नेपालबाट कजाकास्तानी अर्बपतिकहाँ पुग्यो स्मार्ट टेलिकमको स्वामित्व, कसरी अघि बढ्ला कम्पनी

ओम थापा/बिजमाण्डू
२०७६ माघ २९ गते ०८:०६ | Feb 12, 2020
नेपालबाट कजाकास्तानी अर्बपतिकहाँ पुग्यो स्मार्ट टेलिकमको स्वामित्व, कसरी अघि बढ्ला कम्पनी

Tata
GBIME
Nepal Life

बुलात उतेमुरातोभ

काठमाडौं । युरोपसँग जोडिएको मध्य एशियाको एउटा देश हो, कजाकास्तान। सोभियत युनियन टुक्रिएपछि अस्तित्वमा आएको यो देश नेपालजस्ता भूपरिवेष्ठित देशहरूमध्ये सबैभन्दा ठूलो हो।

यहाँका सबैभन्दा धनी अरबपति हुन्- बुलात उतेमुरातोभ। धनीहरुको सूची बनाउने फोर्ब्स भन्छ, 'उनीसँग तीन अर्ब ६० करोड डलरभन्दा बढीको सम्पत्ति छ।' अर्थात नेपालका डलर अर्बपति विनोद चौधरीसँग भएभन्दा दोब्बर बढी।

विकिलिक्सबाट सार्वजनिक भएको सन् २००७ जुलाईको अमेरिकी डिप्लोमेटिक केवल भन्छ, अभिलोभ नाम गरेका नजरवायेभका भित्रिया बुलात उतेमुरातोभ उच्चस्तरको भ्रष्टाचारको एउटा नमूना हुन्- 'एउटा अर्बपति, जसको जीवनमा कुनै पनि व्यवसाय थिएन।'

सोभियत युनियनबाट टुक्रियएपछि सन् १९९० बाट २०१९ सम्म कजाकस्तानको नेतृत्व यिनै नुरसुल्तान नजरवायेभले गरेका थिए। सन् २०१९ मा राष्ट्रपतिबाट राजिनामा दिएपछि पनि उनी अहिले कजाकास्तानको सुरक्षा परिषद्को नेतृत्व गरिरहेका छन्।

कजाकस्तानमा उद्योग र व्यापारका लागि यिनै नुरसुल्तानको आशिर्वाद चाहिन्छ। उनैको आशिर्वादमा कजाकस्तानमा एउटा इन्भेष्टमेन्ट कम्पनी जन्मिएको थियो, भाइजर समूह। एनसेलमा युरोपेली कम्पनी टेलियाको लगानी आउनुअघि यही भाइजर सेयरधनी थियो। जसलाई गैरआवासिय नेपाली संघका संस्थापक उपेन्द्र महतोले नेपाल भित्र्याएका थिए।

तर राष्ट्रपति नुरसुल्तानसँग लफडा परेपछि सन् २०१० ताका मल्टिबिलियन डलरको कम्पनी बनेको भाइजर समूह अहिले नामेट भएको छ।

हेर्नुहोस् बिजमाण्डूको पुरानो स्टोरी

भाइजर समूह सकिनु अघि नै बुलात नुरसुल्तानको भित्रिया बने। जसले खनिजको धनी कजाकास्तानको दोहन गरेर अर्बौं डलरको सम्पत्ति जोडे।

दर्जनौं भ्रष्टाचार काण्डमा जोडिएका बुलात अब कजाकास्तानका अर्बपति मात्र रहेनन्, उनको साम्राज्य विस्तार हुँदै अर्को भूपरिवेष्ठित देश नेपालसम्मै आइपुगेको छ। वुलात नेपालको सानोतिनो डिलमा पनि छैनन्, सानोतिनो बिजनेसमा पनि छैनन्। उनी नेपालको अर्बौंको कारोबार भएको टेलिकम बिजनेसमा जोडिएका छन्।

दूर सञ्चार प्राधिकरणले नेपालमा अहिलेसम्म ६ वटा टेलिकम कम्पनीलाई सेवा सञ्चालनको लाइसेन्स दिएको छ। त्यसमध्ये चार टेलिकम कम्पनी नेपाल टेलिकम, एनसेल, स्मार्ट र युटीएलसँग युनिफाइड लाइसेन्स छ भने नेपाल स्याटेलाइट र सिजि टेलिकमसँग ग्रामीण दूर सञ्चार सेवाको लाइसेन्स छ।

युनिफाइड लाइसेन्स लिएका चारमध्ये तीन कम्पनी नेपाल टेलिकम, एनसेल र स्मार्ट अपरेशनमा छन भने युटीएल बन्द जस्तै छ। तीनमध्ये नेपाल टेलिकममा सरकारको ९२ प्रतिशत हिस्सा छ, अर्को एनसेलमा मलेसियन टेलिकम कम्पनी एक्जियटाको ८० प्रतिशत स्वामित्व छ।

देशको तेस्रो ठूलो अपरेटर स्मार्ट जसको मासिक कारोबार १८ करोड रुपैयाँको हाराहारीमा पुगेको छ। जसले आगामी तीन वर्षभित्र नेपाल सरकारलाई २० अर्ब रुपैयाँको राजस्व दायित्व भुक्तान गर्नुपर्नेछ। त्यसको सेयरधनी को हो ?

दूरसञ्चार प्राधिकरणको रेकर्डअनुसार स्मार्टमा तीनजना सेयरधनी छन्। टेक्स हेभन राष्ट्र सेसिल्समा १४१७१२ दर्ता नम्बर भएको लालसाहु होल्डिङ्स स्मार्टको ५० प्रतिशत स्वामित्वको सेयरधनी हो। त्यसैगरी अर्को ३० प्रतिशत सेसिल्समै १८०९६७१ दर्ता नम्वर रहेको कस्बो इन्भेष्टमेन्ट लिमिटेड स्मार्टको दोस्रो ठूलो सेयरधनी हो भने २० प्रतिशत सेयर नेपाली कम्पनी स्क्वायर नेटवर्क प्रालिसँग छ।

टेलिकम कम्पनीको सम्पूर्ण विवरण राख्नुपर्ने दूरसञ्चार प्राधिकरणसँग यी कम्पनीका अल्टिमेट वेनिफिसेयरी को हुन् भन्ने योभन्दा विस्तृत विवरण छैन। तर, बिजमाण्डूले यसको विस्तृत विवरण प्राप्त गरेको छ।

प्राप्त कागजातअनुसार सेसिल्सको लालसाहु होल्डिङ कम्पनीलाई सेसिल्समै १४१७११ दर्ता नम्बर भएको लालसाहू डिष्ट्रव्युसन लिमिटेडले होल्ड गर्छ, र त्यो कम्पनीलाई होल्ड गर्छ अर्को टेक्स हेभन राष्ट्र ब्रिटिस भर्जिन आइल्याण्डमा १८९३४६० दर्ता नम्बर भएको भोल्टेरा लिमिटेडले।

भोल्टेराको वेनिफिसियल ओनर हुन् कजाकस्तानका नागरिक इजबसार बैगावातोभ। बैगावातोभ भोलेटेराका मात्रै होइनन् सेसिल्समा १८०९७१ दर्ता नम्बर भएको अर्को कम्पनी भर्डेल लिमिटेडका पनि वेनिफिसियल ओनर हुन् र यो भर्डेल कम्पनी स्मार्टको ३० प्रतिशतको सेयरधनी कोस्बो इन्भेष्टमेन्टको पनि होल्डिङ कम्पनी नै हो।

अर्थात अहिलेका लागि स्मार्ट टेलिकमको ८० प्रतिशत सेयरको वेनिफिसियल ओनर इजबसार हुन्। स्रोत भन्छ, स्मार्ट टेलिकमको स्थानीय २० प्रतिशत सेयरको स्वामित्व पनि इजबसारको हातमा पुग्ने गरी प्रपञ्चहरु मिलाइएको छ।

इजबसार, जसको उमेर २२ वर्ष हाराहारी छ, उनको काँधमा स्मार्टको वार्षिक दुई अर्ब माथिको कारोबार र आगामी तीन वर्षभित्र सरकारलाई २० अर्ब तिर्नुपर्ने दायित्व छ।

तर इजबसार यो खेलको मुखौटा मात्रै हुन्, यो खेललाई इजबसारबाट अघि बढाउँछन्, कजाखी नागरिक, बहुरजान जामालोभले। र त्यो खेल गएर ठोकिन्छ, कजाकास्तानकै धनी नागरिक बुलात उतेमुरातोभसँग, जसले कजाकास्तानमा बिना व्यापार अर्बौं रुपैयाँको सम्पत्ति बनाएका थिए।

बहुरजान र इजबसार

स्मार्ट कसरी पुग्यो बुलातको हातमा

स्मार्ट बुलातको हातमा पुर्‍याउनका लागि सन् २०१३ मा यो खेलको सुरुवात भएको थियो। सुरुमा पूर्वराजाका ज्वाईँ राजबहादुर सिंहसँग बहुमत सेयर रहनेगरी स्मार्ट दर्ता भएको थियो। त्यसको अर्का साझेदार थिए सिंगापुरमा रहेर व्यापार गर्दै आएका सतीशलाल आचार्य। यी दुई जनासँग  गैरआवासिय नेपाली संघका संस्थापक महतो पनि जोडिएका थिए।

कम्बोडियादेखि अफ्रिकी मुलुकसम्म टेलिकम लाइसेन्सका भिजिबल/इनभिजिबल साझेदार रहेका यी तीन जनाको रणनीतिक साझेदारीमार्फत स्मार्ट टेलिकमको लाइसेन्स  प्राधिकरणबाट लिइएको थियो। यो कम्पनीमा सुरुमा २० प्रतिशत सेयर नेपाली कम्पनी स्क्वायर नेटवर्क (सतीशलाल आचार्य) सँग थियो, १६ प्रतिशत सेयर सिंगापुरमा रहेको लालसाहु डिष्ट्रिव्युटर (सतीशलाल आचार्य) सँग थियो भने १० प्रतिशत सेयर इजरायली कम्पनी जिलाट नेटवर्कसँग थियो।

बाँकीको ५४ प्रतिशत अर्थात बहुमत सेयर सिंगापुरको कम्पनी रिभररोड इन्टरनेशनल (राजबहादुर सिंह) सँग थियो। पछि आचार्यले इजरायली कम्पनी जिलाटको स्वामित्व पनि आफ्नो सिंगापुरस्थित लाल साहु डिष्ट्रिव्युसनमा लिए।

२०६१ को लोकतान्त्रिक आन्दोलपछि देश राजतन्त्रबाट गणतन्त्रमा प्रवेश गरेको थियो। ससुरा ज्ञानेन्द्र शाहले राजगद्दी गुमाएपछि सिंह फोरफ्रन्टमा आएर बिजनेस गर्ने अवस्थामा थिएनन्। उनले त्यही कारण स्मार्ट सञ्चालनको जिम्मेवारी एउटा प्रबन्धमार्फत आचार्यलाई दिए। सतीशको तर्फबाट भाई सचिनलाल आचार्यले काठमाडौंमा रहेर स्मार्टको अप्रेशन हेर्न थाले।

स्मार्ट स्थापनाको पाँच वर्ष हुँदै थियो। इजरायली कम्पनी जिलाटको सेयर सतीशले लिएपछि दुई साझेदारबीच विवाद बढ्न थाल्यो। सन् २०१३ को अन्तिमतिर सिंहले छैटौं वार्षिक साधारणसभाले  दीपक तिमिल्सिनालाई स्मार्टको अध्यक्ष बनाएको भन्दै सूचना जारी गरे।

तिमिल्सिनाले पनि दलबलसहित स्मार्टको कार्यालयमा प्रवेश गर्ने प्रयास गरे। सचिन र सतीशले पनि त्यसको कडा प्रतिरोध गरे। विवाद प्रहरी-प्रशासन हुँदै कागजात सक्कली र नक्कली छुट्टयाउन कम्पनी रजिष्ट्रारको कार्यालयमा पुग्यो। लोकमान सिंह भर्खर अख्तियारको सत्तामा आएका थिए। उनले यो विषयमा कम्पनी रजिष्ट्रारको कार्यालयमार्फत 'प्ले' गर्न थाले।

लोकमानको प्रवेशपछि विवाद मत्थर भयो। त्यसको बदलामा राजबहादुर सिंहले स्मार्टमा थप चार प्रतिशत सेयर गुमाउनु पर्‍यो। त्यो सेयर आचार्यसँग पुग्यो। अब दुईजना सेयरधनी स्मार्ट टेलिकममा फिफ्टी-फिफ्टीका पाटर्नर भए।

लोकमानको प्रवेशपछि विवाद समाधान भए पनि स्मार्ट प्रभावकारी रूपमा सञ्चालन हुन सक्ने अवस्थामा थिएन। भर्खर एकीकृत लाइसेन्स लिएको स्मार्टलाई अपरेटेवल बनाउने र एनसेल जस्तैगरी त्यसको स्वामित्व विदेशी कम्पनीलाई बेच्ने योजनासहित यसमा महतोको प्रवेश भयो।

सिंहले आफ्नो स्वामित्वमा भएको स्मार्टको सेयर एउटा समझदारीमार्फत महतोलाई दिए। महतोसँग अफ्रिकी मुलुकमा समेत टेलिकमको लाइसेन्स थियो। उनलाई त्यहाँका कम्पनी सञ्चालनयोग्य अवस्थामा ल्याउन र त्यसलाई टेलिकमका ठूला अपरेटरलाई बेच्न योग्य बनाउन पुँजीको आवश्यकता थियो। उनले स्मार्टको सेयर लगेर कजाकास्थानका यिनै अर्बपति बुलातको हातमा 'प्लेज' गरे।

सन् २००० को पहिलो दशकमा टेलिकम बिजनेसमा जुन चार्म थियो,  दोस्रो दशकमा आउँदै गर्दा त्यो फिक्का हुन थाल्यो। टेलिकम कम्पनीको लाइसेन्स कारोबारमा ठूलो मन्दी आयो। नेपालमा स्मार्ट मात्रै होइन अफ्रिकामा रहेका टेलिकम कम्पनीको सेयर पनि नगदमा रुपान्तरण हुन सकेन। त्यसको असर महतो र बुलात बीचको लेनदेनमा समेत पर्‍यो।

चार वर्षअघि एनसेलको सेयर स्वामित्व पूर्ण रूपमा परिवर्तन भयो। ८० प्रतिशतको साझेदार टेलियाले आफ्नो सेयर मलेसियाको एक्जियटालाई बेच्यो भने एक्जियटाको आग्रहमा महतोका साझेदार निरजगोविन्द श्रेष्ठले आफूसँग भएको सेयर सतीशलाल आचार्यकी श्रीमती भावनासिंह श्रेष्ठ एकल सेयरधनी रहेको कम्पनी सुनिभेरा क्यापिटल भेञ्चरलाई बिक्री गरे।

नेपालको दूरसञ्चार प्राधिकरणको कानूनले देशभित्रका दुई टेलिकम कम्पनीमा एक प्रतिशत सेयरभन्दा बढी क्रस होल्डिङ गर्न नहुने व्यवस्था गरेको छ। त्यो व्यवस्थालाई परिपालना गर्न सतीशले सिंगापुरको लालसाहु डिष्ट्रव्युसनसँग भएको स्मार्टको ३० प्रतिशत सेयर सेसिल्सको कोस्बो इन्भेष्टमेन्टलाई एक समझदारीमार्फत हस्तान्तरण गरे। उनले स्क्वायर नेटवर्कमा भएको आफ्नो सेयर पनि आफन्त सर्वेश जोशीलाई हस्तान्तरण गरे।

उता रिभर रोड इन्टनरेशनल सिंगापुरसँग भएको सेयर पनि एक समझदारीमार्फत सिंहले सेसिल्समा स्थापना भएको नयाँ कम्पनी लाल साहु होल्डिङलाई हस्तान्तरण गरे। लालसाहुको होल्डिङ कम्पनी लालसाहु डिष्ट्रव्युटरमार्फत स्मार्टको ५० प्रतिशत सेयर भोल्टेरा हुँदै बुलातसँग 'प्लेज' भयो।

स्मार्टको ५० प्रतिशत सेयर कब्जामा लिएका बुलातले स्मार्टमा दादागिरी देखाउन त्यसका अर्का साझेदारमार्फत थप ३० प्रतिशत सेयर पनि एउटा प्रबन्धमार्फत स्वामित्वमा लिएको स्रोतले भन्यो। उनले कजाकास्तानमा सम्पत्ति सिर्जना गर्न जुन मोडल अपनाएका थिए, त्यही मोडलमा नेपालबाट पनि पुँजी सिर्जना गर्ने रणनीतिमा रहेको स्रोतले बतायो।

लालसाहू डिष्ट्रिव्युसनले उसको असली मालिक राजबहादुर सिंहलाई स्मार्टको सेयर हस्तान्तरण गर्न बुलातसँगको वित्तीय कारोबार सुल्झाइसकेको छ। तर बुलातले सेयर फिर्ताको प्रक्रिया भने सुरु गर्न सकेका छैनन्। त्यसको सट्टामा बुलातका वफादार बहुरजान जामालोभको आजकल काठमाडौंमा बाक्लो उपस्थित हुन थालेको छ।

उनले दुई साता अघि टेलिकममा प्रवेश गर्नका लागि रुचि भएका केही व्यापारीसँग आगो ताप्दै डिनर गरेर आफ्ना कुरा सुनाएका थिए। त्यहाँबाट फर्किएर केही बैंकरलाई भेटेपछि उनले भने- 'नेपालमा ठूला कुरा गर्ने मात्रै व्यापारी रहेछन्, पैसा हाल्ने व्यापारी रहेनछन्।'

स्मार्ट टेलिकमले आगामी तीन वर्षभित्र लाइसेन्स नवीकरण, फ्रिक्वेन्सी, रोयल्टी, ग्रामीण दूरसञ्चार शुल्क गरेर २० अर्ब रूपैयाँ दूरसञ्चार प्राधिकरणलाई भुक्तानी गर्नेगरी राजस्व दायित्व पूरा गर्नुपर्छ। राजस्वको दायित्व मात्रै होइन्, पूर्वाधार विस्तारका लागि पुँजीगत लगानी बढाउनुपर्छ भने कम्पनी नियमित सञ्चालनमा पनि ठूलो रकम खर्च गर्नुपर्छ। तर वार्षिक दुई अर्ब रुपैयाँको कारोबारबाट त्यो दायित्व पूरा हुन सक्ने अवस्था छैन।

प्रतिष्पर्धा कानूनमा भएका व्यवस्थाका कारण स्मार्टलाई नेपाल टेलिकम र एनसेल जस्ता ठूला अपरेटरसँग मर्ज गर्न सक्ने अवस्था पनि रहँदैन। अर्कोतर्फ सेयरधनी बीचको गोल चक्करमा यो कम्पनीले स्पष्ट नेतृत्व लिन सक्ने अवस्था पनि छैन।

आफ्ना दायित्व पूरा नगरेका कारण दूरसञ्चार प्राधिकरणबाट खारेजीमा परेको यो कम्पनीले सरकारको दयाका कारण एक महिनाअघि बल्लतल्ल निरन्तरता त पाएको छ, तर यसलाई तेस्रो अपरेटरको विकल्पमा राख्न भने सरकारसँग सीमित मात्रै विकल्प छन्।

त्यसमध्ये एउटा विकल्प सरकारले स्मार्टको स्वामित्व खोसेर कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष लगायतका आफ्नो पुँजी आधार भएका संरचनामार्फत सञ्चालन गर्न सक्छ। त्यसका लागि सर्वोच्च अदालतको एउटा फैसला आधार हुन सक्छ।

सर्वोच्च अदालतले अघिल्लो सातामात्रै राजबहादुर सिंहकी श्रीमती प्रेरणा राज्यलक्ष्मी सिंहका लागि राजा ज्ञानेन्द्रले दाईजोमा दिएको ताहाचलस्थित १४ रोपनी जग्गा सरकारीकरण गर्ने आदेश दिएको छ। स्मार्ट टेलिकममा पनि सिंहको लगानी छ, राज्यले त्यो लगानी राजा ज्ञानेन्द्रमार्फत भएको हो भन्ने तथ्यमात्रै स्थापित गरे पुग्छ। अन्यत्र कतै लड्न समेत जानु पर्दैन।

सम्भवतः यसका लागि सिंहसमेत तयार हुनेछन्, कारण यो कम्पनी उनले स्थापना त गरे, तर स्थापना भएको डेढ दशक बितिसक्दा पनि यसबाट लाभ लिनेभन्दा बढी तनाव लिनुपर्ने गरी झमेला मात्रै व्योहोरिरहे। राज्यले नियन्त्रणमा लिए उनका लागि यो झमेला पनि स‌ँधैका लागि अन्त्य हुने पक्कापक्की छ।

त्यसवाहेक पनि स्मार्टको होल्डिङ कम्पनी लालसाहु सिंगापुरबाट सेसिल्सको कोस्बो इन्भेष्टमेन्ट र रिभररोड सिंगापुरबाट सेसिल्सकै लालसाहु होल्डिङमा सेयर हस्तान्तरण हुँदाको कारोबारमा लाभकर विवाद समेत सिर्जना हुने अवस्था छ। एनसेल कारोबारलाई जस्तै यो कारोबारलाई समेत करको दायरामा ल्याउँदा स्मार्ट टेलिकम दलदलमा फस्ने सम्भावना अझ बढी छ।

'के होला स्मार्टको भविष्य ? खारेजीदेखि क्याविनेटको जीवनदानसम्म' बिजमाण्डूको अर्को स्टोरी भोलि