काठमाडौं। कान्तिपुर फर्मास्युटिकल्स ल्याबले आइपीओ जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कम्पनीको आइपीओ प्रस्ताव स्वीकृत गरेको हो।
फर्मास्युटिकल्स ल्याबले चुक्ता पुँजीको २१.२५ प्रतिशतले हुन आउने १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता सेयर निष्कासन गर्दैछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ। यो कम्पनीले भेटेरिनरी औषधिहरू, पशु पोषण, फिड एडिटिभ्स र अन्य पशु स्वास्थ्यजन्य सामग्रीहरूको अनुसन्धान, उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ। यो फर्मास्युटिकल्स भेटेरिनरी औषधि उत्पादक कम्पनी हो।
कम्पनीको कारखाना काभ्रेको पाँचखाल-७ शिखरपुरमा छ भने कर्पोरेट कार्यालय ललितपुरको बालकुमारीमा छ। कम्पनीले उत्पादनको गुणस्तर अभिवृद्धि र नयाँ प्रविधि भित्र्याउन दक्षिण कोरियाको प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी केबीएनपी कोरियासँग प्राविधिक सम्झौता गरेर काम गरिरहेको छ।










