
काठमाडौं। पर्वतीय उडान (माउन्टेन फ्लाइट) को माग बढेपछि बुद्ध र यती एयरलाइन्सले यसको भाडादर पनि बढाएका छन् । दुवै कम्पनीले एक हजार एक सय रुपैयाँले पर्वतीय उडानको भाडा बढाएका हुन्।
यस्तै, यात्रु चाप बढेसँगै उडान संख्या पनि बढाउने योजना वायुसेवा कम्पनीले बनाएका छन्।
बुद्ध र यती दुवैले माउन्टेन फ्लाइटमा एउटा टिकट किन्दा अर्को सित्तैमा पाइने योजना सार्वजनिक गरेका थिए । बुद्धले यसअघि यस उडानको भाडादर आठ हजार आठ सय ९९ रुपैयाँ तोकेकोमा हाल यसलाई नौ हजार नौ सय ९९ रुपैयाँ बनाएको छ ।
यसअघि आठ हजार आठ सय ४८ रुपैयाँ भाडादर निर्धारण गरेको यतीले पनि यसलाई अहिले नौ हजार नौ सय ४८ रुपैयाँ पुर्याएको छ। यतीका अनुसार यो उडानअन्तर्गत एक यात्रुका लागि भने भाडा आठ हजार आठ सय ४८ रुपैयाँ पर्नेछ ।
साताको दुई दिन पर्वतीय उडान गरिरहेको यती एयरलाइन्सले यात्रुको माग बढेसँगै आउँदो शुक्रबारदेखि भने यो उडान दैनिक गर्न लागेको कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए। 'आकर्षक योजना सार्वजनिक भएसँगै पर्वतीय उडानमा यात्रुको माग बढिरहेको छ। हामीले जनवरी १ देखि प्रत्येक दिन एउटा पर्वतीय उडान गर्ने योजना बनाएका छौं। माग बढेको अवस्थामा दैनिक तीन वटासम्म पर्वतीय उडान गर्ने योजना छ,' उनले भने।
कोभिड-१९ का कारण आठ महिनादेखि बन्द भएको पर्वतीय उडान यती र बुद्धले गत डिसेम्बर ४ देखि पुनः सुरु गरेका थिए।