प्रधानमन्त्री बालेन राजकीय भ्रमणका लागि दिल्ली प्रस्थान, विमानस्थलमा विराजभक्तले गरे बिदाइ

बिजमाण्डू
२०८३ मंसिर ६ गते १४:०५ | Nov 22, 2026
प्रधानमन्त्री बालेन राजकीय भ्रमणका लागि दिल्ली प्रस्थान, विमानस्थलमा विराजभक्तले गरे बिदाइ

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। उनी केहीबेरअघि नेपाल वायुसेवा निगमको जहाजमा नयाँ दिल्ली उडेका हुन्।

GBIME
Tata

कार्यबाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले विमानस्थल पुगेर बालेनको बिदाइ गरेका छन्।

बालेनको सरकारी भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राई, उद्योगसचिव रुद्र सिंह तामाङ, लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब, प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियार, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी र लोक बहादुर पौडेल क्षत्री, शिष्टाचार महापाल कुमार राज खरेल, अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोल लगायत ३५ जना छन्।

बालेन अपराह्न ३ बजे नयाँ दिल्ली पुग्नेछन्। नयाँ दिल्लीमा उनले साँझ ६ बजे भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने तालिका छ।

साँझ ७ बजे नेपाल भारत बिजनेस फोरमको कार्यक्रम हुनेछ। कार्यक्रमका लागि नेपालबाट प्रधानमन्त्री बालेनसँगै चार दर्जन उद्योगी व्यवसायी भारत गएका छन्।

बालेनले सोमबार बिहान ११ बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्। मोदीसँगको भेटवार्तापछि बिहान ११: ५० बजे प्रतिनिधिमण्डलस्तरमा छलफल हुनेछ।

वार्तापछि केही परियोजनाको भर्चुअलरुपमा उद्‍घाटन र समझदारीपत्रमा हस्ताक्षरको तालिका छ।

भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजना उद्‍घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र समेत आदानप्रदान गरिनेछ।

त्यसपछि बालेनको सम्मानमा मोदीले दिवाभोज राखेका छन्। दिवाभोजमा सहभागी भएपछि बालेन अपराह्न ३:१५ बजे भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गरी ४:५० बजे काठमाडौंका लागि उड्नेछन्।