एनपीएलको क्रेजपछि एनएफएलमा खनिंदैछन् कर्पोरेट, तीन टोलीका लागि २० प्रतिस्पर्धी

मुकुन्द घिमिरे
२०८३ मंसिर ८ गते १९:०३ | Nov 24, 2026
एनपीएलको क्रेजपछि एनएफएलमा खनिंदैछन् कर्पोरेट, तीन टोलीका लागि २० प्रतिस्पर्धी

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सकिएलगत्तै कर्पोरेटको नजर फुटबलमा परेको छ।

GBIME
Tata

आफ्नो साख जोगाउन संघर्ष गरिरहेको फुटबल अन्तर्गत नेपाल फुटबल लिग (एनएफएल)मा लगानीका लागि कर्पोरेटको रेस सुरु भएको छ। यो रेसमा देशका ठूला व्यापारिक घराना करोडौं लगानी गर्न तम्सिएका छन्।

यसअघि नेपाल सुपर लिग (एनएसएल) खेलेका ७ टोलीमा अब ३ टोली थप्न लागिएको छ। एनपीएलकै चार फ्रेन्चाइजमा लगानी गरिरहेका मिडिया घराना, डिस्टिलरी, अटोमोबाइल्स र हस्पिटालिटी बिडिङमा सहभागी भएका छन्। यसले पनि क्रिकेटसँगै फुटबलको क्रेज बढ्दै गएको देखाउँछ।

एनएफएलमा तीन नयाँ टोली थप्न आह्वान गरिएको बोलपत्रमा २० वटा प्रस्ताव परेको छ। त्यसमध्ये छनोट हुने तीन टिमले मात्रै लिग खेल्न पाउनेछन्।

आयोजकले जनाएअनुसार आठ शहर लक्षित गरी खोलिएको बोलपत्रमा २० वटा प्रस्ताव प्राप्त भएको छ। पेस गरिएका बिडिङ रकम, व्यावसायिक तथा वित्तीय पृष्ठभूमि, सामाजिक विश्वसनीयता र १० वर्ष क्लब सञ्चालन योजनाका आधारमा तीन टोली छनोट गरिनेछ।

‘टेक्निकल विश्लेषण भइरहेको छ, बुधबारसम्म सायद फाइनल हुन्छ,’ एनएफएलका म्याच कमिस्नर राजु घिसिङले बिजमाण्डूसँग भने।

नयाँ टोलीका लागि विराटनगर, धरान, जनकपुर, वीरगंज, हेटौंडा, भक्तपुर, नेपालगंज र सुर्खेतका लागि प्रस्ताव माग गरिएको थियो।

घोषणा गरिएको सात वर्षमा तीनपल्ट आयोजित एनएसएल छाडेका ७ क्लब काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी एनएफएलका संस्थापक हुन्।

यसक्रममा एनपीएलका क्लबहरु कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र विराटनगर किंग्सले पनि बिडिङमा भाग लिएका छन्।

कर्णाली याक्सका संचालक गृहेन्द्र घिमिरेले फुटबलमा समेत लगानीका लागि छलफल भइरहेको जानकारी दिए। यीमध्ये धेरै जनाको स्वामित्व रहेका केही क्लबमा लगानी थप्ने विषयमा ठूलो आन्तरिक समझदारी पनि भएको छैन।

एनएफएलमा लगानी गर्न तम्सिनेमा एमएम पोलिमर, सरोवर ग्रुप, जगदम्बा ग्रुप, हिमालय डिस्टिलरी, समानान्तर टावर, टेस्ला मोटर्स, एसआर ग्रुपलगायत छन्। तर, नेपालस्थित टेस्ला गाडी बिक्री गर्दै आएको अरित इन्टरनेसनलले भने फुटबलमा लगानी गर्न लागेको विषय अस्वीकार गरेको छ।

केही घरानाले पुराना क्लबको सेयर लिएका छन्। धनगढी एफसी र काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालिबीच साझेदारी भएको छ। दुई संस्थाको सहकार्यमा फुटबल, क्रिकेटसहित अन्य खेलकुद गतिविधि सञ्चालन गर्ने उद्देश्यले सुदूरपश्चिम स्पोर्ट्स भेन्चर्स कम्पनी स्थापना गरिएको छ।

नयाँ कम्पनीमा धनगढी एफसीका सञ्चालक सुवाश शाही र काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको समान लगानी रहनेछ। सम्झौताअनुसार डा. उपेन्द्र महतो नयाँ कम्पनीको अध्यक्ष, सुवाश सञ्चालक र अनुभव स्वाँर सिरोहिया कार्यकारी निर्देशक रहनेछन्। कम्पनीको सञ्चालक समितिमा अन्य सदस्य थप्दै जाने जनाइएको छ।

काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको टोली काठमाडौं गोर्खाजले एनपीएलमा प्रतिस्पर्धा गर्दै आएको छ। यसमा कान्तिपुर पब्लिकेसन, डा. उपेन्द्र महतो र याक एन्ड यति होटेल साझेदार छन्। यस साझेदारीसँगै क्रिकेटमा लगानी गरिरहेको संस्थाले फुटबलसहित अन्य खेलकुदमा समेत आफ्नो संलग्नता विस्तार गर्न लागेको हो।

नयाँ कम्पनीअन्तर्गत धनगढी एफसीले हालै घोषणा भएको एनएफएलमा सहभागिता जनाउनेछ। यसका साथै ग्रासरुट फुटबल र महिला फुटबलको विकासका लागि पनि लगानी गर्ने योजना बनाइएको छ।

छ वर्षअघि स्थापना भएको धनगढी एफसीले फ्रेन्चाइज मोडलमा सञ्चालित एनएसएलका तीन संस्करणमा प्रतिस्पर्धा गरिसकेको छ।

यी सात क्लब र नयाँ तीन टिमसहित १० टोलीले ‘होम एन्ड अवे’का आधारमा एनएफएलमा प्रतिस्पर्धा गर्नेछन्। पहिलो संस्करण फागुन १ गते सुरु हुनेछ।