
काठमाडौं । एनआईडिसी डेभलपमेन्ट बैंकले नबिल बैंकमा भएको आफ्नो सेयर अफलोड गर्ने भएको छ । एनआईडिसीले नबिलमा भएको ६.१५ प्रतिशत १४ लाख ९८ हजार ९१४ कित्ता सेयर विक्री गर्न लागेको हो । नबिलमा एनआईडिसी डेभलपमेन्ट बैंक एनबी इन्भेष्टमेन्ट, बीमा संस्थानपछिको तेस्रो ठूलो लगानीकर्ता हो । बैंकले संस्थापक सेयर समूह ‘ख’को सेयर लिलाम बढाबढबाट विक्री गर्न लागेको हो । बैंकले सेयर विक्रीका लागि २१ दिने सूचना जारी गरेको छ ।
एनआईडिसी डेभलपमेन्ट बैंकले प्रतिकित्ता १०२२ भन्दा नघट्ने गरी सेयर विक्रीका लागि टेण्डर आव्हान गरेको हो । नेपाल स्टक एक्सचेञ्जमा नबिल बैंकको प्रवद्र्धक सेयरको पछिल्लो कारोवार प्रतिकित्ता ११९० रुपयाँमा भएको छ । एनआईडिसीले कम्तिमा पनि सय कित्ता र त्यसभन्दा बढी दशले गुणन जाने गरी सेयर खरिद गर्नुपर्ने गरी लिलाम विक्रीको सूचना जारी गरिएको हो । पछिल्लो बजार मूल्य अनुसार बैंकको सेयर विक्री भएमा एनआईडिसीले कम्तिमा पनि एक अर्ब ७८ करोड रुपैयाँ प्राप्त गर्नेछ । बैंकले तोकेको न्युनत्तम मूल्यमा विक्री गरे पनि एनआईडिसीले एक अर्ब ५३ करोड रुपैयाँ प्राप्त गर्नेछ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सेयर क्रस होल्ड गर्न नपाउने व्यवस्था गरेपछि एनआईडिसी सेयर विक्रीका लागि बाध्य भएको हो । एनआईडिसीले केही समय पहिले एनसिएम म्यचुअल फण्डको संस्थापक सेयर समेत विक्री गर्न सूचना जारी गरेको थियो ।