धमाधम लन्च हुँदै फाइभ जी कम्प्याटिबल मोबाइल फोनहरु, कहिलेबाट चल्छ नेपालमा पनि फाइभ जी?

बिजमाण्डू
२०७७ कात्तिक ७ गते १२:२६ | Oct 23, 2020
धमाधम लन्च हुँदै फाइभ जी कम्प्याटिबल मोबाइल फोनहरु, कहिलेबाट चल्छ नेपालमा पनि फाइभ जी?


Tata
GBIME
Nepal Life

काठमाडौं। आगामी पुस्ताको वायरलेस प्रविधिका रुपमा व्याख्या गरिएको फाइभ जी कम्प्याटिबल फोन उत्पादनमा विश्वका प्रायः चर्चित मोबाइल फोन ब्रान्डहरुको ध्यान केन्द्रित छ । सामसुङ, एप्पल, हुवावे, साओमी, वान प्लस लगायतका मोबाइल फोन उत्पादकहरुले फाइभ जी चल्ने अपर रेन्जका सेटहरु बजारमा ल्याइसकेका छन् ।

यससँगै इन्टरनेट सेवा प्रदायकहरु पनि फाइभ जी इन्टरनेट विस्तारमा लागेका छन्, जसले समग्र मोबाइल नेटवर्कको परिभाषा बदल्ने विश्वास गरिएको छ । 

बेलायतमा सन् २०१९ बाटै फाइभ जीको चर्चा र प्रयोग भइरहे पनि २०२० बाट मात्रै यसको यथार्थ सुरुआत भएको छ। फाइभ जी प्रयोग गर्न मिल्ने मोबाइल सेट र नेटवर्क विस्तारले सन् २०२० देखि नै यसको प्रयोग बढ्दै जाने देखिएको छ । 

फाइभ जीले अघिल्लो फोरजीकै मोबाइल प्रविधिलाई पछ्याएको छ। वान जीमा मोबाइलबाट फोन कल मात्रै र टु जीमा टेक्स्ट र तस्विर एसएमएस गर्न मिल्थ्यो। थ्री जीले स्मार्टफोनलाई स्थापित गरायो जसमा फोन मै इन्टरनेट प्रयोग गर्न मिल्ने प्रविधि विस्तार भयो। थ्री जिलाई पछ्याउँदै फोर जीमा तीब्र गतिको इन्टरनेट ब्राउजिङ र डाउनलोड क्षमतासँगै मोबाइल फोनमै गीत र चलचित्रको अनलाइन स्ट्रिमिङको सुविधा विकास भएको थियो।      

फाइभ जीमा यसअघिका प्रविधिहरु भन्दा अझै तीब्र गतिको इन्टरनेट हुनेछ। फाइभ जीका आविष्कारकहरु यसलाई ‘सम्भावनाको संसार’भन्न रुचाउँछन्।  

फाइभ जीमा के गर्न मिल्छ?
फाइभ जीको प्रयोगले हाम्रो स्मार्टफोनहरुले अझै छिटो र कम समयमा कनेक्टिभिटीमा कुनै समस्या वा बफरिङ नभइ चल्ने छन्। 

फोर जीमा इन्टरनेटको ‌औसत गति २० देखि ३० एमबीपीएस पाउन सकिन्छ। तर, फाइभ जीमा इन्टरनेटको गति छदेखि आठ गुणासम्म बढ्छ। फाइभ जीमा इन्टरनेटको गति एक सय ३० देखि दुई सय ४० एमबीपीएस हाराहारी पुग्छ। मोबाइल नेटवर्क साथै अन्य पूर्वाधारलाई सुधार गर्दा इन्टरनेटको गति अझै बढ्न सक्छ।

फाइभ जीको प्रयोग गर्दा एउटा चलचित्र केही सेकेन्ड भित्रै डाउनलोड गर्न सकिन्छ। मोबाइल गेमरहरुका लागि फाइभ जी अहिलेसम्मको सबैभन्दा उपयुक्त प्रविधि बन्न सक्छ। किनभने गेम ल्याग र पिङ उच्च हुने समस्या फाइभ जीमा कमै हुन्छ। यस्तै गेम प्ले पनि स्मुथ हुन्छ। गेमरले कन्ट्रोलरको कुनै पनि बटन थिच्दा कुनै प्रकारको डिले नभइ स्क्रिनमा तुरुन्तै प्रभाव देख्न सकिन्छ।    

इन्टरनेटको गति रफ्तारमा बढेसँगै फाइभ जीको प्रयोगले थोरै क्षेत्रमा रहेका हजारौं डिभाइस एकै समयमा कनेक्ट गर्न सक्ने क्षमता राख्छ। यस किसिमको क्षमताले ठूला जमघट वा कुनै समारोहमा इन्टरनेट पहुँच पुर्याउन सहज हुन्छ। 

फाइभ जी प्रयोगले ‘इन्टरनेट अफ थिङ्ग्स्’ भन्ने भनाइलाई वास्तविकतामा परिणत गराउन सक्नेछ। इन्टरनेट अफ थिङ्ग्ससम्बन्धि विचारले लाखौं संख्याका भौतिक डिभाइसहरु (स्मार्टफोन, वेरेबल टेक, चालकविना चल्ने स्वचालित गाडीदेखि ड्रोनसम्म) फाइभ जी नेटवर्कमा कनेक्ट भइ रियल टाइममा सूचना आदानप्रदान गर्न सक्ने क्षमता राख्छ। 

कसरी काम गर्छ फाइभ जीले ? 
आधारभूतस्तरमा फाइभ जी, थ्री जी वा फोर जीकै शैलीमा काम गर्छ। मोबाइल मस्ट्सको प्रयोगबाट जब अरु डिभाइसहरुमा डेटा पठाउन अनुमति दिन्छ त्यही मस्ट्सको प्रयोगबाट रेडियो फ्रिक्वेन्सी तपाईंको स्मार्ट फोनसम्म आइपुग्छ ।  

तर, फाइभ जीले थ्री जी वा फोर जीभन्दा उच्च फ्रिक्वेन्सी स्पेक्ट्रम खपत गर्छ। जति फ्रिक्वेन्सी बढ्दै जान्छ त्यतिनै कम दूरीमा यसको पहुँच हुन्छ। जसकारण फाइभ जीमा अत्याधिक मात्रामा ‘स्मल सेल्स’ आवश्यक पर्छ। साना पूर्वाधारहरुको प्रयोगले मस्ट्सहरुबीचको ग्याप भर्नुपर्ने हुन्छ।  

हरेक समय नेटवर्क विस्तार र विकास हुँदा नयाँ पूर्वाधार निर्माण भइरहेका हुन्छन्। जुन समयमा ठूला मास्ट्सहरु बनिरहेको देख्न सकिन्छ साथै यसका अन्य भागहरु भने बढी डिस्कृट हुन्छन्। 

फाइभ जीले अरु प्रविधि पनि उपयोग गर्न सक्छ। जस्तै मीमो (मल्टिपल इन्पुट मल्टिपल आउटपुट) को प्रयोग पनि गरिन्छ। यसको काम गर्ने शैली भनेको यो वायरलेस नेटवर्क हो जसले एकभन्दा बढी डेटा सिग्नल एउटै रेडियो च्यानलबाट सँगै पठाउन र प्राप्त गर्न सक्छ। 

कसरी प्रयोग गर्न सकिन्छ?
फाइभ जीको प्रयोग गर्न मुख्य तीन कुराहरु चाहिन्छ :
•    फाइभ जीसहितको मोबाइल सेट
•    दूरसञ्चार सेवा प्रदायकबाट फाइभ जी सेवा
•    फाइभ जीको पहुँच पुगेको क्षेत्र

फाइभ जी सपोर्ट गर्ने मोबाइल सेटहरु
एप्पलले भर्खरै लञ्च गरेको आइफोन १२ का चार वटै मोबाइलमा फाइभ जी चल्छ। सामसङको एस२० र सामसङ ग्यालेक्सी २० रेञ्जहरु र ग्यालेक्सी जेड फोल्ड २ मा फाइभ जी सुविधा राखिएको छ। यस्तै, हुवावेको मेट २० एक्स र पि ४० रेन्जका फोनहरुमा फाइभ जी चल्छ। वान प्लसको एट प्रो, एट टी र नोर्डलगायतका सेटमा फाइभ जी कम्प्याटिबल बनाइएको छ।   

यस्तै, साओमीको एमआई १०, एमआई १० लाइट र एमआई मिक्स् ३ मा पनि फाइभ जी चल्छन्। मोबाइल फोन निर्माता नोकिया, सोनी, एलजी, मोटोरोलालगायतका कम्पनीहरुले केही फाइभ जी सेटहरु विश्वका विभिन्न देशहरुमा लञ्च गरिसकेका छन्। 

बेलायतमा इइ, ओटु, भोडाफोन, थ्री र मोबाइल भर्चुअल नेटवर्क अपरेटर गरी पाँच दूरसञ्चार सेवा प्रदायकहरुले फाइभ जी सेवा दिइरहेका छन्। 
यी सेवा प्रदायकहरुले बेलायतको लन्डन, म्यानचेस्टर, लिड्स, लिभरपुल, बर्मिङगम, ब्रिस्टोल, कार्डिफलगायतका शहरहरुमा फाइभ जी सेवा दिइरहेका छन्। 

नेपालमा के छ फाइभ जीको अवस्था
फोर जीसमेत विस्तारकै क्रममा रहेको नेपालमा पनि फाइभ जीबारे बहस भने सुरु हुन थालेका छन्। केही साता अघि काठमाडौंमा भएको एक छलफल कार्यक्रममा सरकारी स्वामित्वको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले फाइभजी नेपाल भित्र्याउने नीतिगत तयारीमा लाग्नु पर्ने बताएका थिए। 

फाइभ जी रोलआउटको तयारी सुरु गर्नुपर्ने उनको धारणा थियो। फोरजी सेवा देशका अधिकांश भूभागमा केही समय भित्रै पुग्ने भएकाले प्रविधि अपग्रेडेसनको तयारीमा लाग्नुपर्नेमा उनको जोड थियो।

तर, नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण भने फाइभजी भित्र्याउन हतार गर्न नहुने पक्षमा छ। प्रविधि भित्र्याउन मात्रै हतारो नगर्न, फाइभ जी वा कुनै पनि नयाँ प्रविधिबाट हामीले के पाउँछौं भन्ने बहस हुनु आवश्यक रहेको प्राधिकरणका निर्देशक विजयकुमार रोयले भनेका थिए। 

नेपाली बजारमा अरु कुरा भन्दा प्रविधि निकै छिटो भित्रिने गरेको छ तर, उक्त प्रविधिले हाम्रा गतिविधि, कार्यशैली एवम् जीवनशैलीलाई कत्तिको सहज बनाएको छ भन्ने बारे मूल्यांकन हुनुपर्नेमा उनको जोड थियो।