पूर्व तयारीबिनै खाद्यको बिक्री कक्ष, न पर्याप्त खाद्य वस्तु न छनोट सुविधा, उपभोक्ता रित्तै

सरला सुवेदी/बिजमाण्डू
२०७७ असोज १६ गते १२:२३ | Oct 2, 2020
पूर्व तयारीबिनै खाद्यको बिक्री कक्ष, न पर्याप्त खाद्य वस्तु न छनोट सुविधा, उपभोक्ता रित्तै

Tata
GBIME
Nepal Life

काठमाडौं। चाडबाडलाई लक्ष्य गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसलमा सञ्चालनमा ल्याएको छ। तर खोजेको जस्तो पर्याप्त सामान नहुँदा उपभोक्ता खाली हात फर्किएका छन्। 

दसैंतिहार र छठका लागि उपभोक्तालाइ सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउन कम्पनीका बिक्री कक्ष बुधबारदेखि सञ्चालनमा आए। तर उपयुक्त व्यवस्थापनबिनै सञ्चालनमा आएका पसलमा उपभोक्ताका लागि छनोटको सुविधा त छैन नै, भएका खाद्यान्न पनि पर्याप्त छैनन्। यसपटक कर्मचारीले व्यवस्थापनमा ध्यान नदिएको भन्दै उपभोक्ताले दिक्क मानेका छन्।

खाद्य कम्पनीले गत सोमबारदेखि नै सहुलियत पसलका लागि तयारी गरेको भने पनि बिक्री कक्षमा चामलको बोरा र थोरै परिमाणमा दालमात्र राखिएका छन्। कम्पनीले साल्ट ट्रेडिङका उत्पादनहरु ल्याएर सहुलियत बजारमा राख्ने जानकारी गराएको थियो। बिभिन्न खाद्यवस्तुको मूल्यमा छुटको सूची पनि सार्वजनिक गरेको थियो। तर यतिबेला उपभोक्ता आएर चिनी किन्न खोज्दा खाद्यको बिक्रीकक्षमा पाइँदैन, उपभोक्ताले साल्ट ट्रेडिङकै बिक्री कक्ष जानुपर्ने भएको छ।

पहिले भरिभराउ हुने रामशाहपथस्थित बिक्री कक्षमा सहुलियतमा राखिने भनिएका खाद्यान्न कम्पनीले कहिले पठाउँछ भन्ने थाहा नै नभएको संस्थानकी एक कर्मचारीले बताइन। थापाथलीमा रहेको अर्को बिक्री कक्षबाट सामान पठाउने उनले बताइन। 'यहाँ किन्न आएकालाई छैन, थापाथली जानुस् भन्नु परेको छ,' उनले भनिन्।  

भएका केही सामान बिक्री भएपछि पसल खाली देखिएको छ। यसले गर्दा सहुलियत पसलमा पहिलो दिनमै ग्राहक फर्किएका छन्। रन्जित चामल, स्टिम चामल, कर्णालीका सिमी, रहरको दाल र केराउ मात्र राखिएको छ। चामलको परिमाण पनि धेरै छैन। बिक्री कक्षका लागि सामान व्यवस्थापनमा अधिकारीहरू गम्भीर नभएको भन्दै कम्पनीको बिक्रीकक्षकै कर्मचारीहरू पनि निराश छन्। 

कोरोना संक्रमणको त्रासका कारण यसपटक मेला, महोत्सव र दसैंलक्षित बजारको आयोजना गर्न बन्देज छ। निजी क्षेत्रले मेला महोत्सव गर्दा पनि खाद्यले बिगतमा राम्रैगरी सुपथ मूल्य पसल चलाएको थियो। यसपटक अन्त त्यस्तो बजार आयोजना नभएका बेला अझ स्तरीय सेवा सञ्चालन गर्नुपर्ने भए पनि खाद्यका अधिकारीहरूमा त्यो उत्साह देखिएको छैन।

खाद्यको बिक्री कक्षमा बुधबार पुगेकामध्ये धेरैजना उपभोक्ता चिनी किन्नका लागि आएका थिए। गत वर्ष जस्तो एकै ठाउँमा पाइन्छ भनेर भक्तपुरदेखि आएको बताएका अनुप श्रेष्ठ निराश भेटिए। 'खोजेको सामानै छैन। बाहिर चिनी ९० रुपैयाँ छ, यहाँ बेच्न राखेकै होइन,' उनले भने,
'सहुलियत बजारमा ७० रुपैयाँमा पाइन्छ भनेर आएको यहाँबाट साल्ट ट्रेडिङको पसलमा जानुपर्ने बताउँछन्।'  

दसैंका लागि चाहिने सामान एकैचोटी लैजाउँ भनेर आएको चामल मात्र भएकाले खाली फर्कन परेको मनिषा थापाले बताइन। 'पोहोर एउटै बिक्री कक्षमा चाहिने सामान धेरैजसो पाइएको थियो,' उनले भनिन्। 

कम्पनीका अन्य ४ बिक्री कक्ष छन्। सबैको अवस्था उस्तै छ। थापाथलीको बिक्री कक्षबाट पनि केही उपभोक्ता सामान नभएपछि फर्किएका छन्। सरकारले तोकिएका कम्पनीहरुको सहुलियत बजार कहाँ छ भनेर उपभोक्ता नै अन्योलमा परेका छन्।

साल्ट ट्रेडिङमा पाइने सामान यतिबेला खाद्य संस्थानमा राखिएको छैन। लकडाउनको समयमा खाद्यले साल्टबाट पिठो र नुन ल्याएर बिक्री गरिरहेको थियो। तर सहुलियत बजार सुरु भइसक्दा कम्पनीका बिक्री कक्ष खाली देखिएको छ। कम्पनीले  थप नयाँ उत्पादनहरु राख्ने जानकारी दिए पनि सहुलियत बजारमा चामल, दाल, सिमी र घ्यु मात्र  राखिएको छ। खाद्यान्नमा प्रतिकेजी १० रुपैयाँसम्म छुट दिने भनिएको छ तर रोज्न पाउनेगरि सामान नपाइएको गुनासो उपभोक्ताको छ। 

खाद्य कम्पनीका प्रादेशिक प्रमुख रनबहादुर बुढाथोकी बिहीबार थापाथलीबाट उद्घाटन भएकाले एउटा मात्रै बिक्री कक्षका लागि मात्रै तयारी गरिँदा यस्तो भएको बताउँछन्। 'बाँकी ठाउँमा विस्तारै सामान पुग्छन्,' उनले भने, 'हाम्रा बिक्री कक्षबाट पहिले बिक्री भइरहेकै खाद्यान्न उपलब्ध गराउने छौं। यस बाहेकका थप तेल, पिठो र चिनी अलि पछि आउँछ।'

निजी क्षेत्रका बिक्री कक्ष जस्तो हुने नभइ कम्पनीले बेच्ने खाद्य वस्तु सीमित हुने उनले बताए। 'कम्पनीको स्टकमा रहेका सामान बिक्रीसँगै आपूर्ति बढाउँदै लैजान्छौं,' उनले भने।