सेयर झिनो अंकले बढ्दा कारोबार रकम भने फराकिलो अन्तरले घट्यो, १० कम्पनीको १०%ले मूल्य बढ्यो

बिजमाण्डू
२०७८ बैशाख २१ गते १५:१९ | May 4, 2021
सेयर झिनो अंकले बढ्दा कारोबार रकम भने फराकिलो अन्तरले घट्यो, १० कम्पनीको १०%ले मूल्य बढ्यो


Tata
GBIME
Nepal Life

काठमाडौं। मंगलबार सेयर बजार झिनो अंकले बढेपनि कारोबार रकम भने फराकिलो अन्तरले घटेको छ। कारोबारमा आएका मध्ये करिब १० कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढेपनि सेयर बजार भने एक अंक मात्रै बढेको छ।

समता घरेलु लघुवित्त, महिला लघुवित्त, विशाल बजार कम्पनी, सपोर्ट लघुवित्त, राधि जलविद्युत, रुरु जलविद्युत, सिगटी हाइड्रो, युनाइटेड मोदी हाइड्रो र पञ्चकन्या माइ हाइड्रो पावरको सेयर मूल्य करिब १०/१० प्रतिशतले बढेको छ। युनिभर्सल पावर कम्पनीको सेयर मूल्य समेत करिब ९ प्रतिशतले बढेको छ।

कारोबारमा आएका कम्पनी मध्ये १०० भन्दा धेरै कम्पनीको सेयर मूल्य बढेको छ। तर नेप्से परिसूचक भने १.९४ अंक मात्रै बढेर २६५४ बिन्दुमा पुगेको छ। नेप्से सूचक झिनो अंकले बढेपनि कारोबार रकम भने फराकिलो अंकले घटेको छ।

आइतबार र सोमबार लगातार साढे सात अर्ब बढीको सेयर किनबेच भएकोमा मंगलबार भने ६ अर्ब रुपैयाँको मात्रै सेयर किनबेच भएको छ। अघिल्लो दुई दिनको तुलनामा करिब डेढ अर्ब रुपैयाँ कमको कारोबार भएको छ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सर्वाधिक २३ करोड रुपैयाँको सेयर किनबेच हुँदा अरुण काबेली पावरको करिब २१ करोड ८३ लाख, ग्रामिण विकास लघुवित्तको करिब १६ करोड ९० लाख, निफ्राको १६ करोड ४८ लाख र अपि पावरको १४ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

अधिकांस उपसमूह रातो भएको बजारमा जीवन बीमा समूह ६५ अंक र निर्जीवन बीमा समूह ३६ अंकले घटेका छन्। लघुवित्त समूह १३७ अंक र व्यापार समूह ९३ अंकले बढेका छन्।

२१३ कम्पनीको एक करोड ३० लाख कित्ता सेयर ६ अर्ब ५ करोड रुपैयाँमा किनबेच भएका छन्। ६८ हजार पटक सेयर किनबेच भएको छ।