एनएसीसँगै हवाई क्षेत्रमा उदाएको थाइ ध्वजाबाहक पनि संकटमा, घाटा चुलिँदा बन्दको संघारमा पुग्यो

बिजमाण्डू
२०७६ कात्तिक ६ गते १३:१८ | Oct 23, 2019
एनएसीसँगै हवाई क्षेत्रमा उदाएको थाइ ध्वजाबाहक पनि संकटमा, घाटा चुलिँदा बन्दको संघारमा पुग्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल वायूसेवा निगम सँगसँगैजसो संचालनमा आएको थाइल्याण्डको ध्वजावाहक वायुसेवा कम्पनी थाइ एयरवेज गम्भीर संकटमा परेको छ। कम्पनीका अध्यक्ष सेमेथ दम्रोङ चैथमले नै यसको खुलासा गरेका हुन्। उनले कम्पनी संकटमा परेको भन्दै साथ दिन कर्मचारीहरुलाई आग्रह समेत गरेका छन्।

मंगलबार कम्पनीका अध्यक्ष सेमेथले केन्द्रीय कार्यालयमा आयोजित एक तालिमका क्रममा आगामी दिन एयरलाईन्सकालागि निकै चुनौतीपूर्ण हुने बताएका हुन्।

उनले 'आउन लागेको चुनौतीको सामना गर्नका लागि आज म तपाईँहरु समक्ष ऐक्यवद्ध हुन अनुरोध गर्दछु। नत्र यो ध्वजावाहक वायुसेवा कम्पनी अनिवार्य बन्द गर्नुपर्ने हुन्छ। समस्या समाधानका लागि हामीसँग थोरै समय मात्र बाँकी छ।' भनेका थिए।

हाल  उडान गर्दै आएका विभीन्न रुटमा बढ्दै गएको प्रतिस्पर्धाका कारण कम्पनीको बजार हिस्सा घट्दै गएको उनले बताएका छन्।
उत्तरी रुटलाई उदृत गर्दै आम्दानीको हिसाबले तेस्रो स्थानमा रहेको कम्पनीको बजार हिस्सा कम खर्चिलो वायुसेवा कम्पनीका कारण खस्किएको उनले बताए।

'यो वर्ष वायुसेवा कम्पनीहरुबीच तीब्र प्रतिस्पर्धा देखिएको छ। कम्पनी साँच्चै संकटमा परेको छ। अर्को वर्ष कम्पनीले आफ्नो राम्रो प्रस्तुति दिनै पर्छ। यदि कर्मचारीले सावधानी नअपनाइ केही गर्न चाहेनन् भने कम्पनी पुनः संचालन गर्नका लागि समय नै पुग्दैन। अहिले समय निकै कम छ। सान्त्वना लिन सकिने ठाउँ नै छैन। – उनले भने 'यदि कम्पनी डुब्यो भने हामी सबैको अवस्था जटिल हुनेछ।'

कम्पनीले व्यवस्थापनमा रहेका कर्मचारीको तलब कटौती गरेर खर्च न्युनीकरण गर्ने योजना रहेको जनाएको छ। कम्पनीका अनुसार  क्याट्रिङ विभागमा जिरो इन्भेन्टरी पोलिसी पालना गर्ने जनाएको छ। 'अब कर्मचारीलाई पुरस्कृत गरिने छैन। किनभने अब हाम्रो लागि प्रथम पुरस्कार भनेकै कम्पनीको अस्तित्व बचाउनु हो।' उनले भने।

सन् २०१९ को अर्धवार्षिक अवधीमा कम्पनी ६.४४ अर्ब भाट घाटामा रहेको देखिएको छ। हालसम्मको संचित नोक्सानी दुई सय ८० अर्ब भाट  अर्थात १० खर्ब ५० अर्ब रुपैयाँ बराबर पुगिसकेको  कम्पनीले देखाएको छ। हाल कम्पनीमा २० हजार रोजगार छन्।

सन् १९८८ मा स्थापना भएको थाइ एयरवेज पब्लिक कोअपरेटिभ लिमीटेड यातायात मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय ध्वजावाहक कम्पनी हो। सन् १९९१मा कम्पनीले अर्थ मन्त्रालय  'द सेक्युरिटी एक्सचेन्ज अफ थाइल्याण्ड' मा दर्ता भएको कम्पनी मा  सरकारको ५० प्रतिशत हिस्सा रहेको छ।

कम्पनीसँग भएको एयरबस र बोइङ अन्तर्गत विभीन्न  सिरीजका १ सय  जहाजमार्फत  ३७ वटा देशहरुको ७२ वटा गन्तब्यमा उडान गर्दै आएको छ। कम्पनीले  प्रति उडानमा ३० हजार ५५ यात्रुलाई सेवा दिने क्षमता राख्छ।

कम्पनीले नेपालमा साताको सातवटा नियमीत उडान गर्दै आएको छ।

कुनै समय बैंककदेखि लस एन्जल्स र न्युयोर्क सिटीमा ननस्टप उडान गर्ने एकमात्र वायुसेवा कम्पनीको रुपमा चिनिएको थियो। तर हवाई इन्धनको मूल्य वृद्धिका कारण सन् २०१२ देखि कम्पनीले युएसमा ननस्टप फ्लाइट रोकेको थियो।

सन् २०१३ मा कम्पनीले बैंकक-लसएन्जल्स उडान सिओलको इन्चुआन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गरेको थियो। पछि सन् २०१५ मा कम्पनीले युएसतर्फको सेवा नै रोक लगायो। कम्पनीले सेवा दिँदै आएको रुटमा युरोप इस्ट एसिया, र साउथ वेस्ट एसिया लगायत क्षेत्रका वायुसेवा कम्पनीको हावी भएपछि बजार हिस्सा खस्किन थाल्यो।

लण्डनको हिथ्रो विमानस्थलमा सेवा दिने पहिलो एसिया प्यासिफीक वायुसेवा कम्पनीको रुपमा  चिनीएको थाइ एयरवेज युरोपमा धेरै यात्रुलाई सेवा  दिँदै आएको थियो।  थाइ एयरवेजको नोक्सान र गिर्दो अवस्था सार्वजनिक भएपछि शेयर बजारमा कम्पनीको भाउ घटेको छ।

गत जनवरीदेखि लगातार घटेको शेयरको भाउ हालसम्म ३० प्रतिशत घटिसकेको छ। मंगलबारमात्रै कम्पनीको शेयरको भाउ ४.५५ प्रतिशत गिरावट देखिएको थियो।

यसै महिना थाइल्याण्डका यातायात सहायक मन्त्री थावर्न सेन्निमले एयरलाइन्स क्राइसिसममा रहेको र यसको बित्तीय अववस्था नाजुक हालतमा पुगको बताएका थिए।

सन् २०१९ मा मात्र एयरलाईन्सले १० अर्ब भाटको अनुमानित नोक्सानी व्यहोरेको बताइन्छ। सन् २०२२ सम्ममा आफ्नो घाटा तथा ऋणहरु चुक्ता गरिसक्ने कम्पनीले लक्ष्य लिएको सिइओ सुमेथले बताएका छन्।

कम्पनीमा थाइ सरकारको ५० प्रतिशत शेयर रहेकाले पनि एयरलाइन्सको अवस्था सुधारमा सरकारले कस्तो किसिमको पहल गर्छ भन्ने  अहिलेको अवस्थामा महत्वपूर्ण देखिएको छ।