लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिँदा १३२ रनमा समेटियो पोखरा, लगातार शतकबाट चुके साम्रा

बिजमाण्डू
२०८३ कात्तिक २६ गते १४:१४ | Nov 12, 2026
लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिँदा १३२ रनमा समेटियो पोखरा, लगातार शतकबाट चुके साम्रा


काठमाडौं। पोखरा एभेन्जर्सले विराटनगर किंग्ससामू १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको पोखरा १७.५ ओभरमा १३२ रनमा समेटिएको हो।

GBIME
Tata

पोखराको ब्याटिङ धराशायी बनाउन विराटनगरका कप्तान सन्दीप लामिछानले ह्याट्रिकसहित ६ विकेट लिए।

विराटनगरको सेलिब्रेसन।

उनले १४.३ ओभरमा युवराज साम्रा, १४.४ ओभरमा करुणारत्ने र १४.५ ओभरमा किरण ठगुन्नाको विकेट लिँदै जारी सिजन पहिलो ह्याट्रिक विकेट लिए। त्यसअघि अर्जुन घर्ती, सन्नी विक र रमेश मेन्डिसको विकेट लिएका उनले एकै खेलमा ६ विकेट लिए।

लामिछानेले आफ्नो स्पेल बलिङ गर्ने क्रममा २७ रन खर्चिए।

साम्रा लगातार दोस्रो शतकबाट चुके।

सुरुवाती ब्याटिङमा उत्रिएको पोखराको सुरुवात राम्रो हुन नसके पनि अघिल्लो खेलमा शतक बनाएका युवराज साम्राले इनिङ्स बलियोगरी अघि बढाए। उनले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ८४ रन बनाए। सन्दीप लामिछानेको बलमा आउट भएका उनी लगातार दोस्रो शतक बनाउनबाट भने चुके।

लोकेश बमसँग विकेट सेलिब्रेट गर्दै सन्दीप लामिछाने।

एउटा एण्डबाट युवराजले बलियो ब्याटिङ गरिरहँदा अर्को एण्डबाट भने ब्याटरले उनलाई साथ दिन सकेनन्। उनी बाहेक धनन्जय लक्षनले २२ तथा सन्नी विकले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रननै बनाएनन्।

पोखराका अर्जुन कुमाल क्रिजमा टिक्न सकेनन्।

बलिङमा लामिछानेबाहेक एन्जेलो म्याथ्युज, रुपेश सिंह र चरिथ असलंकाले समान १ विकेट लिए।

विराटनगर केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।