राइ सिस्टम' बाट धितोपत्र किनबेच हुन्थ्यो।
२०७४ कात्तिक २१ बाट पूर्ण स्वचालित प्रणालीमा गएसँगै अहिले हरेक लगानीकर्ताले नेप्सेमा सूचीकृत धितोपत्र इन्टरनेटको पहुँच भएको कुनैपनि ठाउँबाट आफैंले किनबेच गर्न सक्छन्।
ठूलो संख्यामा भएका सेयरलाई समेत सकेसम्म चाँडै कारोबार (हाइली लिक्विड) गराउनका लागि 'मार्केट अर्डर' को 'ट्रेडिङ विन्डो' को अवधारणा बनेको हो।
जस्तैः एक लाख कित्ता सेयर हुनेले कुनै कम्पनीको बारेमा खराब सूचना प्राप्त गर्यो वा वित्तीय सूचकहरुको आधारमा कम्पनीको मूल्य घट्न सक्छ भन्ने उसलाई लाग्यो र तत्काल आफूसँग भएका सबै वा सकेसम्म धेरै सेयर बिक्री गर्न चाह्यो। मानौं त्यो अवस्थामा कम्पनीको ८० हजार कित्ता सेयर खरिदकर्ता मार्केट डेप्थमा देखिएका छन्। अब यो अवस्थामा त्यो एक लाख सेयर बिक्री गर्न चाहनेले अन्तिम कारोबार मूल्यमा २ प्रतिशतको रेन्ज पछ्याउँदै 'लिमिट अर्डर'बाट बेच्न खोज्ने हो भने उसलाई ८० हजार कित्ता बिक्री गर्न नै पनि पूरा दिन लाग्न सक्छ। तर त्यस्तो अवस्थामा उसले 'मार्केट अर्डर' अप्सनबाट ८० हजार कित्ता सेयर बिक्रीको आदेश हाल्यो भने तत्काल कारोबार म्याचिङ भएर त्यो सबै सेयर तुरुन्त बिक्री हुन्छ।
यसरी मार्केट अर्डरले पुँजीबजारका कुनैपनि लगानीकर्तालाई आफूले चाहेको बखत तत्काल बजारबाट बाहिरिने सुविधा प्रदान गर्छ । यसकारण 'मार्केट अर्डर' को सुविधा पुँजीबजारका लागि अनिवार्य मानिन्छ। यसैले नेपालमा मात्र नभएर संसारका प्रायः सबै धितोपत्र बजारले लगानीकर्तालाई 'मार्केट अर्डर' को विकल्प दिएको छ।
सर्किट लिमिटको रेन्जभित्र रहेर पनि नियोजित रुपमा यसरी कारोबार गर्न सक्ने गुन्जायस रहेकाले त्यसले बजारमा अप्रत्यासित जोखिमको सम्भावना भने छोडेको छ। यसैले गत मंगलबार भएको नेपाल इन्स्योरेन्सको उक्त कारोबारपछि लगानीकर्ताहरुको ध्यानाकर्षणपछि नेप्सेले यस विषयमा ब्रोकरलगायतका सरोकारवालाहरुसँग अनौपचारिक छलफल गरेको छ। सेबोनले पनि यस्तो किसिमको कारोबारले बजार तथा लगानीकर्ताका लागि जोखिम निम्त्याउँछ भने १० प्रतिशतको सर्किट लिमिटमा पुनर्विचार गर्नुपर्नेतर्फ अनौपचारिक रुपमा आन्तरिक छलफल गरेको बुझिएको छ।
—
२० प्रतिशतको सर्किट रेन्जले चलखेलको छिद्र छोडेको हो?
नेपाली सेयर बजारका जानकारहरुका अनुसार, खरिद र बिक्री दुवै लिमिट अर्डरमा भएको अवस्थामा जस्तो अन्तिम कारोबारबाट दुई प्रतिशत मात्रको घटबढ सीमाभन्दाबाहिर गएर पनि म्याचिङ कारोबार यसअघि पनि थुप्रैपटक भइसकेका छन्, एनआईसीएलको मंगलबारको कारोबार मात्र पहिलोपटक होइन।
गत बुधबार मात्र पनि जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को सेयर अघिल्लो कारोबार रकमभन्दा करिब चार प्रतिशतले घटेर किनबेच भएको थियो। त्यो पनि मार्केट अर्डर र लिमिट अर्डरकै म्याचिङ कारोबार थियो। त्यसअघि पनि ५ प्रतिशत हाराहारीसम्मका यस्ता कारोबार थुप्रै भएको बजार जानकारहरुको भनाइ छ।
'एनआइसीएलको एक झट्कामा १२ प्रतिशतले घटेकाले मात्र हल्ला भएको हो, बढेको भए कसैले हल्ला गर्दैनथ्यो,' एक ब्रोकर भन्छन्, '४-५ प्रतिशत बढेर त्यस्ता कारोबार त धेरैपटक भएका छन्।'
नेप्सेले व्यवस्था गरेको सर्किट लिमिटअनुसार कायम सुरुआती मूल्यमा दिनभर १० प्रतिशतसम्म बढ्ने वा घट्ने अर्थात् दिनमा २० प्रतिशतसम्मको उतारचढावको स्पेस हुन्छ। १०० रुपैयाँबाट कारोबार सुरु भएको सेयरको मूल्य ९० रुपैयाँसम्म घट्न र ११० सम्म बढ्न पनि सक्ने हुँदा २० रुपैयाँ अर्थात् २० प्रतिशतको सर्किट रेन्ज नेप्सेले दिएको छ।
यही कारण माथिको उदाहरणबाट देखिएअनुसार लिमिट अर्डर र मार्केट अर्डर म्याच हुँदा अन्तिम कारोबार मूल्यबाट एकैचोटी १८.१८ प्रतिशतसम्मले घट्न र २२.२२ प्रतिशतसम्मले बढ्न पनि सक्छ।
यसअघि पोहोर साउन-भदौतिर पनि यसरी नै दुई कम्पनीको सेयर अन्तिम कारोबार मूल्यबाट दुई प्रतिशतभन्दा धेरैको अन्तरले किनबेच भएको एक धितोपत्र दलाल बताउँछन्।
'त्यतिबेला ८ प्रतिशत हाराहारीले बढाएर दुई कम्पनीको सेयर कारोबार भएको थियो । तर बढेको भएर कसैले केही भनेन, अहिले अलिक बढी घटेर कारोबार भएकाले हल्ला भएको हो,' उनी भन्छन्, 'अधिकांश लगानीकर्तालाई यसरी कारोबार हुन टीएमएसले नै छुट दिएको छ भन्ने थाहै छैन। म दाबाका साथ भन्न सक्छु कतिपय ब्रोकरले समेत यस्तो कारोबार कसरी हुन्छ भन्ने बुझेका छैनन्।'
उक्त कारोबारपछि ब्रोकरहरुको समूह नै गएर नेप्सेका कार्यकारी प्रमुखसँग रेन्जभन्दा बाहिर गएर भएको त्यस किसिमको कारोबारको वैधता, औचित्य लगायतका विषयमा छलफल गरेको थियो। नेप्सेले भने 'मार्केट अर्डर' म्याचिङ सर्किट रेन्जभित्रै हुने भएकाले यो जायज रहेको बताएको थियो।
यद्यपि, सर्किट लिमिटको रेन्जभित्र रहेर पनि नियोजित रुपमा यसरी कारोबार गर्न सक्ने गुन्जायस रहेकाले त्यसले बजारमा अप्रत्यासित जोखिमको सम्भावना भने छोडेको छ।
यसैले गत मंगलबार भएको नेपाल इन्स्योरेन्सको उक्त कारोबारपछि लगानीकर्ताहरुको ध्यानाकर्षणपछि नेप्सेले यस विषयमा ब्रोकरलगायतका सरोकारवालाहरुसँग अनौपचारिक छलफल गरेको छ।
सेबोनले पनि यस्तो किसिमको कारोबारले बजार तथा लगानीकर्ताका लागि जोखिम निम्त्याउँछ भने १० प्रतिशतको सर्किट लिमिटमा पुनर्विचार गर्नुपर्नेतर्फ अनौपचारिक रुपमा आन्तरिक छलफल गरेको बुझिएको छ।
सर्किट लिमिट तोक्ने अधिकार नेप्सेलाई छ। नेप्सेले हाल १० प्रतिशत रहेको सर्किट लिमिटलाई परिवर्तन गर्न चाहे यसमा निर्णय गरेर सेबोनलाई जानकारी गराउनुपर्ने हुन्छ। यसकारण हाल दिनभरमा सेयर मूल्यमा उतारचढाव हुनसक्ने २० प्रतिशतको सर्किट रेन्जले चलखेलको छिद्र छोडेको हो भने अध्ययन गरेर नेप्सेले त्यसमा पुनर्विचार गर्न सक्छ।
किनकि, संसारका विभिन्न देशमा पुँजीबजारको आकार, सूचीकृत कम्पनीहरुको संख्या तथा क्षेत्रगत विविधिकरण, लगानीकर्ताहरुको संख्या इत्यादिलाई हेरेर बजारको दैनिक कारोबार सन्तुलनका लागि फरक फरक सर्किट लिमिट तोकिएको छ।