नेपालगञ्जमा बागेश्वरी क्युएफएक्स सिनेमा हल निर्माण, असार मसान्तसम्म सञ्चालनमा ल्याउने

बिजमाण्डू
२०७३ असार १४ गते ००:०० | Jun 28, 2016
नेपालगञ्जमा बागेश्वरी क्युएफएक्स सिनेमा हल निर्माण, असार मसान्तसम्म सञ्चालनमा ल्याउने
  • पवन तिमिल्सिना/बिजमाण्डू

काठमाडौं । नेपालगञ्जमा सुविधा सम्पन्न सिनेमा हल संचालनमा आउने भएको छ । ८ करोडको लगानीमा क्युएफएक्स समुहले सुविधा सम्पन्न हल संचालनमा ल्याउन लागेको हो ।

नेपालगञ्जमा संचालनमा रहेको बागेश्वरी हललार्इ नयाँ रुप दिएको हलको व्यवस्थापन समेत क्युएफएक्सले गर्नेछ । उपत्यका बाहिर क्युएफएक्सको दोस्रो फेन्चाइजी हो । यो भन्दा पहिला चितवनको जलमा हल क्युएफएक्सको व्यवस्थापनमा संचालनमा छ ।  नेपालगञ्जमा पहिलोपटक ड्युलप्लेक्सको रुपमा बागेश्वरी क्युएफएक्स संचालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ ।

विश्वमै क्युएफएक्स सिनेमा हलको अवधारणा अनुसार नेपालमा विस्तार गरिएको क्वेष्ट इन्टरनेशनलका सञ्चालक नकिम उद्धिनले बताए। उनले भने, 'क्युएफएक्स हलमा अन्तराष्ट्रिय फ्लेबरमा फिल्म हेर्न पाइन्छ।' नेपालगञ्जको न्युरोडमा सञ्चालनमा आइरहेको बागेश्वरी सिनेमा हललाई पुन: निर्माण गरी नयाँ क्युएफएक्स निर्माण गरेको हलका सञ्चालक राजेश श्रेष्ठले जानकारी दिए । ६ कठ्ठा जग्गामा दुई तल्ले भवनमा यो हल निर्माण भएको छ । उनका अनुसार यसमा दुईवटा हलहरु  हुनेछन् ।  प्रत्येक हलमा सात सय जनासम्म अट्ने उनले बताए । उनले भने,'यस हललाई कुमारी हलकै शैलीमा रिनोभेसन गर्न लागिएको हो।'

असार ३१ गतेबाट सञ्चालनमा आउन लागेको यो हलमा करिब फिनिसिङको काम लगभग सकिसकेको छ । आठ महिना अगाडी नै यसको रिनोभेसन सुरु भएको उनले जानकारी दिए ।टिकट केही महँगो भएपनि आरामदायी तरिकाले फिल्म हेर्न सकिने भएकोले दर्शकहरुले रुचाउने उनले बताए 'यो नेपालगञ्जको मात्र नभई मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल क्षेत्रकै पनि पहिलो सुविधासम्पन्न हल हो ',श्रेष्ठले भने, 'अब यहाँका चलचित्रप्रेमीहरुले पनि नयाँ प्रविधिमा चलचित्रको मज्जा लिन पाउनेछन्।'

यो हल 'फ्राचाइजी मोडल' मा  बनेको क्युएफएक्सको व्यवस्थापनका सिइओ रोसन अधिगाले बताए ।  हलमा कृष्टि कम्पनीको सोलारिया वान प्रविधिको प्रोजेक्टर सिस्टमको प्रयोग गरिनेछ। यो  प्रविधि काठमाडौंका क्युएफएक्स जस्तो नभएपनि नेपालगञ्जको लागि उत्कृष्ट हुने उनले जानकारी दिए।
हाल फोर के प्रविधि नेपालमा भित्रीसकेको भएपनि हलमा टु के प्रविधिबाट नै फिल्म देखाइने छ। यद्यपी थ्रीडी प्रविधि सहित क्युएफएक्स मापदण्डका अन्य सुविधाहरु भने राखिएको अधिगाले जानकारी दिए। यस अगाडी लामो लाइनबाट फिल्मको टिकट लिनुपर्ने बाध्यताबाट भने नेपालगञ्ज वासी मुक्त हुने अधिगाले बताए। अनलाईन बुकिङको सुविधा भएकाले टिकटका लागि दर्शक हलसम्म धाउनुपर्दैन् ।

Tata
GBIME
Nepal Life