काठमाडौं। बंगालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावले नेपालका हिमाली क्षेत्रमा भारी हिमपात हुँदा जनजीवन प्रभावित भएको छ।
मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु, जुम्ला, कालीकोट र बाजुराका उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा पर्यटक रोकिएका छन् भने सडक तथा हवाई यातायातसमेत प्रभावित भएको छ।
बिहीबारदेखि सुरु भएको वर्षा र हिमपात शनिबारसम्म जारी रहँदा विभिन्न हिमाली क्षेत्रका पदमार्ग र सडक अवरुद्ध भएका छन्। स्थानीय प्रशासनले जोखिम बढेपछि पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै उद्धारका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको छ।
बाजुराको बडीमालिका क्षेत्रमा भारी हिमपातपछि फसेका दुई पर्यटकमध्ये एक जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ का २१ वर्षीय सागर कार्कीलाई त्रिवेणी पाटनबाट उद्धार गरी सदरमुकाम मार्तडी ल्याइएको हो।
४ हजार २ मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बसेका थिए। बाजुराका प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार उद्धार गरिएका कार्कीको स्वास्थ्य अवस्था सामान्य छ।
तर, कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीका २० वर्षीय मनिष बोहरा अझै सम्पर्कविहीन छन्। उनको खोजीका लागि सदरमुकाम मार्तडीस्थित नेपाली सेनाको ईश्वरीबक्स गुल्मबाट आवश्यक जनशक्तिसहित हेलिकप्टर परिचालन गरिएको छ।
गत असोज ९ गते ५ जनाको टोली मार्तडीबाट बडीमालिका प्रस्थान गरेको थियो। तीमध्ये ३ जना फर्किसकेका छन् भने हिमपातका कारण दुई जना समस्यामा परेका थिए।
मनाङमा बाक्लो हिमपातका कारण करिब २०० पर्यटक रोकिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार माथिल्लो मनाङका पदमार्ग हिउँले ढाकिएपछि पर्यटक मनाङ गाउँमै बसिरहेका छन्।
बिहीबार साँझदेखि हल्का हिमपात सुरु भएको मनाङमा शुक्रबार र शनिबार बिहानसम्म भारी हिमपात भएको थियो। मौसममा केही सुधार देखिए पनि पदमार्गमा बाक्लो हिउँ जमेकाले यात्रा गर्न सक्ने अवस्था नरहेको स्थानीय प्रशासनले जनाएको छ।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले पर्यटक र स्थानीयलाई जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरेका छन्। उनका अनुसार पदमार्गका संकेतसमेत हिउँले छोपिएकाले मौसम सुधार भए पनि तत्काल आवतजावत सुरक्षित छैन।
केही पर्यटकले जोखिम मोलेर पदयात्रा अघि बढाउन खोजेको जानकारीसमेत प्राप्त भएको छ। प्रशासनले होटल व्यवसायीमार्फत पर्यटकलाई सुरक्षित स्थानमै बस्न अनुरोध गरेको छ।
कर्णालीका हिमाली जिल्लामा पनि हिमपातले जनजीवन प्रभावित भएको छ। हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च क्षेत्रमा बाक्लो हिउँ परेको छ।
डोल्पाको शे-फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात भइरहेको छ। तल्लो डोल्पामा भने निरन्तर वर्षा भइरहेको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिएकी छन्।
माथिल्लो डोल्पामा कात्तिक १२ गतेदेखि नयाँ पदयात्रीलाई प्रवेश गर्न रोक लगाइएको छ। यसअघि त्यस क्षेत्रमा गएका पदयात्रीहरूको अवस्थाबारे जानकारी संकलन भइरहेको प्रशासनले जनाएको छ।
सम्भावित विपद्लाई ध्यानमा राख्दै डोल्पामा उद्धार तथा राहतका लागि आवश्यक तयारी गरिएको छ। जिल्ला प्रशासनले सुरक्षा निकाय, स्वास्थ्य संस्था, खानेपानी कार्यालय, पूर्वाधार विकास कार्यालय र स्थानीय तहसँग समन्वय गरेको छ।
हुम्लाको नाम्खा गाउँपालिकाअन्तर्गत हिल्सा, लिमी र लाप्चा जाने बाटो हिमपातका कारण बन्द भएका छन्। प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा व्यवस्थापन गरिएको छ।

हुम्लामा सुरक्षा निकाय, रेडक्रस, स्वास्थ्य संस्था र स्थानीय तहलाई खोज तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको छ। हिमपात जारी रहेकाले उच्च हिमाली क्षेत्रमा आवतजावत गर्न कठिन भएको छ।
मुगुमा शुक्रबार साँझदेखि वर्षासँगै हिमपात हुँदा अत्यधिक चिसो बढेको छ। मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न बस्ती हिमपातबाट बढी प्रभावित भएका छन्।
डोल्फु, मुगु, ताखा, खारी, दाउरा, पुअ, सेरोग, किम्ग्री, मह, माङ्री, पाँपु र चिमात लगायतका बस्तीमा बाक्लो हिउँ परेको छ। स्थानीय बासिन्दालाई एक ठाउँबाट अर्को ठाउँमा जान तथा पशुचौपाया चराउन समस्या भएको छ।
मुगुको गमगढी हावापानी मापन केन्द्रका अनुसार शुक्रबार बिहानदेखि २४ घण्टामा ३९.८ मिलिमिटर वर्षा मापन गरिएको छ। शनिबार बिहानसम्म गमगढीको अधिकतम तापक्रम ९.२ डिग्री र न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस रहेको छ।
चिसो बढेपछि विशेषगरी बालबालिका, वृद्धवृद्धा र बिरामी बढी प्रभावित भएका छन्। निरन्तर वर्षा र हिमपातका कारण मुगुको हवाई सेवा तथा सडक यातायातसमेत प्रभावित भएको छ।
मुगुका प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले पहिरोको जोखिम बढेपछि सवारी आवागमन रोक्न प्रहरी परिचालन गरिएको बताएका छन्। जिल्लामा टेलिफोन तथा प्रहरी सञ्चारसमेत प्रभावित भएकाले विपद् व्यवस्थापनका लागि सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको छ।
मुगु प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न सूचना जारी गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वर्षा र हिमपातबाट हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
जुम्लाको पातारासी, तातोपानी र कनकासुन्दरी गाउँपालिकाका उच्च क्षेत्रमा पनि हिमपात भएको छ। कालीकोटको तिलागुफा नगरपालिकाका उच्च भू-भागसमेत हिउँले ढाकिएका छन्।
उता मुस्ताङमा भारी हिमपातका कारण नेपाल-चीन सीमास्थित कोरला नाका ठप्प भएको छ। उपल्लो मुस्ताङमा बाक्लो हिउँ परेको छ भने तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा सडक यातायात प्रभावित भएको छ।
कोरला नाका र आसपासका क्षेत्रमा २ देखि ३ फिटसम्म हिउँ जमेको छ। लोमान्थाङ-४ न्हेचुङस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्टका अनुसार हिमपातका कारण नाकातर्फ सवारीसाधन र पर्यटकको आवागमन रोकिएको छ।
भन्सार जाँचपास भइसकेका कन्टेनर तथा विद्युतीय सवारीसाधनलाई पनि तत्काल यात्रा नगर्न भनिएको छ। सशस्त्र प्रहरीले मौसम सामान्य नभएसम्म नेपाल-चीन सीमा व्यापार तथा निकासी-पैठारी कारोबार नगर्न आग्रह गरेको छ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी गुरुङका अनुसार कात्तिक महिनामै यसरी बाक्लो हिमपात भएको पहिलो अनुभव हो। हिमपातले उपल्लो मुस्ताङका बस्ती, खर्क, पाटन र उच्च लेकका क्षेत्र हिउँले ढाकिएका छन्।
वर्षासँगै पहिरो खसेपछि जोमसोम-कोरला सडकखण्ड पनि अवरुद्ध भएको छ। घरपझोङ गाउँपालिका-४ जोमसोमभन्दा माथि र वारागुङ मुक्तिक्षेत्र-३ छुसाङ क्षेत्रमा पहिरो खस्दा सवारीसाधन संचालन हुन सकेका छैनन्।
हिमपातले पर्यटन र सीमा व्यापारसँगै स्थानीय बासिन्दाको दैनिक जीवनमा पनि असर पारेको छ। विशेषगरी उच्च हिमाली क्षेत्रमा आवतजावत रोकिँदा पर्यटक, ढुवानी व्यवसायी तथा स्थानीय बासिन्दा प्रभावित भएका छन्।
विभिन्न जिल्लाका प्रशासन कार्यालयले मौसममा सुधार नआएसम्म जोखिमपूर्ण पदयात्रा नगर्न आग्रह गरेका छन्। सुरक्षा निकायलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको छ भने प्रभावित सडक र पदमार्ग सुरक्षित भएपछि मात्रै आवतजावत खुलाउने तयारी गरिएको छ।
हिमाली क्षेत्रमा बाक्लो हिउँ जमेकाले वर्षा र हिमपात रोकिए पनि तत्काल यात्रा सहज हुने अवस्था छैन। पदमार्ग, सडक तथा मौसमको अवस्था मूल्यांकन गरेर मात्रै यातायात र पर्यटकीय गतिविधि संचालन गर्न सकिने स्थानीय प्रशासनहरूको भनाइ छ।









