अमेरिकामा प्रतिबन्धित हुवावेको स्मार्टफोनले बिक्रीमा राख्यो रेकर्ड, सामसङलाई उछिन्यो 

रासस
२०७७ साउन १५ गते १४:०१ | Jul 30, 2020

Tata
GBIME
Nepal Life

बेइजिङ। चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ।  स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार हुवावेले सामसङलाई पछि पार्दै पहिलो पटक नयाँ रेकर्ड बनाएको हो । 

क्यानालिसका अनुसार अमेरिकी प्रतिबन्धको सामना गरिरहेको हुवावेले ५ करोड ५८ लाख थान स्मार्टफोन अन्यत्र पठाएको छ जबकी सामसङले यही अवधिमा ५ करोड ३७ लाख थान स्मार्टफोन निर्यात गरेको छ ।

अमेरिकी प्रतिबन्धका कारण हुवावेका मोबाइल सेटहरुको विदेशमा बिक्री घटेको छ, तर चीनमा हुवावेका सेटहरुको माग उच्च छ । हुवावेका सेटहरुमध्ये ७० प्रतिशतभन्दा बढी चीनमै बिक्री भइरहेका छन्, क्यानालिसले जनाएको छ । 

क्यानालिसका अनुसार हुवावेका स्मार्टफोनको निर्यात दोस्रो त्रैमासिक अवधिमा झण्डै एक तिहाइले घटेको छ । क्यानालिसका विश्लेषक मो जियाले चिनियाँ बजारले मात्र हुवावेलाई विश्वको पहिलो श्रेणीको स्मार्टफोन निर्माता कम्पनीका रूपमा टिकाइराख्न नसक्ने चेतावनी दिएका छन्। 

दूरसंचार नेटवर्किङ उपकरण उत्पादनमा वर्चस्व कायम गर्न थालेको हुवावेलाई लिएर अमेरिका र चीनबीच विवाद पनि बढेको छ । 

अमेरिकाले हुवावेका कारण विश्वमै साइबर सुरक्षामा चुनौती खडा हुने चेतावनी दिँदै आएको छ । 

अमेरिकाले हालैमात्र हुवावेलाई अमेरिकी बजारमा प्रतिबन्ध लगाएको छ भने यस कम्पनीलाई एक्ल्याउन विश्वव्यापी अभियान नै संचालन गरिरहेको छ ।