देशको जनसंख्या तीन करोड, करदाता जम्मा आठ लाख, कर सहभागिता बढाउन प्रधानमन्त्रीको अपिल

बिजमाण्डू
२०६९ मंसिर २ गते ००:०० | Nov 17, 2012

काठमाडौँ । मुलुकको जनसंख्या तीन करोड पुगेको छ तर देशमा जम्मा आठ लाखले मात्र कर तिर्ने गरेका छन् । जनसंख्याको अनुपातमा कर तिर्ने संख्या ज्यादै न्युन भएपछि सरकारले अभियान सुरु गरेको छ ।
आन्तरिक राजस्व विभागले भ्याट लागू भएको दिनलाई स्मरण गर्दै मंसिर १ गतेलाई राष्ट्रिय कर दिवका रुपमा मनाउने निर्णय गरेको छ । शुक्रवार मनाइएको पहिलो कर दिवसमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कर सहभागिता बढाउनुपर्ने बताए ।
कृषिबाहेक अन्य पेसा र व्यवसाय अँगालेकाहरू करको दायरामा नआएको आँैल्याउँदै प्रधानमन्त्रीले उनीहरुलाई करको दायरामा ल्याउन पहल थाल्ने बताए । प्रधानमन्त्री भट्टराईले कर प्रणालीलाई अझ बढी करदाता मैत्री एवम् योगदानमूलक बनाउन आवश्यक भएको समेत बताए ।
उनले कर प्रणाली एवम् कर प्रशासनमा व्यापक सुधार आवश्यक भएको समेत औंल्याए । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि करको आधार र कर सहभागिता बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री भट्टराईले सरकारी निकायमा दर्ता नभई आर्थिक गतिविधि सञ्चालन गर्नेलाई औपचारिक अर्थ व्यवस्थामा समाहित गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिए ।
उनले पूर्ण बजेट जारी गर्ने सरकारी तयारीलाई सघाउन विपक्षी दललाई आग्रह समेत गरे । कार्यक्रममा प्रधानमन्त्री भट्टराइले उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजना, निर्माण तथा यातायात व्यवस्थामन्त्री हृदयेश त्रिपाठी, उद्योगमन्त्री अनिल झा र पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीलाई व्यक्तिगत कर खाता (प्यान) ‘कार्ड’ वितरण गरेका थिए ।    
कार्यक्रममा पाँचवर्षे रणनीति’ र ‘तीनवर्षे सुधार योजना’ सार्वजनिक गरिएको थियो । अर्थमन्त्री वर्षमान पुनले आन्तरिक स्रोतको पर्याप्त परिचालनबाट लगानीको आधार सुदृढ बनाउन सकिने बताए । उनले निजी क्षेत्रका समस्या समाधान गर्न सरकार क्रियाशील रहेको समेत बताए ।
चालु आर्थिक वर्षको तीन महिनामा राजस्व सङ्कलन लक्ष्यअनुरूप भइरहेको जानकारी दिँदै कुल गार्हस्थ्य उत्पादनमा करिब १५ प्रतिशतले योगदान गरेको अर्थमन्त्री पुनले बताए । अर्थ सचिव शान्तराज सुवेदीले समयमा कर तिर्न सम्बद्ध सबैलाई अनुरोध गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यले करका दायरा बढाउनुपर्ने, स्वदेशी तथा विदेशी लगानीका निम्ति उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिँदै सरकारसँग हातेमालो गर्दै निजी क्षेत्र अघि बढ्न तयार रहेको बताए ।
विभागका महानिर्देशक टङ्कमणि शर्माले मूल्यअभिवृद्धि कर (भ्याट) लागु भएको मङ्सिर १ गतेलाई राष्ट्रिय कर दिवसका रूपमा मनाउने निर्णय भएको जानकारी दिए । अबदेखि हरेक वर्ष सोही दिन राष्ट्रिय कर दिवस मनाएर नागरिकलाई कर तिर्न झक्झक्याइने बताए । विसं २०५४ देखि भ्याट लागु भएको हो । राज्यकोषमा सर्वाधिक योगदान पनि भ्याटबाट हुने गरेको छ ।

Tata
GBIME
Nepal Life