हुन्डाई बायोन भारतमा सार्वजनिक : सुरुवाती मूल्य १० लाख भारु, कहिले आउला नेपालमा?

बिजमाण्डू
२०८३ कात्तिक ११ गते ११:०० | Oct 28, 2026
हुन्डाई बायोन भारतमा सार्वजनिक : सुरुवाती मूल्य १० लाख भारु, कहिले आउला नेपालमा?


काठमाडौं। हुन्डाईले नयाँ मिडसाइज एसयूभी बायोन भारतीय बजारमा सार्वजनिक गरेको छ। यसको सुरुवाती मूल्य १० लाख भारतीय रुपैयाँ तोकिएको छ।

GBIME
Tata

यो एसयूभी क्रेटाभन्दा सस्तो छ भने हुन्डाई भेन्युको १.२ लिटर पेट्रोल भर्सनभन्दा महँगो छ। भारतको चेन्नईस्थित प्लान्टमा उत्पादन हुने बायोनलाई भारतसहित अन्य बजारमा पनि निर्यात गर्ने कम्पनीको योजना छ।

यो गाडी नेपाली बजारमा पनि आगामी वर्षको पहिलो त्रैमासमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ।

यसको लम्बाइ ४.२ मिटर छ, जुन ४.३ मिटर लामो क्रेटाभन्दा केही कम हो। कम्पनीका अनुसार यसमा नयाँ ‘आर्ट अफ स्टिल’ डिजाइन ल्याङ्ग्वेज प्रयोग गरिएको छ।

बायोनमा एलईडी प्रोजेक्टर हेडलाइट, एल आकारका डेटाइम रनिङ लाइट, १७ इन्चका अलोय ह्विल, पछाडि एलईडी टेललाइट र डुअल-टोन बम्पर छ। यसको डिजाइनले नयाँ टक्सनको झल्को दिने कम्पनीको दाबी छ।

बायोनको इन्टेरियरमा १२.३ इन्चको डिजिटल ड्राइभर डिस्प्ले र १२.३ इन्चकै टचस्क्रिन दिइएको छ। यसमा भेन्टिलेटेड फ्रन्ट सिट, ड्राइभर सिटको इलेक्ट्रिक एडजस्टमेन्ट, बोस साउन्ड सिस्टम, वायरलेस चार्जर, एम्बियन्ट लाइट, पछाडिका यात्रुका लागि एसी भेन्ट र प्यानोरामिक सनरुफजस्ता सुविधा पनि छन्।

यसमा जेनेरेटिभ एआईमा आधारित भ्वाइस असिस्टेन्ट, ब्लुलिंक कनेक्टेड कार प्रविधि र ओभर-द-एयर (ओटीए) सफ्टवेयर अपडेटको सुविधा पनि उपलब्ध छ।

कम्पनीका अनुसार यसको एआई भ्वाइस असिस्टेन्टले पूर्वनिर्धारित कमान्डमा मात्रै निर्भर नभई सामान्य कुराकानीको शैलीमा दिइएका अनुरोधसमेत बुझ्न सक्छ।

सुरक्षाका लागि बायोनमा लेभल-२ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, चारवटै चक्कामा डिस्क ब्रेक, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल-स्टार्ट असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम र अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक दिइएको छ।

यो एसयूभी हुन्डाईको ग्लोबल के इन्ह्यान्स्ड प्लेटफर्ममा आधारित छ। कम्पनीले भारतीय क्र्यास टेस्टमा फाइभ-स्टार सुरक्षा स्तरलाई ध्यानमा राखेर प्लेटफर्म विकास गरिएको दाबी गरेको छ। यसको भारत एनक्याप सुरक्षा रेटिङ भने यस वर्षको अन्त्यसम्म आउने अपेक्षा गरिएको छ।

बायोनमा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन दिइएको छ। यसले ११५ हर्सपावर पावर र १४४ एनएम टर्क उत्पादन गर्छ। यसमा ६ स्पिड म्यानुअल र सीभीटी गियरबक्सको विकल्प छ।

कम्पनीका अनुसार सीभीटी भर्सनको माइलेज प्रति लिटर १८.६ किलोमिटर (एआरएआई) छ। ओभरटेक गर्दा तत्काल पावर बढाउन ड्यास बुस्ट मोड पनि उपलब्ध छ।

मूल्यका हिसाबले बायोनको सुरुवाती भर्सन क्रेटाभन्दा भारु ९१ हजार भारतीय रुपैयाँ सस्तो छ। दुवैको टप-इन्ड पेट्रोल सीभीटी भर्सन तुलना गर्दा पनि बायोन भारु ६९ हजार रुपैयाँ सस्तो पर्छ। तर, भेन्युको १.२ लिटर पेट्रोल भर्सनभन्दा यसको सुरुवाती म्यानुअल भर्सन भारु २ लाख रुपैयाँ महँगो छ।