
काठमाडौं।नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा धरणीधर खतिवडा नियुक्त भएका छन्।उनी यसअघि पनि महानिर्देशक बनेका थिए।उनले बुधवारनै पदवहाली समेत गरिसकेका छन्।
पूर्व सचिव खतिवडा पशुपति मुरारका अध्यक्ष भएपछि राजीनामा दिएका थिए।उनी प्रदीपजंग पाण्डेका पालामा महानिर्देशक नियुक्त भएका थिए। महासंघ स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नभएका बेला पारेर खतिवडालाई ल्याउने निर्णय भएको थियो।महासंघकी अध्यक्ष भवानी राणा, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ, किशोरकुमार प्रधान र चन्द्रप्रसाद ढकालसहितको पदाधिकारी बैठकले खतिवडालाई ल्याउने निर्णय गरिएको हो।
‘महासंघको सरकारसँग समन्वय हुन नसकेकोले खतिवडालाई ल्याइएको हो। महासंघका अधिकांश पदाधिकारीले उहाँको आवश्यकता महशुस गरेर ल्याइएको हो’ महासंघका एक केन्द्रीय सदस्यले भने। वरिष्ठ उपाध्यक्ष गोल्छालाई अप्ठेरोमा पार्नकै लागि खतिवडालाई ल्याइएको स्रोतको दाबी छ।‘महासंघको महानिर्देशकबाट राजीनामा दिएर गएका व्यक्तिलाई फेरि किन ल्याइयो?’ ती सदस्यले भने,’यसको सीधा अर्थ गोल्छालाई अप्ठेरोमा पार्नकै लागि हो।’ महासंघमा केही महिनादेखि निमित्त महानिर्देशक गोपाल तिवारी थिए।स्रोतका अनुसार खतिवडा भन्दा एक पद तल रहेर काम गर्न तिवारी तयार भइसकेका छन्।
महानिर्देशक खतिवडाले महासंघको छविलाई राष्ट्रिय/अन्तराष्ट्रिय रूपमा उच्च पार्दै यसका मुलभुत उद्देश्य सफल पार्ने कार्यमा सचिवालयका कर्मचारीहरूबाट आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।