काठमाडौँ । लगानी बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत पाँच ठूला आयोजना निर्माण र सुधार गर्न स्वीकृति दिएको छ । बोर्डले माथिल्लो मस्र्याङ्दी र माथिल्लो कर्णालीको क्षमता स्तरोन्नतीको स्वीकृती पनि दिएको छ । बोर्डले माथिल्लो मस्र्याङ्दी जलविद्युत आयोजनाको क्षमता साढे दुई सय मेगावाटबाट साढे छ सय मेगावाट पुर्याउन स्वीकृति दिएको छ । लगानी बोर्डले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको समेत क्षमता बढाउन स्वीकृति दिएको छ ।
प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष डा बाबुराम भट्टराईको अध्यक्षतामा मंगलवार बसेको बैठकले तीन सय मेगावाटको माथिल्लो कर्णालीलाई नौ सय मेगावाटमा स्तरोन्नती गर्न स्वीकृति दिएको हो । यी दुवै परियोजना प्रवद्र्धक कम्पनी भारतको जिएमआर हो । बोर्डले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक सतलज पावर कम्पनी र माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माता जिएमआरलाई छ महिना सर्वेक्षण अनुमतिको म्याद थप गरेको छ । त्यसैगरी बोर्डले ती आयोजनाको सम्पर्क कार्यालय भारतमा स्थापना गर्ने अनुमति दिएको छ ।
पाँच सय मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् परियोजना, सरकारले तोकेका द्रुतमार्ग, सुरुङमार्ग, रेलमार्ग, रज्जुमार्ग र ट्रलीबस आयोजनाका कार्यक्षेत्र रहेको बोर्डले अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरका विमानस्थलको आधुनिकीकरण एवम् व्यवस्थापन गर्ने कामलाई समेत अगाडि बढाएको छ । बोर्डले तामाकोसी तेस्रो जलविद्युत् आयोजना, पाँचतारे होटल, भौतिक पूर्वाधार विकास बैंक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, उत्तर–दक्षिण करिडोर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तर वृद्धि गर्ने कामलाई समेत अगाडि बढाएको छ ।
