‘मनि लन्ड्रिङ’ आरोपमा आईसीआईसी बैंककी पूर्वप्रमुख कोचरका श्रीमान् पक्राउ, चन्दा पनि तानिँदै

बिजमाण्डू
२०७७ भदौ २३ गते १६:११ | Sep 8, 2020

Tata
GBIME
Nepal Life

भारतको आईसीआईसीआई बैंककी पूर्व एमडी तथा सिइओ चन्दा कोचरका श्रीमान दीपक कोचर सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका छन्। सोमबार राती पक्राउ परेका दीपकलाई मंगलबार अदालत समक्ष उपस्थित गराइएको थियो।

उनलाई आगामी सेप्टेम्बर १९ सम्म प्रवर्तन निर्देशनालय (इडी)को हिरासतमा राखिएको छ।

चन्दा कोचर, दीपक, भिडियोकोन ग्रुपका अध्यक्ष वेणुगोपाल धुत लगायतलाई डेढ वर्षअघि नै इडीले आईसीआईसीआई बैंकबाट लिएको ऋण लिएर त्यसको गलत प्रयोग गरेको आरोपमा छानबिन सुरु गरेको थियो। आईसीआईसीआई बैंककी तत्कालीन प्रमुख चन्दा कोचरले पनि आफ्नो श्रीमान दीपकलाई सघाउने नियतले ऋण प्रवाहमा साथ दिएको आरोप लागेपछि उनले ३५ वर्ष लामो बैकिङ करियर त्याग्दै राजीनामा दिएकी थिइन्।

चन्दा, दीपक र धुतले भने आफूहरुमाथि लागेको आरोप गलत भएको भन्दै खण्डन गर्दै आएका छन्। उनले छानबिनका क्रममा सोधिएका बिभिन्न प्रश्नको उत्तर नदिएर असहयोग गरेको आरोप लागेको छ। तर दीपकको बचाउ गर्दै उनका वकिल विजय अग्रवालले दीपकको 'मौन रहने अधिकार' रहेको बताए।

आईसीआईसीआई बैंकले भिडियोकोन इन्डस्ट्रिजलाई दिएको ऋण पछि कम्पनीले दीपक कोचरको कम्पनीमा लगानी गरेको पुष्टि भएको थियो। यस विषयमा इडीले दीपकसँग निरन्तर सोधपुछ तथा छानबिन गरिरहेको थियो। यसै क्रममा दीपकका विरुद्ध पर्याप्त प्रमाण जुटेकाले पक्राउ गरेको बताइएको छ।

दीपकलाई भिडियोकोन इन्डस्ट्रिजलाई दिएको ऋणको दूरुपयोगको आरोप लगाइएको छ। बैंकका पूर्व सीइओका श्रीमान दीपकका विरुद्ध सबै प्रमाण भेटिएपछि जाँच एजेन्सीले सोधपुछका लागि उनलाई बोलाएको थियो। सोधपुछका क्रममा उनले धेरै कारोबारहरुका विषयमा बताउन नसकेपछि उनलाई पक्राउ गर्ने निर्णय गरिएको अधिकारीहरुले बताएका छन्।

दीपकको फर्म न्यू पावर रिन्यूएबल्समा सन् २०१० मा भिडियोकोन ग्रुपले ६४ करोड भारु लगानी गरेको थियो। यसकासाथै म्याटिक्स फर्टिलाइजरले पनि ३२५ करोड भारु लगानी गरेको थियो।

भिडियोकोन ग्रुपका अध्यक्ष वेणुगोपाल धुतले दीपक कोचरको फर्ममा करोडौं भारु लगानी गरेका थिए। सन् २०१२ मा भिडियोकोन ग्रुपलाई आईसीआईसी बैंकले ३२५० करोड भारु ऋण प्रवाह गरेको थियो। यो बैंकले कम्पनीलाई दिएको कुल ४० हजार करोड भारु ऋणकै एक अंश थियो। भिडियोकोन ग्रुपले एसबीआई बैंकको नेतृत्वमा बिभिन्न २० बैंकहरुको कन्सोर्सियम प्राप्त गरेको थियो।

यो लगानी आईसीआईसीआई बैंकबाट भिडियोकोनले ऋण लिए लगत्तै भएको थियो। दीपक पक्राउ परेपछि चन्दा कोचरको समस्या अझ बढ्ने देखिएको छ किनभने जाँच एजेन्सीले भिडियोकोन तथा म्याटिक्स र अन्य कम्पनीहरुको ऋणका विषयमा पनि छानबिन गरिरहेको छ।

चन्दा कोचर बैंकमा प्रमुखका रूपमा रहँदा जे जति ऋणहरु प्रवाह भएका थिए ती सबै कम्पनीहरुको ऋणका बारेमा पनि जाँच एजेन्सीले खोजी गर्ने बताइएको छ। यसअघि इडीले चन्दा कोचरका सम्पत्तिहरुको पनि खोजी गरेको थियो। चन्दा लगातार ९ वर्षसम्म आईसीआईसीआई बैंकको सिइओ रहेकी थिइन्।

शंकामा रहेका भिडियोकोन केससँग सम्बन्धित सबै सम्पत्ति तथा कागजपत्रहरु इडीले आफ्नो अधीनमा लिएको छ। यसबाहेक चन्दा कोचर र दीपकको स्वामित्वमा रहेको करिब ७८ करोड भारुको प्रोपर्टी पनि अधीनमा लिएको छ।

चन्दा कोचर र बैंकका अन्य ८ अधिकारीमाथि पनि भिडियोकोन ग्रुपलाई ऋण दिँदा लापरवाही गरेको आरोप लगाइएको छ।