विराटनगरमाथिको थ्रिलर जितले लुम्बिनी क्वालिफायरमा, प्लेअफ खेल्ने सबै टोलीको लाग्यो टुंगो

मुकुन्द घिमिरे
२०८३ कात्तिक २८ गते २०:५४ | Nov 14, 2026
विराटनगरमाथिको थ्रिलर जितले लुम्बिनी क्वालिफायरमा, प्लेअफ खेल्ने सबै टोलीको लाग्यो टुंगो
जितपछि लुम्बिनीको सेलिब्रेसन। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

काठमाडौं।  नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ खेल्ने चारवटै टोलीको टुंगो लागेको छ। प्रतियोगितामा आज सम्पन्न खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई अन्तिम ओभरमा हराउँदा चारवटै प्लेअफ खेल्ने टोलीको टुंगो लागेको हो।

GBIME
Tata

लुम्बिनीसँगै सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोज प्लेअफमा पुगेका छन्। लुम्बिनीले भने शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्ने पक्का भएको छ। क्वालिफायरमा जित्ने टोलीले सिधै फाइनलमा स्थान बनाउँछ।

लुम्बिनीका कप्तान रोहित पौडेलको एग्रेसन

आज सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको उत्रिएको लुम्बिनीले अन्तिम बल बाँकी छँदा ६ विकेट गुमाएर लक्ष्य भेट्टाउँदै ४ विकेटको जित निकालेको हो।

थ्रिलर खेलको अन्तिम ओभरमा लुम्बिनीलाई जितका लागि १६ रन चाहिएको थियो। बलिङमा रुपेश सिंह आए। क्रिजमा थिए अलि शेख र सन्दीप जोरा।

पहिलो डेलिभरीमा शेखले नोबलमा छक्का प्रहार गर्दा लुम्बिनीले ७ रन जोड्यो। फ्रि हिटमा शेखले दुई रन जोडे। दोस्रो बलमा एक रन जोड्दा स्ट्राइकमा जोरा आए। तेस्रो बलमा जोराले पनि १ रन जोडे। चौथो बलमा छक्का हान्ने सुरमा शेख बाउन्ड्री नजिक क्याचआउट हुन पुगे। अब,  अन्तिम दुई बलमा लुम्बिनीलाई ५ रन चाहिएको थियो। तर, रुबेन ट्रम्पलमेनले छक्का प्रहार गर्दै लुम्बिनीलाई जिताए।

अन्तिम बाउन्ड्री। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू

त्यस्तै, लुम्बिनीलाई आशिफ शेख र डार्सी सर्टले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। तर, मध्यक्रमको विकेट लिएर विराटनगरले मोमेन्टम आफ्नो पक्षमा पार्‍यो। विराटनगरलाई अन्तिम ओभरको पहिलो बलमा नोबलमा छक्का भारी पर्‍यो।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो।

सुरुवाती ब्याटिङमा उत्रिएको विराटनगरका लागि चरिथ असलंकाले अर्धशतकीय इनिङ्स खेल्दै स्कोर उकासे। उनले ४३ बलमा १ चौका र छक्ककाको सहायतामा ६४ रन बनाए।त्यस्तै, शुभम रञ्जनीले अविजित ३१ रन बनाए।

इमरान शेख रिटार्यड हर्ट भए।

त्यसअघि रिटायर्ड हर्ट भएका ओपनर इमरान शेखले २४ रन बनाउँदा लोकेश बम १५ रन बनाएर पभेलियन फर्किए।

बलिङमा किशोर महतोले २ विकेट तथा रुबेन ट्रम्पलमेन र अभिषेश गौतमले समान १/१ विकेट लिए।  

लुम्बिनीको सेलिब्रेसन।

आजको नतिजासँगै विराटनगर किंग्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स अब मैदानमा नहुने पक्का भएको छ। अब, आइतबार दुई खेल छन्। यी खेलले शीर्षदुईमा रहँदै क्वालिफायर खेल्ने तथा तेस्रो र चौथो स्थानमा रहँदै प्लेअफ खेल्ने टोलीको टुंगो लगाउनेछ।