काठमाडौं । एक अर्ब बौद्धमार्गीमध्ये एक प्रतिशतलाई नेपाल ल्याउने महत्वाकांक्षा राख्ने ललितमण्डप टुर्स एण्ड ट्राभल्सका सञ्चालक सुरज शाक्य बैंकको ऋण तिर्न नसकेपछि कालोसूचीमा परेका छन् ।
तीन वर्ष अघि ठूलै ‘पब्लिसिटी’का साथ ललितमण्डपको ‘रिब्राण्डिङ्ग’ गरेका शाक्यसहित उनकी श्रीमती जेनी कर्मचार्य शाक्य पनि कालोसूचीमा परेकी हुन् । पाटन फाइनान्सका पूर्व अध्यक्ष रहेका शाक्यले त्यही फाइनान्सबाट ऋण पनि लिएका छन् । उनलाई पाटन फाइनान्सको सिफारिशमा कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो ।
यस अघि २०६८ चैतमा पनि शाक्यलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको थियो । शाक्य कालोसूचीमा परेपछि वेपत्ता छन् । ललितमण्डप टुर्स एण्ड ट्राभल्स सन् १९९५ मा तीन जनाको साझेदारीमा सुरु गरिएको थियो । १२ लाख रुपैयाँको लगानीमा स्थापना गरिएको ललितमण्डपको चुक्ता पुँजी एक करोड रुपैयाँ पुगेको छ । आक्रमक ढंगले बजार विस्तार सुरु गरेपछि कम्पनी समस्यामा परेको थियो ।
ललितमण्डपले नेपालीलाई थाइल्याण्ड, सिंगापुर, मलेसिया लगायतका देशमा घुमाउने योजना सुरु गरेको थियो । आक्रमक बजार विस्तारले कम्पनी समस्यामा परेको थियो, त्यसले शाक्यको व्यवसायिक जीवन नै संकटमा पार्यो स्रोतले भन्यो ।
उता डन गणेश लामाको ‘क’ वर्गको कन्ष्ट्रक्सन कम्पनी सिरुवा कन्ष्ट्रक्शन पनि कालोसूचीमा परेको छ । कम्पनीलाई सनराइज बैंकले लामाको सिरुवा कन्ष्ट्रक्शनलाई कालोसूचीमा राखेको हो । यस अघि लामाको मेलम्ची कोन क्रसर उद्योग पनि कालोसूचीमा परेको थियो । सम्पत्ती शुद्धिकरण विभागले लामाको सम्पत्ती छानविनका लागि फ्रिज गरेपछि उनले ऋणको साँवा व्याज भुक्तानी गर्न सकेका छैनन् ।
