
काठमाडौं । नेपाल औद्योगिक विकास निगमसँग पुस मसान्त भित्र मर्ज भएपछि राष्ट्रिय बाणिज्य बैंक पुँजी संरचनाका आधारमा नेपालको दोस्रो ठूलो बाणिज्य बैंक बन्ने भएको छ । नौ अर्ब ४३ करोड रुपैयाँको चुक्ता पुँजीसहित अहिले कृषि विकास बैंक नेपालको सबैभन्दा ठूलो बाणिज्य बैंकका रुपमा कारोवार गरिरहेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको पुँजी योजना अनुसार राष्ट्रिय बाणिज्य बैंक आगामी पुस मसान्तसम्ममा आठ अर्ब ५० करोड रुपैयाँ पुँजीसहितको दोस्रो ठूलो बाणिज्य बैंक बन्ने छ ।
पूर्ण सरकारी स्वामित्वमा भएको राष्ट्रिय बाणिज्य बैंकको अहिले ३८ करोड ५३ लाख रुपैयाँ मात्र चुक्ता पुँजी छ । पुँजीका हिसावले यो सबैभन्दा कम चुक्ता पुँजी भएको नेपाल बैंकभन्दा ५० लाख मात्र बढी पुँजी भएको बैंक हो । राष्ट्र बैंकको असार २४ गते बसेको सञ्चालक समितिले स्वीकृत गरेको पुँजी संरचना अनुसार राष्ट्रिय बाणिज्य बैंक पुस मसान्त भित्र एनआईडिसीसँग मर्ज हुनुपर्दछ । एनआईडिसीसँग मर्ज भएपछि बैंकको चुक्ता पुँजी ४१ करोड ५८ लाखले बढ्ने छ । राष्ट्र बैंकले एनआईडिसीको कितावी मूल्यमा मर्ज गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
त्यसैगरी पुँजी वृद्धिका लगि राष्ट्र बैंकले बाणिज्य बैंकसँग रहेको ७८ करोड ७० लाख रुपैयाँको एक प्रतिशत प्रिफेरेन्स शेयरलाई साधरण शेयरमा जारी गर्नेछ । त्यसैगरी राष्ट्र बैंकले सरकारलाई तिर्न बाँकी आठ करोड ६५ लाख रुपैयाँ लाभांशलाई शेयर पुँजीमा परिवर्तन गर्ने, विश्व बैंकबाट एसडिआर ऋणवापत प्राप्त ३० वर्षको भुक्तानी अवधि रहेको दुई अर्ब ५० करोड रुपैयाँलाई पनि शेयर पुँजीमा परिवर्तन गर्न राष्ट्र बैंकले स्वीकृती दिएको छ । त्यसबाहेक नेपाल सरकारबाट नगद वा बण्डका रुपमा चार अर्ब ३२ करोड ५३ लाख रुपैयाँ प्राप्त गर्ने र त्यसलाई पनि शेयर पुँजीमा परिवर्तन गर्ने बाणिज्य बैंकको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत गरेको छ । राष्ट्र बैंकले आगामी छ महिना भित्र बाणिज्य बैंक र एनआइडिसीको ड्यु डेलिजेन्स अडिट (डिडिए) पनि सक्न दुवै बैंकलाई निर्देशन दिएको छ । राष्ट्रिय बाणिज्य बैंकले तयार गरेको प्रस्तावलाई नेपाल सरकारले स्वीकृत गरेपछि थप कारवाहीका लागि राष्ट्र बैंक पठाइएको थियो ।