मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले भने- सरकारमा सबै दललाई सहभागी गराउँछु

बिजमाण्डू
२०८३ मंसिर ६ गते १२:५७ | Nov 22, 2026
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले भने- सरकारमा सबै दललाई सहभागी गराउँछु

काठमाडौं। नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा सर्वदलीय सरकार बनाउने बताएका छन्।

GBIME
Tata

उनले आइतबार प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसँगपद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराई सर्वदलीय सरकार बनाउने बताएका हुन्।

‘मेरो चाहना सबै दल मिलेर सरकार बनाउने हो। म त्यही भावनाअनुसार दलहरुसँग छलफल अगाडि बढाउँछु,’ मुख्यमन्त्री यादवले भने, ‘मेरो नेतृत्वको सरकारमा सबै दल सहभागी हुन्छन् भन्ने विश्वास छ।’

शपथग्रहण समारोहमा नेपाली कांग्रेस नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका नेता भने अनुपस्थित थिए। प्रदेश प्रमुख कर्णले प्रदेश सभामा सबैभन्दा बढी सदस्य रहेको दलका संसदीय दलका नेताका नाताले यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि मंसिर ४ गते अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेकामा निर्धारित समयभित्र कुनै पनि दलबाट दाबी पेस भएको थिएन। रासस