
काठमाडौं। राष्ट्र बैंकले सोमबार उमेर हद तोकेपछि स्वत अवकाश भएका प्राइम बैंकका नारायणदास मानन्धरको ठाउँमा सञ्जिब मानन्धरलाई निमित्तको जिम्मेवारी दिइएको छ।
महाप्रबन्धक रहेका सञ्जिबलाई निमित्त प्रमुख कार्यकारी बनाइएको हो। सञ्जिब चार्टर्ड एकाउन्टेन्ट हुन्। नारायणदास १२ बर्षदेखि बैंकको सिइओ थिए। उनलाई गत शुक्रबार थप ४ बर्षका लागि प्रमुख कार्यकारी बनाइएको थियो।
राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै ६५ बर्ष पुगेकालाई प्रमुख कार्यकारी नियुक्त गर्न नपाउने ब्यवस्था गरेको थियो। पदमा बहाल रहेको ब्यक्ति छ भने उसले ६९ बर्षसम्म मात्र काम गर्न पाउने ब्यवस्था पनि थियो। यस हिसाबले मानन्धर ७० बर्ष नाघिसकेका छन्।
त्यसैले स्वत अवकाश भएका मानन्धरको ठाउँमा सञ्जिबलाई ल्याइएको हो। बैंकले प्रमुख कार्यकारी अधिकृत केही समयपछि नियुक्त गर्ने छ। सञ्चालक समितिका सदस्यहरुले उपयुक्त ब्यक्तिलाई चाँडै प्रमुख कार्यकारी नियुक्त गरिने जानकारी दिएका छन्। बैंकले सकभर भित्रैबाट प्रमुख कार्यकारी नियुक्त गर्ने छ।