कर्णालीलाई हराउँदै लुम्बिनी बन्यो एनपीएलको प्लेअफ पुग्ने पहिलो टोली

बिजमाण्डू
२०८३ कात्तिक २६ गते २०:१३ | Nov 12, 2026
कर्णालीलाई हराउँदै लुम्बिनी बन्यो एनपीएलको प्लेअफ पुग्ने पहिलो टोली
मैदानमा लुम्बिनीको ब्याटिङमा संघर्ष। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू


काठमाडौं। लुम्बिनी लायन्सले कर्णाली याक्सलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ पुग्ने पहिलो टोली बनेको हो।

GBIME
Tata

आज कीर्तिपुरमा दुई खेल हुँदा प्लेअफको होडबाट बाहिरिने र प्लेअफ पुग्ने पहिलो टोलीको टुंगो लागेको छ। पहिलो खेलमा विराटनगरसँग हार ब्यहोरेको पोखरा एभेन्जर्स प्लेअफको होडबाट बाहिरिएको थियो। दोस्रो खेलबाट लुम्बिनी प्लेअफ पुग्ने पहिलो टोली बन्यो।

जितसँगै ६ खेलबाट ९ अंक बनाएको लुम्बिनी शीर्षस्थान उक्लिएको छ। अब, ९ अंक वा सो भन्दा बढी अंक अनुकुल नतिजा आए काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले मात्रै बनाउन सक्छन्। यस्तोमा लुम्बिनी प्लेअफ पुग्ने पक्का भए पनि लुम्बिनीको नजर शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायर खेल्नेमा हुनेछ।

प्लेअफमा स्थान सुरक्षित गर्न लुम्बिनीले ‘लो स्कोरिङ’ खेलमा कर्णालीलाई मुस्किलले हरायो। टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको कर्णालीले १९.२ ओभरमा १०५ रन बनाएर अलआउट भएको थियो। जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ६ विकेट गुमाएर १६.४ ओभरमा लक्ष्य भेट्टायो।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेल

लुम्बिनीका लागि डार्सी सर्टले सर्वाधिक ४६ रन बनाउँदा दीलिप नाथले अविजित २८ रन बनाउँदै खेलको फिनिसिङ गरे। बलिङमा मार्क वाटले ४ तथा पवन सर्राफ र हुसैन तलतले समान १ विकेट लिए पनि लुम्बिनीलाई रोक्न सकेनन्। यो हारले कर्णालीको प्लेअफ पुग्ने सम्भावनालाई निकै नाजुक बनाएको छ।

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको कर्णालीले १९.२ ओभरमा अलआउट हुँदै १०५ रन बनाएको थियो।

पहिलो ओभरबाटै लुम्बिनीले विकेट लियो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरुवाती ब्याटिङमा उत्रिएको कर्णालीले पहिलो ओभरबाटै विकेट गुमाउन थालेको थियो। शीर्षक्रमका चार ब्याटर दोहोरो अंक नजोड्दै पभेलियन फर्किँदा ४.३ ओभरमा कर्णाली १५-४ को अफ्ठेरो स्थितिमा थियो।

यस्तोमा आजैबाट कप्तानी खोसिएका सोमपाल कामी र हुसैन तलतले मिलेर इनिङस उकास्ने प्रयास गरे। सोमपालले १८ बलमा २८ रन बनाउँदा तलतले २२ बलमा २४ रन बनाए। त्यस्तै, गुल्सनले १३ रन बनाउँदा अन्यले दोहोरो अंकको रन नै बनाएनन्।

कर्णालीका ब्याटर क्रिजमा टिक्नै सकेनन्।

बलिङमा साविक विजेताका लागि अभिषेश गौतम, किशोर महतो, डार्सी सर्ट र रोहित पौडेलले समान २ विकेट लिँदा रुबेन ट्रम्पलमेन र शेर मल्लले समान १ विकेट लिए।

लुम्बिनीको विकेट सेलिब्रेसन।

हार अफोर्ड गर्न नसक्ने स्थितिमा कर्णालीले आजै सोमपाल कामीको स्थानमा डेभिड मिलरलाई कप्तानको जिम्मेवारी सुम्पिएको थियो। कप्तानी फेरिए पनि मैदानमा भने कर्णालीको ब्याटिङ जम्न सकेन।

एनपीएलमा शुक्रबार दुई खेल हुँदैछन्। पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्नेछन् भने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्नेछन्।