बैंकर संघ अध्यक्षमा भन्डारी निर्विरोध, औपचारिक घोषणा भोली साँझ

बिजमाण्डू
२०६९ मंसिर २१ गते ००:०० | Dec 6, 2012
बैंकर संघ अध्यक्षमा भन्डारी निर्विरोध, औपचारिक घोषणा भोली साँझ
काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा सिटिजन्स् बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भन्डारी निर्विरोध निर्वाचित भएका छन् । वुधबारसम्म आफ्नो उमेद्वारी दर्ता गराइसक्नु पर्नेमा भन्डारीवाहेक कसैले पनि दर्ता नगराएका कारण उनी निर्विरोध निर्वाचित भएका हुन् । उनी अध्यक्ष भएको औपचारिक घोषणा शुक्रबार निर्वाचन समितिले गर्ने छ ।
वर्तमान कार्यसमितिका उपाध्यक्ष भन्डारीले एक साताअघि नै अध्यक्षका लागि संघमा आवेदन दर्ता गराइसकेका थिए । वर्तमान अध्यक्ष अशोक राणाले एक कार्यकालभन्दा अर्को नदोहोर्याउने भन्दै दुई वर्षअघिको चुनाव जितेका कारण भन्डारीलाई सजिलो भएको हो । अघिल्लो निर्वाचनमा प्रतिस्पर्धा भएर बैंकरबीच फाटो उत्पन्न भएपछि यसपाली एकिकृत रुपमा जाने भन्दै निर्विरोध अध्यक्ष छान्ने पक्षमा सबै बैंकर एकमत थिए ।
नौं महिनाअघि अध्यक्षवाहेक कार्यसमितिको लागि भएको निर्वाचनताका आगामी अध्यक्ष शोभनदेव पन्तलाई बनाउन पनि बैंकरबीच छलफल भएको थियो । त्यसबेला आगामी अध्यक्षका लागि भन्दै तत्काल उपाध्यक्षमा उठाउन लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत पन्तलाई अगाडि सारिएको थियो । तर, उनले नमानेपछि एनएमबी बैंकका उपेन्द्र पौडेललाई उमेद्वार बनाइएको थियो ।
अघिल्लो वर्ष एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशी र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत राणाबीच प्रतिस्पर्धा भएको थियो । यो प्रतिस्पर्धापछि बैंकरबीच फुट भएकाले यसपाली निर्विरोधको तयारी भएको हो । संघमा ३२ वटै वाणिज्य बैंक र २ वटा विकास बैंक सदस्य छन् । विकास बैंकका तर्फबाट एसडेभलपमेन्ट बैंक र एनआइडिसी डेभलपमन्ट बैंक सदस्य छन् ।

Tata
GBIME
Nepal Life