काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको छ। बैंकले ९ जना निर्देशकको विभाग परिवर्तन गरेको छ।
मानव संशाधन विभागका अनुसार बैंक सुपरिवेक्षण विभागका निर्देशक सुवाशचन्द्र घिमिरे नियमन विभागमा सरुवा भएका छन्।
बैंक सुपरिवेक्षण विभागकै निर्देशक नारायणप्रसाद पोखरेललाई लघुवित्त सुपरिवेक्षण विभाग र लघुवित्त सुपरिवेक्षण विभागका निर्देशक शैलेन्द्र रेग्मीलाई गभर्नर कार्यालयमा सरुवा गरिएको छ।
यस्तै, मुद्रा व्यवस्थापन विभागका निर्देशक सुदीप फुयाल बैंक सुपरिवेक्षण विभागमा आएका छन्। निर्देशक रमेश आचार्यलाई मुद्रा व्यवस्थापन विभागमा सरुवा गरिएको छ भने सुशील पौडेल अनुसन्धान विभागमा पुगेका छन्।
निर्देशक नीरा ताल्चाभडेललाई वित्तीय समावेशीकरण तथा उपभोक्ता संरक्षण महाशाखामा सरुवा गरिएको छ।
राष्ट्र बैंकले कामु निर्देशक यज्ञ कटवाल र जतना शिल्पकारको विभागीय जिम्मेवारीमा समेत हेरफेर गरेको छ।










