ब्यवसायीहरुलाई सरकारको सम्मान, प्रधानमन्त्री ओलीले दिए उपहार, को को भए सम्मानित?

बिजमाण्डू
२०७६ माघ २८ गते १४:२४ | Feb 11, 2020
ब्यवसायीहरुलाई सरकारको सम्मान, प्रधानमन्त्री ओलीले दिए उपहार, को को भए सम्मानित?


काठमाडौं। आन्तरिक उत्पादन बढाउँदै मुलुकको निर्यात ब्यापारमा सघाउ पुर्‍याउने ब्यवसायीलाई सरकारले सम्मान गरेको छ। वाणिज्य मन्त्रालय अन्तर्गतको ब्यापार तथा निकास प्रवर्द्धन केन्द्रले महत्वपूर्ण ब्यवसायिक ब्यक्तिहरूलाई सम्मान गरेको हो।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री केपी शर्मा ओली र वाणिज्य राज्य मन्त्री मोतिलाल दुगड ले ब्यवसायीहरुलाई सम्मान गरेका हुन्।

तेस्रो मुलुकतर्फ निकासी रकमका आधारमा अग्रस्थानमा रहेका पाँच वस्तुको सबैभन्दा बढी निर्यात गर्नेहरुलाई सम्मान गरिएको छ। यसमा धागोबाट त्रिवेणी स्पिनिङ मिलका अध्यक्ष रामचन्द्र संघाइ र गलैचाबाट दी सांग्रिला कार्पेट एण्ड ह्यान्डीक्राफ्ट इण्डस्ट्रिज प्रालिका प्रबन्ध सञ्चालक दोर्जे ग्याल्सेन लामा छन्।

काठमाडौं स्टोर फेसनका प्रबन्ध निर्देशक राहुलमान शाक्य तयारी पोशाकमा, एभरेष्ट पश्मिना निटिङ एण्ड विभिङ इण्डष्ट्रीजका सूर्यकुमार गुरुङ पश्मिना सलमा र ऊनी फेल्टका उत्पादनका लागि एभरेष्ट फेशन सम्मानित भएको छ।

भारततर्फ रकमको आधारमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने नेपाली निर्यातकर्ता उद्योगी पनि सम्मानित भएका छन्।

डाबर नेपालका हरकिरत सिंह बेदी, आरती स्ट्रीप्सका दिव्यराज सापकोटा र हुलास वायर इण्डस्ट्रीज लिमिटेडकी निर्देशक युक्ति गोल्छा पनि सम्मानित भएकी छन्।

चीनतर्फ रकमको आधारमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने नेपाली निर्यातकर्ता उद्योगीलाई पनि सम्मानित गरिएको छ। पेम्बा दोर्जे शेर्पा न्यू हस्तकला एक्सपोर्टबाट, विश्वराज बस्नेत गणेश हिमाल इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिबाट र मछिन्द्र पाण्डे न्यू प्यागोडा इन्टरप्राइजेजबाट सम्मानित भएका छन्।

नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुहरूको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्ता मध्येबाट गोपीप्रसाद कँडेल सम्मानित भए। उनी पिपुल्स क्राफ्ट एक्सपोर्टका प्रमुख हुन्। यसैगरी वाणिज्य नीति २०७२ र नेपाल व्यापार एकीकृत रणनीति २०७३ ले प्राथमिकतामा राखेका निर्यात सम्भावनायुक्त वस्तुमध्ये कृषिजन्य र जडीबुटी क्षेत्रका वस्तुहरूको सबैभन्दा बढी निर्यात गर्नेमध्ये प्रत्येक क्षेत्रबाट एक/एक जना पनि सम्मानित भएका छन्।

कृषिजन्यतर्फ सुजनकुमार श्रेष्ठ, जडीबुटीतर्फ निर्वाणकुमार चौधरी, निर्यात व्यापारमा कूल रकमको आधारमा सबभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्ता राजलक्ष्मी गोल्छा सम्मानित भएका छन्। सफ्टवेयर निर्यातमा रकमको आधारमा प्रथम स्थान हासिल गर्ने निर्यातकर्ता दीपेश प्रधान पनि सम्मानित भएका छन्। उनी एलआइएस नेपाल प्रालिका प्रबन्ध सञ्चालक हुन्। 

उद्योग स्थापना भइ सञ्चालनमा रहेका सबैभन्दा बढी लगानी गर्ने (स्वदेशी श्रम र सीप उपयोग गर्ने ) उत्पादनमूलक उद्योगका उत्कृष्ट व्यवसायीमा लीऊ शु कुवाङ परेका छन्। उनी होङ्सी शिवम सिमेन्टका प्रबन्ध निर्देशक हुन्। 

सबैभन्दा बढी रोजगारी श्रृजना गर्ने उद्योगी व्यवसायीबाट पवनकुमार गोल्याण पनि सम्मानित भएका छन्। बैंकिङ प्रणालीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने व्यवसायी मध्येबाट आइएमइका चन्द्रप्रसाद ढकाल पनि सम्मानित भएका छन्।

पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल व्यवसायीबाट तरागाउँ रिजेन्सी होटल्सका सुरेशलाल श्रेष्ठ सम्मानित भएका छन् भने युवा उद्यमी व्यवसायीहरू मध्ये निर्यात व्यापार क्षेत्रमा सबैभन्दा बढी निकासी गर्ने सुनिता शेर्पा र अक्षय गोल्याण सम्मानित भएका छन्।

निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवर्द्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुर्‍याएवापत तीनवटा संघका अध्यक्षलाई मानार्थ सम्मान दिइएको छ। नेपाल उद्योग वाणिज्य महासंघबाट भवानी राणा, नेपाल चेम्बर अफ कमर्सबाट राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघबाट शतीसकुमार मोर सम्मानित भएका हुन्।