काठमाडौं। अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको उच्च जोखिम रहेको भन्दै पदयात्रा नगर्न आग्रह गरेको छ।
विभागले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२ देखि १४ गतेसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको बताएको भन्दै त्यो अवधिमा पदयात्रा नगर्न आग्रह गरेको हो।
विभागले ती तीन दिनका लागि उच्च पहाडी र हिमाली क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा जान पदयात्रा अनुमति नदिने बताएको छ।
‘उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्ने कुनै पनि निषेधित क्षेत्रमा पदयात्रा गर्न अनुमति लिनुभएका पदयात्रीले सम्भावित जोखिम न्यूनीकरणका लागि कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्नुहुन तथा पदयात्रामा गइसकेको भए सुरक्षित ठाउँमा रहनुहुन अनुरोध छ। साथै सो अवधिभरका लागि उच्च पहाडी र हिमाली क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा जाने पदयात्रा अनुमति आजैको मितिबाट जारी नहुने बेहोरा सम्बन्धित सबैलाई यसै सूचनामार्फत् जानकारी गराइन्छ,’ विभागले मंगलबार सूचना जारी गर्दै भनेको छ।








