श्रीमतीका गहना वेचेको पैसाले बन्यो भाटभटेनी, पोखरामा आजदेखि छैठौं स्टोर

बिजमाण्डू
२०६९ असार ३० गते ००:०० | Jul 14, 2012
श्रीमतीका गहना वेचेको पैसाले बन्यो भाटभटेनी, पोखरामा आजदेखि छैठौं स्टोर


पोखरा । भाटभटेनीले आफ्नो छैठौं स्टोर पोखरामा खोलेको छ । यस अघि भाटभटेनीले काठमाडौंको भाटभटेनी, महाराजगञ्ज, बौद्ध, कोटेश्वर र पुल्चोकमा स्टोर खोलिसकेको छ । शनिवारदेखि सुरु भएको पोखराको स्टोरमा दैनिक खाद्यान्न, लत्ताकपडा र विलासिताका साधनहरु उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । ‘प्रोडक्ट अफ पोखरा, प्राईड अफ नेपाल’ भन्ने मुल नाराका साथ सेवा संचालन गरेको स्टोरले घरेलु एवं स्थानीय उत्पादनलाई प्राथमिकता दिने भाटभटेनीका प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए ।
पोखरामा संचालित सुपरस्टोरमा पोखरा र आसपासका क्षेत्रमा उत्पादित दैनिक उपभोग्य बस्तु सहित तयारी पोशाक, खेलौना, विद्युतीय उपकरण सहित मनोरञ्जनका लागि बच्चाका खेलौना, रेष्टुँरा लगायतको सुविधा रहेको उनले बताए । पोखरामा विदेशी पर्यटक आउने भएकोले उनीहरुको घुम्ने र बजार गर्ने स्थलको रुपमा पनि यसलाई बिकास गर्न खोजेको उनले बताए । पोखराको न्यूरोडमा संचालनमा ल्याईएको बिक्रीकेन्द्र ७ रोपनी एक आना क्षेत्रफलमा फैलिएको छ । करिब ७५ करोड रुपैयाँ लगानीमा सुविधासम्पन्न बिक्री केन्द्र बनाईएको छ ।
उनले देशका अन्य मुख्य सहरमा पनि यस्तै बिक्रीकेन्द्र खोलेर बेरोजगारी समस्यालाई पनि घटाउँदै लैजाने प्रयास गर्ने बताए । पोखराको न्युरोडमा सुरु भएको भाटभटेनीमा स्थानीय कुटिर उद्योगका सामानहरु पनि राख्ने कम्पनीले शुक्रवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको थिए ।
शुक्रवारको पत्रकार सम्मेलनमा सञ्चालक मिनबहादुर गुरुङ सानो लगानीबाट पनि धेरै गर्न सकिन्छ भन्ने सोचाईलाई आफूले सफल बनाएको बताए । उनले आफूले विहेमा दिएको सुनको गहना विक्री गरेर सुरु गरेको स्टोरले आजको स्वरुप पाएको बताए । स्टोरको लगानी अहिले झण्डै पाँच अर्बभन्दा माथि पुगिसकेको छ ।
गुरुङले २५ वर्ष पहिले जम्मा १२० स्क्वायर फिटको ठाउँबाट भाटभटेनी सुरु गरेका थिए । अहिले भाटभटेनीका पाँच वटा चेन स्टोरमा दैनिक ३० हजार ग्राहक पुग्छन् भने खुद्रा विक्रेतामा भाटभटेनी सबैभन्दा ठूलो करदाता हो । सन् १९८४ मा गुरुङले एक सटर भएको स्टोरमा सुरु गरेको स्टोर अहिले झण्डै दश लाख स्क्वायर फिटभन्दा बढीको क्षेत्रफलमा फैलिउको छ । भाटभटेनीमा अहिले १५ सयभन्दा बढी कर्मचारी छन् भने एक लाख भन्दा एक लाखभन्दा बढी भेराइटीको सामान उपलब्ध हुन्छ । भाटभटेनीले अहिले आफ्नै कृषि फार्म खोल्ने गरी तयारी गरिरहेको छ । फार्म खुले आगामी केही वर्षमा ५० हजारभन्दा बढीलाई रोजगारी प्रदान गरिने, गुरुङले जानकारी दिएका छन् ।

Tata
GBIME
Nepal Life