शेयर ऋण प्रवर्द्धनका लागि वित्तीय कर्मचारी  ब्रोकरका कार्यालयमा, तरलताले जति पनि दिन खुसामद 

बिजमाण्डू
२०७६ मंसिर १७ गते १२:४७ | Dec 3, 2019
शेयर ऋण प्रवर्द्धनका लागि वित्तीय कर्मचारी  ब्रोकरका कार्यालयमा, तरलताले जति पनि दिन खुसामद 


Tata
GBIME
Nepal Life

काठमाडौं। शेयर बजार घट्दै गएपछि बैक वित्तीय संस्थाहरूले 'शेयर एगेन्स्ट लोन मार्जिन' प्रवृत्तिको कर्जाको बजार प्रवर्द्धनलाई तीव्रता दिन थालेका छन् ।

शेयर कारोबार घट्दै जाँदा उक्त प्रवृत्तिको कर्जामा टार्गेट अनुसार ऋण नगएपछि बैकहरूले कर्मचारी नै खटाएर बजार बढाउन जोड दिन थालेका हुन् । सबैभन्दा बढि शेयर कारोबारीको आउजाउ हुने ब्रोकर कार्यालयमा यतिबेला दैनिक जसो कुनै न कुनै बैक वित्तीय संस्थाका कर्माचारीहरू पुग्ने गरेका छन् ।

शेयर कर्जासँग सम्बन्धित प्रचार सामाग्री लिएर उनीहरू ब्रोकर कार्यालयका सञ्चालक र कर्मचारीलाई भेट्ने गरेका छन् । केही बैक वित्तीय संस्थाका कर्मचारीले टेलिफोनबाटै सम्पर्क गर्ने गरेका छन् भने केहीले ब्रोकर कार्यालयमा आउने शेयर कारोबारीलाई समेत भेट्ने गरेका छन् । 'दैनिकजसो कुनै न कुनै बैकबाट शेयर ऋण लिने भए पठाइदिनु भन्दै फोन आउन थालेको छ,' दीपशिखा धितोपत्र कारोबार कम्पनीका निर्देशक दीपकराज वलीले भने ।

शेयर कारोबार सुस्त हुँदै गएपछि यस्तो कर्जा लिने लगानीकर्ता उलेख्य मात्रामा बढ्न सकेको छैन । अघिल्ला वर्षहरूमा यस्तो प्रवृत्तिको कर्जा लिने लगानीकर्ताको चाप हुने गरेको थियो । ब्रोकर कार्यालयमै कारोबार गर्न आउने लगानीकर्ताले ब्रोकरलाई उक्त कर्जाका लागि सिफारिस गरिदिन अनुरोध गर्ने गरेका थिए ।

'पहिले लगानीकर्ताले ऋण मिलाइदिन अनुरोध  गर्ने गरेका थिए, तर यतिबेला सजिलै पाइन्छ जानुस् भन्दा पनि मान्दैनन्, ' दक्षिणकाली इन्भेष्टमेन्टका सञ्चालक दिनेश सापकोटाले भने । अवस्था मूल्याङ्कन गर्दा पनि यतिबेला मार्जिन कर्जाको त्यत्ति धेरै आकर्षण नभएको उनले बताए । 'ग्राहक नगएपछि बैक  वित्तीय संस्था ग्राहक खोज्दै दैलोसम्म आइपुगेको अवस्था छ,' उनले भने । 

बैक तथा वित्तीय संस्थाका कर्मचारीले भेटमा राम्रा लगानीकर्तालाई सहजै ऋण दिन सक्ने आश्वासन दिने गरेका छन् । प्रक्रियागत रूपमा सरल सुविधाका साथै ब्याजमा समेत चलन चल्तीको रेटमा केही मिलाउन सकिने बताउने गरेको वलीले बताए ।  'कारोबारमा गुडविल बनाएका ऋणीले यतिबेला बैकसँग राम्रो बार्गेनिङ गर्न सक्ने अवस्था छ,' उनले भने, 'तर बैकले ऋण लैजाउ भन्दा समेत लगानीकर्ताले खासै चासो दिएका छैनन् ।'

बजारको घट्दो अवस्थाले ऋण लिएर लगानी गर्न पछिल्लो समय लगानीकर्ता डराएको उनले बताए । पछिल्लो समय पर्याप्त लगानीकर्ता शेयर ऋण लिन बैकसम्म नपुगेकै कारण बैक तथा वित्तीय संस्थाका कर्मचारी ब्रोकर कार्यालयमै आएर बजार प्रवर्द्धन गरिरहेका हुन् । 

बैकहरूले ११ प्रतिशतदेखि साढे १४ प्रतिशतसम्म ब्याजमा ऋण प्रवाह गर्ने गरेका छन् । लगानीकर्ताको कारोबार र बार्गेनिङ पावरमा ब्याजदर निर्धारण हुने गरेको छ । वाणिज्य बैकहरूले केही सस्तोमा ऋण प्रवाह गरिरहेका छन् भने विकास बैक र फाइनान्स कम्पनीको ब्याज थोरै महंगो छ । यसअघि तरलता अभाव भन्दै यस्तो प्रवृत्तिको कर्जा दिन बैक वित्तीय संस्थाले कन्जुस्याइँ गर्ने गरेका थिए । 

बैक वित्तीय संस्थाका बजार प्रवर्द्धनको तरिका हेर्दा यतिबेला उनीहरूसँग उक्त प्रवृत्तिमा कर्जा प्रवाह गर्न तरलता सहज भएको देखिन्छ । बैक वित्तीय संस्थाका कर्मचारीले ब्रोकर कम्पनीका सञ्चालक र कर्मचारीलाई राम्रो ऋण लिने ग्राहक भए नियम अनुसारको पुरै रकम दिन सकिने बताउने गरेको एक ब्रोकर कम्पनीका निर्देशकले बताए । 'यसले बैकमा उक्त प्रकृतिको कर्जामा ऋण दिन सक्ने पर्याप्त तरलता रहेको पुष्टि गर्छ,' उनले भने । 

सिद्धार्थ,  सिटिजन्स, एनआइसी एसिया,  महालक्ष्मी बैंक र मञ्जुश्री फाइनान्सले बजार प्रवर्द्धनलाई बढी जोड दिएका छन् । कतिपय बैंकले शेयर लोनकै लागि भनेर छुट्टै प्रडक्ट समेत ल्याएको वलीको भनाई छ । तर लगानीकर्ताले  बैक वित्तीय संस्थाको पुँजी बढेको र शेयर ऋण असुल गर्न समेत सहज हुने भएकाले बैक वित्तीय संस्थाले यस्तो प्रवृत्तिको कर्जामा दिन जोड दिएका हुन् । कर्जा असुल गर्न सजिलो ऋणका रूपमा 'अटो लोन' र शेयर ऋणलाई बैक वित्तीय संस्थाले लिने गरेका छन् । रकम असुल गर्न सजिलो र पुँजी वृद्धिपछि उक्त प्रवृत्तिको कर्जा दिन सक्ने सीमा समेत बढेपछि वित्तीय संस्थाले अग्रसरता देखाएका हुन् ।

यतिबेला ठुला कर्जाको माग कम छ, जसले गर्दा सानो व्यवसाय खोज्दै भएपनि ऋण प्रवाह गर्नुलाई केही वित्तीय संस्थाले उपयुक्त मानेका छन् । वित्तीय संस्थाले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म मार्जिन प्रवृत्तिको कर्जा दिन पाउने व्यवस्था छ । यस हिसाबले हाल एउटा वाणिज्य बैकले दुई अर्ब रूपैयाँसम्म उक्त प्रवृत्तिको कर्जा प्रवाह गर्न पाउँछ । वित्तीय संस्थाले आफ्नो चुक्ता पुँजी र जगेडा कोषलाई प्राथमिक पुँजीमा गणना गर्न पाउँछन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार हाल वाणिज्य बैकहरूको मात्रै चुक्ता पुँजी २ खर्ब ४९ अर्ब रूपैयाँ छ । उनीहरूको जगेडा कोषमा १ खर्ब ७९ अर्ब रूपैयाँ छ ।

प्राथमिक पुँजी अन्तर्गतको चुक्ता पुँजी र जगेडा कोषलाई जोड्दा ४ खर्ब २९ अर्ब रूपैयाँ हुन आउँछ । जसको २५ प्रतिशत हुन आउने १ खर्ब ७ अर्ब रूपैयाँ मार्जिन प्रवृत्तिको कर्जा प्रवाह गर्न सक्ने स्थितिमा हाल वाणिज्य बैक छन् । विकास बैक र फाइनान्सको समेत जोड्ने हो भने उक्त प्रकृतिको कर्जामा थप ऋण प्रवाह हुन सक्छ ।