हिरासतबाट सुधिरले भने, अग्नी हत्याउन पक्राउ गराइयो, अझै थुने सर्वसाधरणको अर्बौं डुब्छ

बिजमाण्डू
२०६९ माघ १ गते ००:०० | Jan 14, 2013
हिरासतबाट सुधिरले भने, अग्नी हत्याउन पक्राउ गराइयो, अझै थुने सर्वसाधरणको अर्बौं डुब्छ

काठमाडौं । घरजग्गा व्यवसायी सुधिर बस्नेतले अग्नी एयर हत्याउने समूहका कारण आफु पक्राउ परेको बताएका छन् । ‘मेरो समस्यालाई अर्थमन्त्रालयले समाधानको प्रयास गरिरहेको थियो । संकट समाधान हुने देखेपछि अग्नी एयर हत्याउने समूहले पक्राउको रणनीति बनाएका हुन्,’ महानगरीय प्रहरी आयुक्तको कार्यालयमा प्रहरीले गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘त्यही समूहको षडयन्त्रमा मलाई पारियो ।’
गत वर्ष १८ करोड रुपैया कमाएको अग्नि एयरसँग पाँच वटा जहाज छन् ।  एयरलाइन्सलाई कर्जा प्रवाह गरेको बैंकले लिलामीको सूचना जारी गरेको दोस्रो दिन बस्नेत पक्राउ परेका थिए । अग्नीको तीन वटा बैंकमा ६८ करोड ऋण छ । ग्रान्ड बैंकको सहवित्तीयकरणमा सनराइज बैंक र आइएलएफसीले अग्नीमा लगानी गरेका छन् । अग्नी किन्न यती एयरलाइन्सका आङछिरिङ शेर्पा लागिपरेका छन् ।
उनले आफुलाई थुनामा राखिरहँदा हजारौ सर्वसाधरणको लगानी झन् डुब्ने बताए । ठगी मुद्धामा थुनामा रहेका बस्नेतले आइतबार थुना मुक्त गरेर सर्वसाधरणको लगानी डुब्न नदिन सरकारसँग अपिल गरे ।
‘मलाई थुनामा राखेर समस्या समाधान हुँदैन । यसले झन् समस्या बढ्छ,’ बस्नेतले भने, ‘म हिरासतमा बस्दा झन् सर्वसाधरणलाई घाटा हुन्छ । म भाग्ने आशंका भए मेरो राहदानी र नागरिकता राखे हुन्छ ।’ विभिन्न व्यक्तिको करिब चार करोड रुपैयाँका चेक बाउन्स भएको उजुरीका आधारमा उनी दश दिनअघि प्रक्राउ परेका थिए । घरजग्गा करोबार सप्रिएको बेला लगानी गरेका बस्नेत मन्दी आएपछि समस्यामा परेका हुन् ।
राम्रा ठाउँमा अपार्टमेन्ट र जग्गा किनेका बस्नेत पछिल्लो समयमा रकम अभावकै कारण अपार्टमेन्ट निर्माण सकेर हस्तान्तरण गर्न सकेका थिएनन् । उनले सर्वसाधरणको लगानी फिर्ता गर्न र अपार्टमेन्ट हस्तान्तरण गर्न कुनै समस्या नरहेको दावी गरे ।
उनले आफ्नो दायित्व भन्दा सम्पत्ति धेरै बढी रहेको बताए ।  मन्दीका कारण कारोबारमा सुधार आउन नसक्दा २ अर्ब २५ करोड ऋण रहेको उनले जानकारी दिए । उनले ग्राहकलाई नझुक्याएको बताउँदै समयमा अपार्टमेन्ट भने दिन नसकेको स्विकार गरे ।  मैले ‘चार सय ग्राहकलाई घर दिइसकेको छु,’ बस्नेतले भने, ‘अब सात सय जनालाई दिन बाँकी छ । त्यो पनि दिएरै छाड्छु ।’

Tata
GBIME
Nepal Life