अविरल वर्षाका कारण विभिन्न राजमार्ग अवरुद्ध, पहिरो हटाउन जनशक्ति र उपकरण परिचालन

बिजमाण्डू
२०८३ कात्तिक १४ गते १६:०० | Oct 31, 2026
अविरल वर्षाका कारण विभिन्न राजमार्ग अवरुद्ध, पहिरो हटाउन जनशक्ति र उपकरण परिचालन
फाइल तस्बिर।


काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। बाढी र पहिरोले बीपी, पृथ्वी, कर्णाली, मध्यपहाडी र कान्ति राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात ठप्प भएको हो।

GBIME
Tata

सडकमा पहिरो खस्ने, लेदो र गेग्रान थुप्रिने तथा बाढीले सडक बगाउने समस्या देखिएको छ। अवरुद्ध सडक खुलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभाग र मातहतका डिभिजन कार्यालयबाट जनशक्ति तथा उपकरण परिचालन गरिएको छ।

काभ्रेको रोशी गाउँपालिका-९ पिन्थली र वडा नम्बर ८ गिम्दीबेँसीस्थित बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। खहरेखोलाबाट ढुंगा, माटो र लेदोसहितको बाढी आएपछि सडकमा यातायात संचालन हुन सकेको छैन।

बीपी राजमार्गका अन्य स्थानमा पनि लेदो र गेग्रान थुप्रिएको छ। सडक विभागले अवरोध हटाएर यथाशीघ्र यातायात संचालन गर्ने लक्ष्यसहित काम भइरहेको जनाएको छ।

धादिङको गजुरी गाउँपालिका-२ परेवाभीरस्थित पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि दुवैतर्फ सवारीसाधनको आवागमन रोकिएको हो।

यस्तै, सुर्खेतको बराहताल गाउँपालिका-७ औलिसेमा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सडक माथिबाट सुक्खा पहिरो खसेपछि उक्त स्थानमा यातायात पूर्ण रूपमा ठप्प भएको छ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा पनि पहिरो खसेको छ। वर्षाका कारण लेदोसहितको पहिरो झर्दा करिब १५ मिटर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

कान्ति राजमार्गको मकवानपुर खण्डमा भने यातायात संचालन भइरहेको छ। तर, ललितपुरको छपेली लगायतका स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएको छ।

त्यस्तै, पाङ्दुर र टार्कुचे क्षेत्रमा पनि कान्ति लोकपथमा पहिरो खसेको छ। सडक माथिबाट पहिरो आएपछि ती स्थानमा सवारीसाधन संचालन हुन सकेका छैनन्।

मुस्ताङ जाने मालढुंगा-बेनी-जोमसोम सडकका विभिन्न स्थानमा पनि यातायात अवरुद्ध भएको छ। लामाखेत, महाभीर, कागबेनी, छुसाङ र छोसेर लगायतका स्थानमा पहिरो तथा वर्षाजन्य अवरोध देखिएका छन्।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ चैलेस्थित जोमसोम-कोरला सडकखण्डमा बाढीले करिब २० मिटर सडक बगाएको छ। पानीको बहाव बढेर सडकमा क्षति पुगेपछि उक्त खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।

कालीगण्डकी करिडोरको राक्से क्षेत्रमा पनि पहिरोका कारण यातायात रोकिएको छ। सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था बनेको छ।

मुगुको छायाँनाथ रारा नगरपालिका-७ ताल्चामा नाग्म-गमगढी सडक अवरुद्ध भएको छ। लगातारको वर्षापछि ढुंगा, माटो र लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको हो।

काठमाडौं उपत्यकाभित्र पनि वर्षाका कारण सडक यातायात प्रभावित भएको छ। ललितपुर महानगरपालिका-२ बल्खुको सुन्दरीघाटस्थित करिडोर सडकमा पानीको बहाव बढेपछि सवारीसाधन संचालन रोकिएको छ।

सडक विभागले अवरुद्ध राजमार्ग खुलाउन सम्बन्धित डिभिजन कार्यालयहरूलाई सक्रिय रूपमा परिचालन गरेको जनाएको छ। पहिरो हटाउन आवश्यक उपकरण र जनशक्ति परिचालन गरी सडक संचालनमा ल्याउने काम भइरहेको छ।

तर, विभिन्न स्थानमा वर्षा जारी रहेकाले सडक खुलाउने काम चुनौतीपूर्ण बनेको छ। विशेषगरी पहिरोको जोखिम भएका र बाढीले सडक बगाएका स्थानमा मौसम तथा सडक सुरक्षाको अवस्था मूल्यांकन गरेर मात्रै यातायात संचालन गरिनेछ।

विभागले अवरुद्ध सडकहरू यथाशीघ्र संचालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ। यद्यपि, वर्षा नरोकिएका कारण सबै सडक कहिलेसम्म खुल्छन् भन्ने निश्चित भइसकेको छैन।