सन्दीपको सानदार प्रदर्शनमा विराटनगर विजयी, प्लेअफको होडबाट बाहिरियो पोखरा

बिजमाण्डू
२०८३ कात्तिक २६ गते १६:११ | Nov 12, 2026
सन्दीपको सानदार प्रदर्शनमा विराटनगर विजयी, प्लेअफको होडबाट बाहिरियो पोखरा
पोखरालाई हराएपछि विराटनगरका खेलाडी। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू


काठमाडौं। पोखरा एभेन्जर्स विराटनगर किंग्ससँग पराजित भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न खेलमा विराटनगरसँग ४ विकेटले पराजित भएसँगै पोखरा प्लेअफको होडबाट बाहिरिएको हो।

GBIME
Tata

पोखराले जारी सिजन ६ खेल खेल्दा ५ वटामा हार व्यहोर्दै २ अंकमात्रै बनाएको छ। अब, उसले अन्तिम खेल जिते पनि ४ अंकमात्रै बनाउन सक्छ। तालिकामा पाँच टोलीको चार भन्दा बढी अंक छ। यस्तोमा पोखरा आधिकारिक रुपमै तेस्रो संस्करणमा पनि प्लेअफ नखेल्ने पक्का भएको हो। अर्कोतर्फ विराटनगरले प्लेअफको सम्भावनालाई जीवित राखेको छ।

विराटनगरका वसीर अहमद।

आज कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको पोखराले १७.५ ओभरमा अलआउट हुँदै १३२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले ६ विकेट गुमाएर १९.२ ओभरमा लक्ष्य भेट्टायो।

विराटनगरलाई लक्ष्यसम्म पुर्‍याउन बसीर अहमदले सर्वाधिक ३७ रन बनाउँदा लोकेश बमले ३३ तथा इसुरु उडानाले अविजित २५ रन बनाए। बलिङमा पोखराका रमेश मेन्डिस र कुशल भुर्तेलले समान २ तथा विपिन खत्री र धनन्जय लक्षनले समान १ विकेट लिए पनि पोखरालाई जोगाउन सकेनन्।

इनिङ्सको बीचमा भारतीय पूर्वक्रिकेटर इरफान पठान स्टेडियममा पुगेका थिए।

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको पोखरा १७.५ ओभरमा १३२ रनमा समेटिएको थियो।

पोखराको ब्याटिङ धराशायी बनाउन विराटनगरका कप्तान सन्दीप लामिछानले ह्याट्रिकसहित ६ विकेट लिए।

विराटनगरको सेलिब्रेसन।

उनले १४.३ ओभरमा युवराज साम्रा, १४.४ ओभरमा करुणारत्ने र १४.५ ओभरमा किरण ठगुन्नाको विकेट लिँदै जारी सिजन पहिलो ह्याट्रिक विकेट लिए। त्यसअघि अर्जुन घर्ती, सन्नी विक र रमेश मेन्डिसको विकेट लिएका उनले एकै खेलमा ६ विकेट लिए।

लामिछानेले आफ्नो स्पेल बलिङ गर्ने क्रममा २७ रन खर्चिए।

साम्रा लगातार दोस्रो शतकबाट चुके।

सुरुवाती ब्याटिङमा उत्रिएको पोखराको सुरुवात राम्रो हुन नसके पनि अघिल्लो खेलमा शतक बनाएका युवराज साम्राले इनिङ्स बलियोगरी अघि बढाए। उनले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ८४ रन बनाए। सन्दीप लामिछानेको बलमा आउट भएका उनी लगातार दोस्रो शतक बनाउनबाट भने चुके।

लोकेश बमसँग विकेट सेलिब्रेट गर्दै सन्दीप लामिछाने।

एउटा एण्डबाट युवराजले बलियो ब्याटिङ गरिरहँदा अर्को एण्डबाट भने ब्याटरले उनलाई साथ दिन सकेनन्। उनी बाहेक धनन्जय लक्षनले २२ तथा सन्नी विकले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रननै बनाएनन्।

पोखराका अर्जुन कुमाल क्रिजमा टिक्न सकेनन्।

बलिङमा लामिछानेबाहेक एन्जेलो म्याथ्युज, रुपेश सिंह र चरिथ असलंकाले समान १ विकेट लिए।

आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स भिड्नेछन्।