भुर्तेलको अलराउण्ड प्रदर्शनमा यूएईमाथि नेपालको जित, लज्जास्पद हारपछि कमब्याक!

बिजमाण्डू
२०८३ मंसिर ६ गते १६:५१ | Nov 22, 2026
भुर्तेलको अलराउण्ड प्रदर्शनमा यूएईमाथि नेपालको जित, लज्जास्पद हारपछि कमब्याक!
कुशल भुर्तेल। फाइल तस्बिर: क्यान

काठमाडौं। नेपाली क्रिकेट टोली यूएईलाई हराएको छ। एसियन कप राइजिङ स्टार्समा आज सम्पन्न खेलमा नेपालले यूएईलाई ६ विकेटले हराएको हो। अघिल्लो खेलमा भारत ‘ए’सँग लज्जास्पद हार ब्यहोरेको नेपालले दोस्रो खेलमा कमब्याक गर्न सफल भएको हो।

GBIME
Tata

कतारको दोहामा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले ३९.५ ओभरमा १२१ रन बनाएर अलआउट भएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले २३ औँ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो।

नेपाललाई जिताउन कुशल भुर्तेलको अलराउण्ड प्रदर्शन महत्वपूर्ण रह्यो। भुर्तेलले ब्याटिङमा ५४ बलमा ६ चौका र १ छक्काको सहायतामा ५७ रन बनाउँदा बलिङमा ५ ओभरमा २ मेडन राख्दै १५ रन दिएर ३ विकेट लिए।

भुर्तेलबाहेक मयन यादवले २७ रन बनाउँदा बसीर अहमदले अविजित १८ रन बनाए।

त्यसअघि यूएईले सुरुवाती ब्याटिङ गर्दै ३९.५ ओभरमा अलआउट हुँदै १२१ रन बनाएको थियो।

खेलमा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ रोजेका थिए। पहिला ब्याटिङमा उत्रिएको यूएईले नेपालको कसिलो बलिङसामू प्रभाव देखाउनै सकेनन्। ओपनर आर्यांस शर्मा र अंश टण्डन दोहोरो अंक नजोड्दै पभेलियन फर्किँदा मोहम्मद सहदादले सर्वाधिक ४०, हरप्रीत सिंहले ३२ तथा नुरुल्ला अयोबीले १२ रनको योगदान दिए।

बलिङमा कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलको बलिङ घातक रह्यो। कप्तान लामिछानेले आफ्नो स्पेल बलिङ गर्दा १.१० को इकोनमीमा ३ मेडन राख्दै ३ विकेट लिए। उनले १० ओभरमा मात्रै १५ रन खर्चिए। त्यस्तै, कुशल भुर्तेलले ३ को इकोनमीमा २ मेडन राखेर ३ विकेट लिए। त्यसबाहेक नन्दन यादव, ललित राजवंशी र राशिद खानले समान १ विकेट लिए।

नेपालले अब अर्को खेलमा पाकिस्तान ‘ए’ सँग मंगलबार खेल्नेछ।