भारतको ‘गतिशक्ति मोडल’ नेपालमा लागू हुने, मोदीको उपस्थितिमा बालेनलाई ब्रिफिङ

बिजमाण्डू
२०८३ मंसिर ८ गते १३:५० | Nov 24, 2026
भारतको ‘गतिशक्ति मोडल’ नेपालमा लागू हुने, मोदीको उपस्थितिमा बालेनलाई ब्रिफिङ
'गतिशक्ति’ मोडलबारे प्रधानमन्त्री बालेन्द्र शाहलाई नरेन्द्र मोदीको उपस्थितिमा ब्रिफिङ गरिंदै

काठमाडौं। पूर्वाधार विकास तथा आयोजना व्यवस्थापनमा भारतले प्रयोग गरिरहेको ‘गतिशक्ति मोडल’ नेपालमा पनि लागू हुने भएको छ।

GBIME
Tata

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा ‘गतिशक्ति मोडल’ नेपालले आफ्नो आवश्यकता अनुसार लागू गर्ने सहमति भएको छ।

‘समुन्नत नेपाल र विकसित भारत’ निर्माणका लागि स्वीकृत गरिएको भिजन पेपरमा ‘पीएम गतिशक्ति’ योजनालाई नेपालले आफ्नै भौगोलिक तथा विकाससम्बन्धी प्राथमिकताअनुसार अवलम्बन गर्न सक्ने उल्लेख छ।

प्रधानमन्त्री बालेन र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच वार्तापछि २४ बुँदे संयुक्त वक्तव्य जारी गर्नुअघि बालेनलाई ‘गतिशक्ति’का बारेमा ब्रिफिङ गरिएको थियो।

भारत सरकारले आफूले सबै पूर्वाधार परियोजनालाई एउटै डिजिटल प्लेटफर्मबाट योजना, समन्वय र अनुगमन गर्न बनाएको ‘गतिशक्ति नेसनल मास्टर प्लान’ नेपालमा पनि लागू गर्न प्रस्ताव गरेको थियो।

एउटा मन्त्रालयले सडक बनाउने, अर्कोले पाइपलाइन बिछ्याउने, अर्कोले विद्युत् लाइन राख्ने र अर्कोले रेलमार्ग बनाउने क्रममा समन्वय नहुँदा एउटै स्थानमा दोहोरो/तेहेरो काम तथा खर्च हुने समस्या देखिएकाले भारतले ‘गतिशक्ति मोडल’मा पूर्वाधारका आयोजना निर्माण गर्दै आएको छ।