काठमाडौं। नेपाली फुटबलको विवाद फ्रेन्चाइज लिगसम्म पुगेको छ। नेपालमा फुटबलको फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्दै आएको नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले अर्को लिग सञ्चालनका लागि स्वीकृति नदिएको जनाएको छ।
केही हप्ता अघिमात्र एनएसएलका सातवटा क्लब मिलेर आफैं नेपाल फुटबल लिग (एनएफएल) आयोजना गर्ने घोषणा गरेका थिए। उनीहरुले एनएसएलको आयोजकले प्रतियोगिता आयोजना गर्न उदासिनता देखाएकाले आफैं एनएफएल गर्न लागेको बताएका थिए।
यता, एनएसएलले मंगलबार विज्ञप्ति निकाल्दै अर्को लिग गर्न आफूले अनुमति नदिएको स्पष्ट पारेको छ।
एनएसएलले नेपाली फुटबलको विकासका लागि आफ्नो दीर्घकालीन दृष्टिकोणप्रति प्रतिबद्ध रहेको जनाउँदै नेपालमा मान्यता प्राप्त एकमात्र राष्ट्रव्यापी तथा शहरमा आधारित फुटबल लिग सञ्चालन गर्ने अधिकार आफूसँग रहेको दाबी गरेको छ।
उसले यसअघि पत्रकार सम्मेलन गर्दै सेप्टेम्बर ५ बाट लिग सुरु गर्ने घोषणा गरेको थियो। तर, त्यसपछि न लिग स्थगनको घोषणा भयो, न लिग नै भयो।
अर्कातर्फ एनएफएल गर्न लागेका क्लबको तर्क फरक छ। ‘एनएफएल विल्कुलै नयाँ प्रतियोगिता हो। हामी इतिहासबाट पाठ सिक्दै यो चुनौतीपूर्ण घडीमा अन्योललाई चिर्दै अगाडि बढ्ने प्रयासमा छौं,’ एनएफएलका अध्यक्ष कल्याण गुरुङले प्रतियोगिता घोषणाका क्रममा भनेका थिए, ‘हाम्रो एउटै उद्देश्य छ, नेपाली फुटबललाई पूर्ण व्यावसायिक बनाउने।’
काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी एफसी र झापा एफसीले यो प्रतियोगिता फागुन १ गतेबाट सञ्चालन गर्ने जनाएका छन्।









